काठमाडौं । नेपालमा राहदानी (पासपोर्ट) छपाइको जिम्मेवारी अब नयाँ जर्मन कम्पनीहरूले सम्हाल्ने भएका छन् । हालसम्म राहदानी छपाइ गर्दै आएको फ्रेन्च कम्पनी आईडीईएमआईएले करिब १६ वर्षपछि आफ्नो सेवा अन्त्य गर्न लागेको छ भने अबको एक साताभित्र जर्मनीका भेरिडोस र मुहलबाउर कम्पनीमार्फत राहदानी छपाइको नयाँ प्रणाली सञ्चालनमा आउने भएको छ ।
मंगलबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले अबको एक साताभित्र नयाँ कम्पनीमार्फत राहदानी छपाइ सुरु हुने जानकारी दिए । उनका अनुसार हाल प्रयोगमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा रूपान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
मन्त्री खनालले यस साता एक करोडभन्दा बढी नेपाली नागरिकको व्यक्तिगत विवरण पुरानो प्रणालीबाट नयाँ प्रणालीमा स्थानान्तरण गर्ने कार्य भइरहेको बताए। उनका अनुसार राहदानी विभागमा सुरक्षित रूपमा भण्डारण गरिएका सबै विवरण नयाँ कम्पनीले सञ्चालन गर्ने प्रणालीमा सारिने भएकाले यो प्रक्रिया अत्यन्त संवेदनशील र प्राविधिक रूपमा जटिल रहेको छ । उनले विवरण स्थानान्तरणको कार्य सम्पन्न गर्न राहदानी विभागमा दुई दिन तथा जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिने राहदानी सेवा तीन दिनका लागि बन्द गरिने जानकारी दिए । सेवा केही दिन प्रभावित भए पनि नयाँ प्रणालीलाई सुरक्षित र व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन यो कदम आवश्यक रहेको उनको भनाइ थियो ।
परराष्ट्रमन्त्री खनालले नयाँ प्रणाली लागू भएपछि प्रारम्भिक चरणमा केही प्राविधिक समस्या आउन सक्ने सम्भावना रहेको स्वीकार गरे । उनका अनुसार प्रणाली परिवर्तनका क्रममा देखिन सक्ने समस्या करिब तीन महिनासम्म रहन सक्छन्। यद्यपि त्यस्ता समस्या तत्काल समाधान गर्न आवश्यक प्राविधिक जनशक्ति तयारी अवस्थामा राखिएको उनले बताए । उनले प्रणाली परिवर्तन विश्वभर नै चुनौतीपूर्ण हुने उल्लेख गर्दै नेपालमा पनि सेवाग्राहीले सुरुआती केही समय असहजता महसुस गर्न सक्ने बताए ।
तर, नयाँ प्रणाली पूर्ण रूपमा स्थिर भएपछि राहदानी सेवा अझ प्रभावकारी, सुरक्षित र आधुनिक हुने विश्वास व्यक्त गरे । नेपालमा लामो समयदेखि फ्रेन्च कम्पनी आईडीईएमआईएले राहदानी छपाइ तथा सम्बन्धित प्राविधिक सेवा प्रदान गर्दै आएको थियो । अब उक्त कम्पनीको सम्झौता समाप्त भएसँगै जर्मनीका भेरिडोस र मुहलबाउरले नयाँ प्रविधिमार्फत राहदानी छपाइको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।
सरकारका अनुसार प्रणाली परिवर्तनको मुख्य उद्देश्य राहदानी व्यवस्थापनलाई अझ सुरक्षित, भरपर्दो र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्नु हो । व्यक्तिगत विवरणको सुरक्षित स्थानान्तरण, आधुनिक छपाइ प्रणालीको प्रयोग तथा सेवा प्रवाहमा सुधारका लागि नयाँ कम्पनीसँग सहकार्य गरिएको बताइएको छ ।
परराष्ट्र मन्त्रालयले प्रणाली परिवर्तनको अवधिमा सेवाग्राहीलाई केही असुविधा हुन सक्ने भएकाले आवश्यक संयम अपनाउन आग्रह गरेको छ । मन्त्रालयले सम्भावित प्राविधिक समस्या समाधानका लागि विशेषज्ञ टोली चौबीसै घण्टा तयारी अवस्थामा रहने जनाएको छ । नयाँ प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि राहदानी वितरण प्रक्रिया थप व्यवस्थित, सुरक्षित र प्रभावकारी हुने सरकारको अपेक्षा छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































