नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

काठमाडौं । नेपालमा अब भारतीय रुपैयाँ (भारू) २०० र ५०० दरका नोटको कारोबार औपचारिक रूपमा खुला गरिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक सूचना जारी गर्दै नेपाली तथा भारतीय नागरिकले सन् २०१६ नोभेम्बर ९ पछि निष्कासन भई हाल चलनचल्तीमा रहेका भारू २०० र ५०० दरका नोट प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारसम्म ल्याउन, लैजान तथा सटही गर्न सक्ने व्यवस्था लागू भएको जनाएको हो ।

राष्ट्र बैंकका अनुसार नयाँ व्यवस्थाले नेपाल–भारतबीच आवतजावत गर्ने नेपाली र भारतीय नागरिकलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । विशेषगरी सीमा क्षेत्रका बासिन्दा, व्यापार, पर्यटन, उपचार, अध्ययन तथा अन्य व्यक्तिगत प्रयोजनका लागि भारत आउने–जाने नागरिकले अब कानुनी रूपमा २०० र ५०० दरका भारतीय नोट प्रयोग गर्न सक्नेछन् ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भई हाल प्रचलनमा रहेका भारू २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारसम्म प्रचलित व्यवस्था बमोजिम ल्याउन, लैजान तथा सटही गर्न सक्ने स्पष्ट उल्लेख गरिएको छ । यसअघि यी नोटको प्रयोगबारे स्पष्ट व्यवस्था नहुँदा सीमा क्षेत्रमा कारोबार तथा सटहीमा अन्योल देखिने गरेको थियो । यद्यपि, राष्ट्र बैंकले पुराना भारतीय नोटसम्बन्धी व्यवस्था भने यथावत् रहेको स्पष्ट पारेको छ। नेपाल राजपत्रमा २०८२ पुस २८ गते प्रकाशित सूचनाबमोजिम सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १००० दरका नोटको कारोबार नेपालमा गर्न नपाइने व्यवस्था अझै कायम रहेको छ । भारत सरकारले सन् २०१६ मा लागू गरेको नोटबन्दीपछि ती नोट कानुनी रूपमा अमान्य घोषित भएका थिए ।

राष्ट्र बैंकले नेपाली नागरिकका लागि लागू रहेको अर्को व्यवस्था पनि दोहोर्‍याएको छ । त्यसअनुसार नेपाली नागरिकले भारतबाहेक अन्य कुनै पनि मुलुकमा भारतीय रुपैयाँ लैजान वा तेस्रो मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन भने पाउने छैनन्। भारतीय मुद्रा भारत र नेपालबीचको आवतजावतमा मात्र प्रयोग गर्न सकिने प्रावधान यथावत् रहनेछ ।

विदेशी विनिमय व्यवस्थापनसम्बन्धी नियमलाई थप स्पष्ट र व्यवस्थित बनाउने उद्देश्यले यो निर्णय गरिएको राष्ट्र बैंकको भनाइ छ । यस व्यवस्थाले वैधानिक रूपमा भारतीय मुद्रा बोक्ने सीमा स्पष्ट बनाएको छ भने सीमा क्षेत्रमा हुने साना कारोबार, पर्यटन गतिविधि तथा वैदेशिक मुद्राको सटही प्रक्रियालाई पनि सहज बनाउने अपेक्षा गरिएको छ । राष्ट्र बैंकले सबै नागरिकलाई विदेशी मुद्रासम्बन्धी विद्यमान कानुनी व्यवस्था पालना गर्न र तोकिएको सीमाभित्र मात्रै भारतीय मुद्रा प्रयोग गर्न आग्रह गरेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।