प्रदेश सरकारमा एमाले र नेकपाको गठबन्धन

काठमाडौँ । नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठनलाई लिएर तीन बुँदे सहमति भएको छ ।

तीन बुँदे सहमतिमा दुवै दलबीच प्रदेश सभामा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने उल्लेख छ। सहमतिअनुसार, कोसी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले तथा कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्ने भएका छन् ।

त्यस्तै, सहमतिको तेस्रो बुँदामा मधेश र गण्डकी प्रदेश सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरुप तय गर्ने उल्लेख छ । शनिबार एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिमा हस्ताक्षर गरेका छन् । सहमतिका क्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपाका नेता वर्षमान पुन पनि साथै रहेका थिए ।

दुवै दलले प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेटविहीनता र अस्वस्थ राजनीतिक प्रतिस्पर्धालगायतका समस्या समाधान गर्न सहमति गरिएको जनाएका छन् । उनीहरूले भनेका छन्, ‘पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएका असमझदारी, बजेटविहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धालगायतका समस्याहरूलाई समाधान गर्दै जनताको चाहना अनुरुप राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तिव्र तुल्याउन हामी दुई राजनीतिक दलहरू नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी निम्तानुसारको सहमतिमा पुगेका छौं ।’

त्यस्तै नेकपा)का नेता वर्षमान पुनले प्रदेश सरकारमा देखिएको ‘डेडलक’ फुकाउनका लागि दुई दलले सहमति गरेको बताए । यो सहमतिका लागि सक्रिय रहेका नेकपा नेता पुनले यो सहमति तत्कालको समस्या समाधानका लागि भएको बताए । सहमतिपछि पुनले नेपाली कांग्रेस तयार नभएपछि दुई दल मिलेको बताए । ‘प्रदेशमा सरकार बनाउँदा तीन दलकै बनाउने भन्ने थियो। कांग्रेस तयार नभएपछि हामी दुई दल मिल्यौँ,’ पुनले भने । यो सहमति तत्कालको समस्या समाधान केन्द्रित भएको उनको भनाइ छ। ‘अहिले प्रदेश सरकारका लागि मात्रै सहमति हो। प्रदेशमा डेडलक छ, त्यसलाई फुकाउनका लागि सहमति भएको हो,’ उनले भने ।

प्रदेश सरकारमा देखिएको समस्या समाधानका लागि कांग्रेससहित तीनै दल सहमतिको प्रयास गरिएको उनको भनाइ छ। तर, कांग्रेसले सहमति गर्न नमानेको उनले बताए । ‘सुदूरपश्चिममा बजेटै छैन, कर्णालीमा समस्या भयो, बागमतीमा समस्या छ । तीन ठाउँमा सरकारमै अस्थिरता भयो,’ पुनले भने, ‘त्यसलाई हल गर्नका लागि तीन दलको कोसिस गर्‍यौं, सफल नभएपछि हामी दुई दल अगाडि बढ्यौँ ।’ प्रदेशमा नभए पनि केन्द्रमा कांग्रेससँगको सहकार्य जारी रहने उनले बताए । ‘कांग्रेससँगको अरु सहकार्य, संविधान, लोकतन्त्रका लागि सहकार्य हुन्छ नै । प्रतिनिधि सभा र राष्ट्रिय सभामा हुने सहकार्य हुन्छन् नै,’ उनले भने ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।