२ मण्डीखाटारमा बेनेभिस आइसक्रिमको पाँचौं आउटलेट सञ्चालन, विस्तार यात्राले लियो नयाँ गति

काठमाडौं । प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली, मण्डीखाटारमा आफ्नो पाँचौं आउटलेट सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखाको उद्घाटनसँगै कम्पनीले ग्राहकलाई गुणस्तरीय उत्पादन, उत्कृष्ट सेवा र फरक स्वादको अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई थप विस्तार गरेको जनाएको छ । नयाँ आउटलेटको उद्घाटन विशेष समारोहका बीच सम्पन्न भएको थियो। समारोहमा नेपाली चलचित्रकी चर्चित अभिनेत्री वर्षा सिवाकोटी प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् ।

उनले कम्पनीका पदाधिकारीहरूसँग संयुक्त रूपमा रिबन काटेर पार्लरको औपचारिक शुभारम्भ गरिन् । उद्घाटन कार्यक्रममा कम्पनीका ग्रुप अध्यक्ष हरि कर्माचार्य, निर्देशक प्रमिला कर्माचार्य, अध्यक्ष सुरेश कुमार धोर्जु, प्रबन्ध निर्देशक विकल कर्माचार्य तथा सेलरमार्ट प्रा. लि.की प्रबन्ध निर्देशक रश्मी कर्माचार्यसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी, सामाजिक सञ्जालका कन्टेन्ट क्रिएटर, व्यावसायिक साझेदार तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरूले बेनेभिसका विभिन्न सिग्नेचर आइसक्रिम फ्लेभर, प्रिमियम डेजर्ट तथा अन्य परिकारको स्वाद लिएका थिए। आधुनिक शैलीमा सजाइएको नयाँ आउटलेटको वातावरण र ग्राहकमैत्री सेवाले उपस्थित अतिथिहरूको ध्यान आकर्षित गरेको कम्पनीले जनाएको छ । समारोहलाई सम्बोधन गर्दै सेलरमार्ट प्रा. लि.की प्रबन्ध निर्देशक रश्मी कर्माचार्यले ग्राहक, व्यावसायिक साझेदार तथा शुभेच्छुकबाट प्राप्त निरन्तर विश्वास र साथप्रति आभार व्यक्त गरिन् ।

उनले पाँचौं शाखाको सञ्चालन कम्पनीको विस्तार योजनाको अर्को महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा पनि गुणस्तरीय उत्पादन, नवीन सेवा र उत्कृष्ट ग्राहक अनुभवलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । प्रमुख अतिथि वर्षा सिवाकोटीले बेनेभिस परिवारलाई नयाँ शाखा सञ्चालनको अवसरमा शुभकामना दिँदै नेपाली बजारमा गुणस्तरीय उत्पादनमार्फत कम्पनीले अझ बलियो पहिचान बनाउन सफल हुने विश्वास व्यक्त गरिन्। उनले स्वदेशी ब्रान्डहरूले गुणस्तर र सेवामा निरन्तर सुधार गर्दै बजार विस्तार गर्नु सकारात्मक पक्ष भएको बताइन् ।

कम्पनीका अनुसार नयाँ आउटलेट परिवार, साथीभाइ तथा सबै उमेर समूहका आइसक्रिम पारखीलाई लक्षित गरी आधुनिक अवधारणामा तयार गरिएको हो । यहाँ ग्राहकले विभिन्न प्रिमियम आइसक्रिम फ्लेभर, डेजर्ट तथा मौसमअनुसारका विशेष परिकारको स्वाद लिन सक्नेछन् । बेनेभिस आइसक्रिमले पछिल्ला वर्षहरूमा नेपाली बजारमा आफ्नो उपस्थिति निरन्तर विस्तार गर्दै आएको छ । उच्च गुणस्तरीय कच्चा पदार्थको प्रयोग, नयाँ स्वादको विकास तथा ग्राहकको रोजाइअनुसार उत्पादन प्रस्तुत गर्ने रणनीतिका कारण ब्रान्डले छोटो समयमै उपभोक्तामाझ लोकप्रियता हासिल गरेको कम्पनीको दाबी छ ।

पाँचौं शाखा सञ्चालनसँगै कम्पनीले काठमाडौं उपत्यकासहित देशका अन्य प्रमुख सहरमा पनि आफ्नो सञ्जाल विस्तार गर्ने योजना रहेको जनाएको छ । गुणस्तर, नवीनता र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै नेपाली खाद्य तथा पेय पदार्थ बजारमा थप मजबुत उपस्थिति कायम गर्ने लक्ष्यसहित बेनेभिसले आगामी दिनमा थप शाखा विस्तार गर्ने तयारी गरेको कम्पनीले जानकारी दिएको छ ।