विश्वकपले कार्बन उत्सर्जनको महसुल तिर्नैपर्छ

कार्बन तटस्थता (कार्बन न्यूट्रालिटी) को तर्क एकदमै सरल छ । जब–जब कुनै भवनले ऊर्जा खपत गर्छ, कुनै कारखानाले सामग्रीहरू उत्पादन गर्छ, कुनै कम्पनीले संसारभर सामानहरू वितरण गर्छ वा कुनै सहरले पूर्वाधार निर्माण गर्छ, तब त्यहाँ एउटा वातावरणीय मूल्य जोडिएको हुन्छ ।

त्यसको गणना गर्न सकिन्छ । त्यसलाई कम गर्न सकिन्छ र सबै व्यावहारिक न्यूनीकरणका प्रयासहरू गर्दागर्दै पनि बाँकी रहने उत्सर्जनको उचित हिसाबकिताब राखिनुपर्छ ।

आज यही तर्क नै हामीले व्यवसायहरू, सरकारी परियोजनाहरू र थुप्रै संस्थाहरूका गतिविधिहरूको मूल्यांकन गर्ने आधार बनेको छ । यो नियम फूटबलका सबैभन्दा ठूला प्रतियोगिताहरूसहित विश्वका प्रमुख कार्यक्रमहरूमा पनि लागू हुनुपर्छ ।
कार्बन मूल्य निर्धारण योजना (कार्बन प्राइसिङ स्किम्स) र महसुलको पछाडिको तर्क पनि यही नै हो । प्रदूषणको मूल्य चुकाउनुपर्छ भन्ने कुरा विश्वभरका सरकारहरूले बिस्तारै स्वीकार गर्न थालेका छन् । कुनै विशेष उद्योगले उच्च हरितगृह ग्यास उत्सर्जन गरेबापत कर, कार्बन बजार, अझ कडा नियमहरू र बढ्दो रिपोर्टिङ आवश्यकताहरूमार्फत त्यसको हिसाबकिताब बुझाउनुपर्ने हुन सक्छ । स्वाभाविक रूपमा संयन्त्रको मुख्य उद्देश्य कुनै आर्थिक गतिविधिलाई दण्डित गर्नु होइन । यसको मुख्य उद्देश्य पहिले लुकेका लागतहरूलाई दृश्यात्मक बनाउनु हो । ऊर्जा–गहन प्रविधिहरूले दशकौँदेखि मानिसहरूलाई फाइदा पुर्‍याएका छन् । तर जलवायुले यसको मूल्य चुकाएको छ । त्यसैले कार्बन मूल्य निर्धारणले यस अन्यायलाई निकै प्रत्यक्ष रूपमा सम्बोधन गर्ने लक्ष्य राख्दछ ।

खेलकुदलाई पनि यसैगरी हेरिनुपर्छ । हाम्रा भवनहरूको निर्माणमा योगदान पुर्‍याउने, घरमा ऊर्जा आपूर्ति गर्ने, हवाई यात्राका लागि इन्धन उपलब्ध गराउने र हाम्रा सामानहरू उत्पादन गर्ने व्यवसायहरूलाई उनीहरूले जलवायुमा कस्तो असर पारिरहेका छन् भनेर बारम्बार प्रश्न सोधिन्छ । तर जब ठूला खेलकुद प्रतियोगिताहरूको कुरा आउँछ, तब यो छानबिन प्रायः खुकुलो र कम कडा हुने गर्छ । संस्कृतिको एउटा उत्कृष्ट पाटो भए तापनि फूटबलको निश्चित रूपमा ठूलो वातावरणीय पदचिह्न (एन्भाइरन्मेन्टल फुटप्रिन्ट) छ । जब टोलीहरू, प्रशंसकहरू (फ्यानहरू), प्रायोजकहरू, सञ्चारमाध्यमहरू र उपकरणहरू कुनै प्रतियोगिताका लागि विभिन्न देशहरूमा ओसारपसार हुन्छन्, तब त्यसले वातावरणमा प्रभाव पार्छ ।

सन् २०२६ को फिफा विश्वकपको यो समस्याबाट उम्किन सकिँदैन । ११ जुनमा सुरु भई १९ जुलाईसम्म चल्ने प्रतियोगिता अघिल्ला संस्करणहरूभन्दा ठूलो छ र यसले विशाल भौगोलिक क्षेत्र ओगटेको छ । अमेरिका, क्यानडा र मेक्सिकोका १६ वटा आयोजक सहरहरूमा १०४ वटा खेलहरूमा ४८ वटा टोलीहरूले प्रतिस्पर्धा गरिरहँदा आपूर्तिहरू, प्रायोजकहरू, पत्रकारहरू, अधिकारीहरू, टोलीहरू र दर्शकहरूले उत्तरी अमेरिकाभरि मुख्य रूपमा हवाई मार्गबाट यात्रा गरिरहेका छन् ।

आवतजावतको यो स्तरले वातावरणमा ठूलो प्रभाव पार्छः कार्बन अकाउन्टिङ प्लेटफर्म ‘ग्रीनली’को एक स्वतन्त्र र विस्तृत अनुमान अनुसार यस प्रतियोगिताको कुल कार्बन फुटप्रिन्ट लगभग ७८ लाख टन बराबर छ, जसमा दर्शकहरूको यात्रा मात्रै कुल उत्सर्जनको करिब ८८ प्रतिशतका लागि जिम्मेवार छ । यात्राबाहेक रंगशाला सञ्चालनले पनि प्रकाश (लाइटिङ), कुलिङ, ब्रोडकास्टिङ, सुरक्षा र खाना सेवाहरूमार्फत ठूलो मात्रामा ऊर्जा खपत गर्छ, जबकि यात्रा गर्ने फ्यानहरूका लागि आवासको आवश्यकता पर्छ । यी प्रत्येक तत्वहरूले यस कार्यक्रमको समग्र कार्बन फुटप्रिन्टलाई बढाउँछन् ।

प्रतियोगिताको विशाल आकार वातावरणीय रूपमा मात्र होइन, आर्थिक रूपमा पनि उत्तिकै महत्वपूर्ण छ । फिफाले सुरुमा आफ्नो २०२३–२०२६ को चक्रका लागि करिब ११ अर्ब डलर आम्दानीको बजेट तय गरेको थिय, जसमा २०२६ को विश्वकप सो अवधिको सबैभन्दा ठूलो प्रतियोगिता हो र त्यसपछि उसले त्यो आम्दानीको लक्ष्यलाई अझ बढाएको छ । त्यो निकै ठूलो रकम हो । यदि यो कार्यक्रमले यति ठूलो मात्रामा राजस्व उत्पन्न गर्न सक्छ भने दिगोपन (सस्टेनेबिलिटी) लाई केवल एउटा नारा वा पछि सोचिने कुराका रूपमा मात्र व्यवहार गरिनु हुँदैन । यसलाई प्रतियोगिताको आर्थिक व्यवस्थापन र योजना बनाउने तरिकामै समावेश गरिनुपर्छ । यस कोषको एउटा हिस्सा ऐतिहासिक निरन्तरताका पहलहरू (लेगासी इनिसिएटिभ्स), जलवायु अनुसन्धान, दिगो गतिशीलता (सस्टेनेबल मोबिलिटी), नवीकरणीय ऊर्जा, कार्बन अकाउन्टिङ र उत्सर्जन न्यूनीकरणमा जानुपर्छ ।

हामीले यो कुरा मानवीय स्तरमा बुझिसकेका छौँ । खेल सकिएपछि फ्यानहरू रंगशालाका सिटहरू सफा गर्न पछि परेको देख्दा मन छुन्छ । यो सानो प्रयास हो, तर एक शक्तिशाली सन्देश हो । यसले के भन्छ भने खुसीले मानिसहरूलाई उनीहरूको जिम्मेवारीप्रति लापरवाह बनाउनु हुँदैन वा अरू कसैले सफा गरोस् भनेर फोहोर छोड्नु हुँदैन । फिफा विश्वकपको वातावरणीय प्रभावलाई पनि त्यसै गरी हेरिनुपर्छ । यदि फ्यानहरूले आफूले छोडेको फोहोर उठाउन सक्छन् भने, फूटबल संगठनहरूले पनि आफ्ना कार्यक्रमहरूबाट उत्पन्न हुने उत्सर्जन र प्रदूषणलाई कम गर्न सक्छन् । रंगशालाको सिट सफा गर्नु हेर्दा प्रभावशाली देखिन सक्छ । तर वातावरणीय प्रभावलाई सफा गर्नु धेरै गुणा बढी महत्वपूर्ण छ ।

यस कारणका लागि म ‘स्पोट्र्स क्लाइमेट रेस्पोन्सिबिलिटी फन्ड’ (खेलकुद जलवायु उत्तरदायित्व कोष) स्थापना गर्ने प्रस्ताव गर्दछु । यसलाई प्रतियोगिताको राजस्वको एक निश्चित हिस्सा र फिफा, प्रायोजकहरू, ब्रोडकास्टर्स र अन्य व्यावसायिक लाभार्थीहरूको योगदानबाट वित्तीय सहयोग गरिनुपर्छ, जसमा पारदर्शिता सुनिश्चित गर्न स्वतन्त्र निगरानी होस् । यस्तो दृष्टिकोणको एउटा नजिर पहिले नै छः यूईएफएको ‘युरो २०२४ क्लाइमेट फन्ड’ले सौर्य प्यानल र ब्याट्री भण्डारणदेखि लिएर एलईडी फ्लडलाइट, ईभी चार्जिङ स्टेसन र फोहोर वर्गीकरण प्रणालीसम्मका जगैदेखिका दिगोपन परियोजनाहरूमा झन्डै ८० लाख युरो लगानी गरेको थियो ।

त्यो कोष एकल देशमा हुने र निकै सानो स्तरको प्रतियोगिताका लागि बनाइएको थियो, त्यसैले यसलाई ३ राष्ट्रमा हुने १०४ खेलको विश्वकपमा जस्ताको तस्तै लागू गर्न सकिने ढाँचा (टेम्प्लेट) भन्दा पनि अवधारणाको सफल परीक्षण (प्रुफ अफ कन्सेप्ट) का रूपमा बुझिनुपर्छ । यसको कार्यादेश प्रतियोगितासँग सम्बन्धित उत्सर्जनको मूल्यांकन गर्ने र त्यसपछि यस कार्यक्रमलाई कार्बन तटस्थतातर्फको विश्वसनीय बाटोमा लैजाने गरी समाधानका उपायहरू तयार पार्नु हुनेछ । यो कार्य अझ स्मार्ट सञ्चालन तालिका (सिड्युलिङ), कम प्रदूषण गर्ने यातायात, नवीकरणीय ऊर्जा, कुशल रंगशाला सञ्चालन र अपरिहार्य कार्बन फुटप्रिन्टलाई कम गर्न राम्रो फोहोर व्यवस्थापन प्रणालीहरूमार्फत हासिल गर्न सकिन्छ ।अन्ततः यस कोषले बाँकी रहने अवशिष्ट उत्सर्जन (रेसिड्यूल इमिसन्स) लाई सम्बोधन गर्न प्रमुख जलवायु र अनुसन्धान पहलहरूलाई सहयोग गर्नेछ । विशेषगरी यात्रा, आवास, रसद (लजिस्टिक), खाना, फोहोर र रंगशालाको ऊर्जासँग जोडिएका स्कोप १, २ र ३ उत्सर्जनको स्वतन्त्र रूपमा मूल्यांकन गरिनुपर्छ । यो प्रमाणको आधार तयार पार्न म एउटा अनुसन्धान अध्ययन सुरु गर्ने योजनामा छु । अनुसन्धानकर्ता, विश्वविद्यालय, दिगोपन पेशेवरहरू र खेलकुद हर्षोल्लासपूर्ण र जिम्मेवार दुवै हुनसक्छ भन्ने विश्वास गर्ने दाताहरू यस प्रयासमा सामेल हुन सक्छन् र यो विचारलाई कडा एवं उपयोगी कार्यमा परिणत गर्न मद्दत गर्न सक्छन् ।

अझ बढी जिम्मेवार बन्नका लागि विश्वकप आफ्नो उत्साह र उमंगबाट पछि हट्नु पर्दैन । फूटबल सधैँ यस्तो खेल रहनेछ जसले मानिसहरूलाई रोमाञ्चित बनाउँछ, समुदायहरूलाई एकजुट गर्छ र आफ्ना समर्थकहरूका लागि अमिट सम्झनाहरू सिर्जना गर्छ । तर यस विश्वव्यापी प्रेमबाट नाफा कमाउनेहरूले यस कार्यक्रमको आयोजना गर्दा लाग्ने वातावरणीय मूल्यलाई पनि स्वीकार गर्नुपर्छ । ‘कार्बन तटस्थता’ भन्ने शब्द कार्यक्रममा घटना घटिसकेपछि मात्र जोडिनु हुँदैन । यो प्रतियोगिताको योजना, आर्थिक स्रोत व्यवस्थापन र उत्सव मनाउने शैलीमै अन्तर्निहित हुनुपर्छ । (अलजजिराबाट भावानुवाद)

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।