काठमाडौँ । साताको कारोबारमा धितोपत्र बजारमा उत्साह देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २४ दशमलव ५७ अङ्कले बढ्दै दुई हजार ६५१ दशमलव ६९ बिन्दुमा पुगेको छ । बजारसँगै अधिकांश सूचक र सबै उपसमूहमा हरियाली देखिएको छ ।
मंगलवार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ३३ अङ्कले बढेर ४६० दशमलव ६१ बिन्दुमा पुगेको छ। फ्लोट सूचक एक दशमलव ७३ अङ्कले वृद्धि भई १८१ दशमलव ९६ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक पनि एक दशमलव ५७ अङ्कले बढेर १५६ बिन्दुमा कायम भएको छ।
नेप्सेका अनुसार आज ९५ लाख १९ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम चार अर्ब ४० करोड सात लाख ५२ हजार ५४२ रुपैयाँ पुगेको छ। कारोबारमा सहभागी सबै १३ उपसमूह सकारात्मक रहँदा समग्र बजारमा लगानीकर्ताको उत्साह देखिएको हो ।
कारोबारका क्रममा कलङ्गा हाइड्रो लिमिटेड, आरबिबी फोकस–४० म्युचुअल फण्ड र सानीगढ हाइड्रोपावरका लगानीकर्ताले उल्लेखनीय लाभ कमाए। यता आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सिटिजन बैंक डिबेञ्चरका लगानीकर्ताले भने मूल्य घट्दा नोक्सानी बेहोर्नुपरेको छ । सबै उपसमूहमा एकैदिन सुधार देखिनु र कारोबार रकम पनि चार अर्ब रुपैयाँ नाघ्नुले बजारमा सकारात्मक मनोविज्ञान बलियो बन्दै गएको संकेत गरेको विश्लेषकहरूको भनाइ छ ।




































