काठमाडौँ । समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचत रकम फिर्ता गर्ने सरकारी अभियानअन्तर्गत थप १२५ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका छन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट सङ्कलन भएको रकमका आधारमा लालीगुराँस सहकारी र तपाईँ हाम्रो सहकारीका साना बचतकर्तालाई पहिलो चरणमा रकम वितरण गरेको हो ।
समितिका अनुसार लालीगुराँस सहकारीका ३५ जना र तपाईँ हाम्रो सहकारीका ९० जना गरी कुल १२५ जना बचतकर्तालाई बचत रकम फिर्ता गरिएको छ । लामो समयदेखि आफ्नो बचत फिर्ताको प्रतीक्षामा रहेका यी बचतकर्ताले कानुनी प्रक्रियाअनुसार रकम प्राप्त गरेका हुन् ।
सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त हुने रकमलाई नै बचतकर्ताको भुक्तानीका लागि प्रयोग गर्दै आएको जनाएको छ । उपलब्ध स्रोत सीमित भएकाले पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिकता दिइएको समितिको भनाइ छ ।
समितिका अनुसार आगामी दिनमा बचतकर्ताको रकमको आकारअनुसार वर्गीकरण गरी चरणबद्ध रूपमा अन्य बचतकर्तालाई पनि रकम फिर्ता गरिनेछ । यसका लागि सम्बन्धित सहकारी संस्थाको ऋण असुली, सम्पत्ति व्यवस्थापन तथा कानुनी प्रक्रिया निरन्तर अघि बढाइएको छ ।
पछिल्ला वर्षहरूमा आर्थिक अनियमितता र कमजोर व्यवस्थापनका कारण समस्याग्रस्त बनेका सहकारी संस्थाबाट बचतकर्ताको रकम फिर्ता गराउने कार्य सरकारका लागि चुनौतीपूर्ण बनेको छ। त्यसका बाबजुद ऋण असुलीको प्रक्रिया अगाडि बढेसँगै बचतकर्ताले क्रमशः आफ्नो रकम फिर्ता पाउन थालेका छन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कानुनले तोकेको व्यवस्थाअनुसार ऋण असुली र सम्पत्ति व्यवस्थापनलाई प्रभावकारी बनाउँदै बचतकर्ताको हित संरक्षण गर्ने कामलाई निरन्तरता दिएको जनाएको छ । समितिको विश्वास छ कि ऋण असुलीको दायरा बढ्दै जाँदा थप बचतकर्ताले पनि चरणबद्ध रूपमा आफ्नो बचत रकम प्राप्त गर्नेछन् ।
सहकारी क्षेत्रमा हराउँदै गएको विश्वास पुनःस्थापित गर्न बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया प्रभावकारी र पारदर्शी बनाउनु आवश्यक रहेको सरोकारवालाको धारणा छ । यही उद्देश्यअनुसार सरकारले समस्याग्रस्त सहकारीको व्यवस्थापन र बचत फिर्ता अभियानलाई निरन्तर अघि बढाइरहेको जनाएको छ ।


































