पाँच हजार अमेरिकी डलर भन्सार घोषणा नगरी ल्याउन पाइने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपालमा विदेशी मुद्रा ल्याउने व्यवस्थाबारे स्पष्ट गर्दै पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन सकिने जनाएको छ ।

विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै नेपाली तथा विदेशी नागरिक दुवैले तोकिएको सीमासम्मको विदेशी मुद्रा बिना भन्सार घोषणा नेपाल ल्याउन पाउने व्यवस्था रहेको जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति पाँच हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा तथा पाँच हजार अमेरिकी डलर बराबर हुन आउने भारतीय रुपैयाँसम्मको रकम नेपाल ल्याउँदा भन्सारमा घोषणा गर्नुपर्ने छैन । तर, उक्त सीमाभन्दा बढी रकम ल्याउन चाहने व्यक्तिले भने अनिवार्य रूपमा भन्सार कार्यालयमा घोषणा गरेर मात्र नेपाल भित्र्याउनपर्ने व्यवस्था कायम रहेको छ ।

राष्ट्र बैंकले विदेशी मुद्रा व्यवस्थापन तथा अवैध कारोबार नियन्त्रणलाई प्रभावकारी बनाउन यस्तो व्यवस्था कार्यान्वयनमा रहेको स्पष्ट पारेको छ । तोकिएको प्रक्रियाअनुसार भन्सार घोषणा नगरी बढी रकम ल्याइएमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही हुन सक्ने भएकाले यात्रुहरूलाई विद्यमान व्यवस्थाको पालना गर्न आग्रह गरिएको छ । यससँगै राष्ट्र बैंकले भारतीय मुद्रासम्बन्धी प्रचलित व्यवस्थाबारे पनि पुनः स्पष्ट पारेको छ । सूचनाअनुसार सन् २०१६ नोभेम्बर ९ तारिखदेखि निष्कासन भई हाल चलनचल्तीमा रहेका भारतीय रुपैयाँ २०० र ५०० दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्म नेपाल ल्याउन, नेपालबाट लैजान तथा सटही गर्न सक्नेछन् । यो व्यवस्था यसअघि लागू हुँदै आएको प्रावधानअनुसार नै निरन्तर कायम रहने राष्ट्र बैंकले जनाएको छ ।

यद्यपि नेपाली नागरिकले भारतबाहेक अन्य कुनै पनि मुलुकमा भारतीय रुपैयाँ लैजान वा त्यस्ता मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन भने पाउने छैनन् । भारतीय मुद्राको प्रयोग र ओसारपसार सम्बन्धी यो व्यवस्था यथावत् रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । त्यसैगरी सन् २०१६ नोभेम्बर ९ भन्दा अघि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र एक हजार दरका पुराना नोटको कारोबार, सटही, ओसारपसार वा प्रयोग गर्न नपाइने व्यवस्था पनि यथावत् रहेको राष्ट्र बैंकले जनाएको छ । ती नोटहरू भारत सरकारले विमुद्रीकरण गरेपछि नेपालमा समेत कारोबार निषेध गरिएको थियो । राष्ट्र बैंकले विदेशबाट नेपाल आउने नेपाली तथा विदेशी नागरिकलाई यात्रा गर्नुअघि विदेशी मुद्रा तथा भारतीय मुद्रासम्बन्धी प्रचलित नियमबारे जानकारी लिन आग्रह गरेको छ। यसले भन्सार प्रक्रिया सहज हुने, अनावश्यक कानुनी जटिलता नआउने र विदेशी विनिमय व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास राष्ट्र बैंकले व्यक्त गरेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।