क्वाटरफाइनल समीकरण पूरा, अर्जेन्टिनादेखि नर्वेसम्म आठ टोली अन्तिम आठमा

काठमाडौं । फिफा विश्वकप २०२६ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र स्विट्जरल्यान्डबीचको अन्तिम प्रिक्वाटरफाइनल खेल सकिएसँगै अन्तिम आठमा पुग्ने टोलीहरूको टुंगो लागेको हो ।

क्वाटरफाइनलमा स्थान बनाउने टोलीहरूमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्यान्ड, अर्जेन्टिना र स्विट्जरल्यान्ड रहेका छन् । अब सेमिफाइनल प्रवेशका लागि फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्यान्डसँग तथा अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछन्।

अन्तिम प्रिक्वाटरफाइनलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै सात दशकभन्दा लामो प्रतीक्षापछि पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो । भ्यानकुभरस्थित बीसी प्लेसमा भएको खेल निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म गोलरहित बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टीमा स्विट्जरल्यान्डका ग्रानिट झाका, जेकी आमडुनी, सेड्रिक इटेन र रुबेन भार्गासले सफल प्रहार गरे। निर्णायक पेनाल्टीमा भार्गासले गोल गर्दै टोलीलाई जित दिलाए । कोलम्बियाका डाभिन्सन सान्चेजको प्रहार क्रसबारमा लाग्दा कुचो हेर्नान्डेजको पेनाल्टी स्विस गोलरक्षक ग्रेगर कोबेलले उत्कृष्ट रूपमा रोकेका थिए । खेलभर दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । कोलम्बियाका झोन लुकुमीको हेडर क्रसबारमा लागेको थियो भने अतिरिक्त समयको अन्त्यतिर जामिन्टन काम्पाजले उत्कृष्ट अवसर गुमाएका थिए । अब स्विट्जरल्यान्डले साविक विजेता अर्जेन्टिनासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

अर्जेन्टिनाले भने इजिप्टविरुद्ध दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै ३–२ को रोमाञ्चक जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो। पहिलो हाफमा यासेर इब्राहिम र मोस्ताफा जिकोको गोलबाट इजिप्टले २–० को अग्रता बनाएको थियो ।

तर दोस्रो हाफमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्‍यो । ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै आशा जगाए भने ८४औँ मिनेटमा लियोनेल मेस्सीले बराबरी गोल गरे । त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजको क्रसमार्फत एन्जो फर्नान्डेजले हेडर गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अविस्मरणीय जित दिलाए । यससँगै अर्जेन्टिनाले विश्वकप इतिहासकै उत्कृष्ट पुनरागमनमध्ये एक जित दर्ता गराएको छ ।

यसअघि सम्पन्न अन्य प्रिक्वाटरफाइनल खेलहरू पनि निकै रोमाञ्चक बने। अफ्रिकी टोली मोरक्कोले सहआयोजक क्यानडालाई ३–० ले हराउँदै लगातार दोस्रो पटक विश्वकपको क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्न सफल भयो । चार वर्षअघि मोरक्कोले सेमिफाइनल पुगेर इतिहास रचेको थियो भने यसपटक पनि उपाधि दाबेदारका रूपमा प्रस्तुत भएको छ । साविक उपविजेता फ्रान्सले किलियन एमबाप्पेको निर्णायक पेनाल्टी गोलको मद्दतमा पाराग्वेलाई १–० ले हराउँदै अन्तिम आठमा स्थान बनायो ।

यस्तै, एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई गोल गरेपछि नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै इतिहासमै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनायो । ब्राजिल भने ३६ वर्षपछि विश्वकपको अन्तिम आठमा पुग्न असफल रह्यो ।

इंग्ल्यान्डले दश खेलाडीमा सीमित भए पनि सहआयोजक मेक्सिकोलाई ३–२ ले हराउँदै अन्तिम आठको यात्रा तय गर्‍यो । स्पेनले भने मिकेल मेरिनोको इन्जुरी समयको निर्णायक गोलमा छिमेकी पोर्चुगललाई १–० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

बेल्जियमले आयोजक अमेरिकालाई ४–१ ले हराउँदै उत्कृष्ट प्रदर्शन जारी राख्यो । समूह चरणमा संघर्ष गरेको बेल्जियमले नकआउट चरणमा भने प्रभावशाली खेल प्रस्तुत गर्दै उपाधि दाबेदारी कायम राखेको छ ।

यसपटकको विश्वकपमा आयोजक राष्ट्रहरूको यात्रा पनि अन्तिम १६ मै टुंगिएको छ । क्यानडा, अमेरिका र मेक्सिको तीनै सहआयोजक राष्ट्र क्वाटरफाइनल पुग्न असफल रहे भने ब्राजिल, कोलम्बिया र पोर्चुगल पनि उपाधि होडबाट बाहिरिएका छन् ।

अब विश्वकपको क्वाटरफाइनलमा युरोपका ६ टोली, दक्षिण अमेरिकाबाट अर्जेन्टिना र अफ्रिकाबाट मोरक्को मात्र बाँकी रहेका छन् । चारवटै खेलका विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।