‘आज आमैले किन्देको नौरती फुली, भोलि मैसँग होला कि न होला ? आज माइतीले छान्देको नौरङ्गे चोली भोलि मैसँग होला कि न होला …’ ।
गायिका एलिना चौहानले हालै सार्वजनिक गरेको ती शब्द सहितको यो तीज गीतले दर्शक र स्रोताको मन जितेको छ । गीतको चर्चासँगै सामाजिक सञ्जाल फेसबूकमा उनको सिर्जनाको समेत दर्शकले खुलेर प्रशंसा गरेका छन् । गीत भनेको त यस्तो हुनुपर्छ भन्दै ‘लभ’ र ‘लाइक’को ‘थम्स्’ सहितको प्रतिक्रिया दिनेहरूको संख्यामा लाखौँ छ ।
हरितालिका तीज आउन अझै डेढ महिना बाँकी छ । यही मेसोमा कलाकारले तीजका गीतका म्युजिक भिडियो धमाधम बनाउँदै यूट्युबमा राख्दै आएका छन् । तीज जसरी महिलाका लागि उत्सवको पर्व मानिन्छ, उसैगरी कलाकारलाई आफ्नो सिर्जना देखाउने र धन आर्जन गर्ने सुन्दर अवसर बनेको छ । गायिका चौहानसहित गीतमा रचना रिमाल, मेलिना मैनाली र दीपिका बयम्बुको समेत स्वर रहेको छ ।
केही कलाकारले पुराना गीतलाई नै नयाँ शैलीमा पस्किएका छन् । गायिका सुनिता दुलालले सिडी र क्यासेटको युगमा बनाएको गीत ‘अब त मैले नि झुम्का लगाउँछु …’ फेरि नयाँ शैलीमा प्रस्तुत गरेका छन् । दर्शकमाझ आफूलाई चर्चामा ल्याएको गीत यही भएकाले डिजिटल रूपमा जीवन्त राख्न पुनः नयाँ शैलीमा रेकर्ड गरेको उनले बताइन् ।
‘पछिल्लो समय कलाकारले डिजिटल प्लेटफर्मले आम्दानी र पहिचान बनाउन सजिलो भएको छ,’ उनले भनिन्, ‘दर्शकले रिमेक गरेको गीत पनि मन पराउनुभएको छ । खुसी छु ।’
युवा पुस्ताको स्वाद अनुसारको गीत बनाउनुपर्ने मान्यताबाट प्रभावित भएका गायक आशीष अविरलले १५ वर्ष पुरानो गीत ‘सुनको चुरा आँैठी नि सुनकै छ …’ गीतको आधुनिक शैली (रिमेक) मा पस्किएका छन् । गायत्री थापाको शब्द रहेको त्यस गीतलाई देवी घर्ती र रामजी खाँडले गाएका थिए । अहिले रिमेकमा गायक अविर र गायिका मेलिना राइले स्वर भनेका छन् ।
गीतको भाव र शब्द मीठास भएकाले अहिलेको पुस्तालाई नयाँ शैलीमा सुनाउन गीतको रिमेक गरिएको गायक अविरलले बताए । उनले भने, ‘अचेल युवा ‘फास्ट ट्रयाक’का गीत मन पराउँछन् । हामीले नयाँ पुस्तालाई लक्षित गरी गीत ‘रिमेक’ गर्यौँ ।’ गीतको म्युजिक भिडियोमा प्रकाश सपुत र उषा उप्रेतीको अभिनय रहेको छ ।
गायिका रितु कँडेलले प्रत्येक तीजमा एउटा नयाँ गीत रेकर्ड गर्छिन् । उनले सधैँ एकल स्वरमा निकाल्ने तीज गीत अहिले पुरुष गायकसँग सहकार्य गरेको बताइन् । गायिका कँडेलका अनुसार विगतमा भन्दा अहिले पुराना र मौलिक भाकाका गीत सिर्जना गर्ने परिपाटी छ । यद्यपि सङ्गीत संयोजन समय सापेक्ष बनाए पनि शब्द चयनमा मौलिकता खोज्न थालिएको उनको अनुभव छ । डिजिटल युगले कला र संस्कृतिको सौन्दर्य व्यापक बनाउन सघाएको पनि गायिका कँडेलको बुझाइ छ । रितुले रिल्स र टिकटक प्लेटफर्ममा गीत राखेर धेरै दर्शकको मन जित्न सकिएको भए पनि यसको नकारात्मक असरसमेत रहेको बताइन् । ‘अचेल डिजिटल प्लेटफर्मले कोठामा र मोबाइलमा तीज पर्व सीमित भएको छ,’ उनले भनिन्, ‘तर कलाकारका लागि भने डिजिटल प्लेटफर्म आयआर्जनको प्रभावकारी स्रोत बनेको छ ।’
गायिका लक्ष्मी न्यौपाने तीज गीतमा मौलिकता र सांस्कृतिक पक्ष झल्किनुपर्ने मान्यता राख्छिन् । त्यसैले उनले विगतमा निकाल्दै आएका गीतमा गाउँ घरको परिवेश, चेलीबेटीको वेदना र माइतीको सम्झनाका भावनाहरू समेटिएका हुन्छन् । गत वर्ष ‘म त मसक्कै …’ शीर्षकको गीत निकालेकी उनी यस वर्ष पनि मौलिक भाका र लय झल्किने तीज गीत सार्वजनिक गर्ने तयारीमा छिन् ।
हरेक वर्ष तीज गीतले नयाँ कलाकार समेत जन्माउँछ भने पुराना गायक गायिकाले अनिवार्य रूपमा गीत सिर्जना गर्ने परम्परा बसेको देखिन्छ । त्यसमा कलाकारहरू विष्णु माझी, शान्तारानी परियार, शान्तिश्री परियार, कोमल वली, सिन्धु मल्ल लगायतका गायिकाको गीत सुन्न दर्शक उत्साहित देखिन्छ । यति मात्रै होइन, तीज गीतमा पुरुष कलाकारको रोजाइ पनि उत्तिकै आर्कषक बन्दै गएको छ । ७ वर्षअघि गायक दुर्गेश थापाको ‘हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा …’ बोलको तीज गीतले निकै लोकप्रियता कमाएको थियो । यस वर्षको तीजमा भने दुर्गेशको गीत अलिक फरक छ । ‘बर्खे झरीमा यसपालिको तीजमा नाचाँै नाचाँै हो, हजुर रातो सारीमा …’ बोलको तीज गीतमा दुर्गेश आफैँ महिलाको वेशभूषामा देखिएका छन् । साथै अभिनेत्री प्रियंका कार्कीको समेत नृत्य रहेको छ ।
यसैगरी तीज गीत पस्किने गायक पुरुषमा खेम सेन्चुरी, पशुपति शर्मा, अर्जुन सापकोटालगायत कलाकार रहेका छन् । यूट्युबमा यस वर्ष अन्जिता विश्वकर्माको स्वरमा रहेको गीत ‘पराइको शासन’ले नारी वेदना बुनेको छ । ‘एक धर्को सिन्दुरले बन्धनमा पार्यो आमा …’ बोलको गीतले सामाजिक बन्धनमा परेको चेलीले अधिकारका लागि विद्रोह गरेर स्वतन्त्र हुने आँट गरेको दृश्यसमेत भिडियोमा देख्न सकिन्छ । वैदेशिक रोजगारमा जानुपर्ने छोराको बाध्यता र विवाह गरेर माइती घर छोड्नुपर्ने छोरीका परम्परागत नियतीमाथि पनि तीजका गीत रचिएका छन् । तीज गीतको परम्परागत दायरा पछिल्लो समय फराकिलो हुँदै गएको कलाकारहरूको धारणा छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रीता थापामगरका अनुसार तीज पर्व नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजसँग जोडिएको एक विशिष्ट लोक सांस्कृतिक विधा हो । उनले तीज गीतको प्रारम्भ यही कालबाट भएको हो भन्ने यकिन नभए पनि महिलाका वेदना र मुक्तिको अभिव्यक्ति पौराणिक संस्कृति रहेको बताइन् । उनले विगतमा तीज गीतमार्फत समाजमा पितृसत्तात्मक व्यवस्थाले महिलामाथि पारेको दमन, घरपरिवारको हेला, माइतीप्रतिको सुदूर स्नेह र वेदनालाई गीतका माध्यमबाट पोख्ने चलन रहेको सुनाइन् ।
साउने संक्रान्तिको विधि पूरा गरिसकेपछि तीज गीत गाउन थाल्ने मौलिक परम्परा भए पनि अचेल आधुनिकतासँगै तीज गीतका स्वरूपमा केही परिवर्तन आएको प्रतिष्ठानकी अध्यक्ष मगरले बताइन् । ‘यसलाई २ तरिकाले हेर्न सकिन्छ, पहिलो त महिला केबल पीडा र वेदना मात्र होइन, आफ्ना अधिकार, सफलता, र चेतसम्बन्धी विषय पनि गर्वका साथ प्रस्तुत गर्न थालेका छन्,’ उनले भनिन्, ‘अर्कोतर्फ भद्दा पहिरन, सतही शब्द र केबल सस्तो मनोरञ्जन, भाइरल हुने रहर वा यूट्युब भ्युज कमाउने होडबाजी नै चलेको छ ।’ त्यसका निम्ति द्विअर्थी शब्द, अश्लील प्रस्तुति वा जसरी पनि चर्चामा रहने ‘अटेन्सन सिकर’ प्रवृत्तिले विकृति पनि ल्याएको उनी स्वीकार गर्छिन् ।
प्रतिष्ठानका अध्यक्ष मगरका अनुसार एकाध गीतबाहेक अधिकांश गीतको मौलिकता हराउँदै गएर पप, र्याप वा डिजे शैलीको प्रभाव बढेको छ । तीजको गरिमा र पवित्रतामा आँच आउनुले सांस्कृतिक चिन्ताको विषय बढ्दै गएको उनको धारणा छ । प्रतिष्ठानले तीज गीत मात्र नभएर सम्रग्र विकृत संगीतले समाजमा पार्ने प्रभाव र यसलाई विकृतिमुक्त बनाउन यथेष्ट प्रभावकारी कदमहरू चाल्दै आइरहेको पनि छ ।
प्रतिष्ठानले समय–समयमा औपचारिक विज्ञप्ति जारी गर्दै दोहोरी साँझ, मेला, महोत्सव टिकटक तथा अन्य सामाजिक सञ्जालमा प्रयोग हुने अमर्यादित, भद्दा र उच्छृंखल शब्द तथा दृश्यहरू तुरुन्त बन्द गर्न कडा आग्रह गर्दै आएको अध्यक्ष मगरले प्रष्ट पारिन् । ‘आफ्ना आबद्ध कलाकार, सर्जक, संगीतकर्मीलाई पेशागत आचारसंहिता पालना गर्न सचेत गराएको छ र कारबाही समेत गरेको छ,’ उनले भनिन् ।
प्रतिष्ठानले डिजिटल माध्यम र सार्वजनिक मञ्चमा देखिएका अश्लीलतालाई नियन्त्रण गर्न गृह मन्त्रालय, साइबर ब्युरो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय गर्दै कानुनी दायरामा ल्याएको पनि उनले बताइन् । यसैगरी नजिकिँदै गरेको तीज लक्षित सिर्जनाको मौलिकता, यसको सामाजिक, धार्मिक महत्वका साथै प्रभावका सम्बन्धमा कलाकारलाई सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको उनले जानकारी दिइन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































