एमाले नेतृत्व परिवर्तन गर्न पूर्वअखिल एक ठाउँमा

काठमाडौं । नेकपा एमाले पुनगर्ठन अभियानमा अनेरास्ववियुका पूर्व नेताहरु पनि सामेल भएका छन् ।

२०६२/०६३ सालको राजनीतिक परिवर्तनपछि अखिलको नेतृत्व लिएका नेताहरुले भेला गरेरै पार्टी पुनगर्ठनको अभियान अगाडि बढाएका हुन् । बागबजारस्थित होटल हार्दिकमा आज भएको भेलामा ठाकुर गैरेदेखि सुजन कडरियासम्मका पूर्वअध्यक्षहरु सहभागी थिए ।

पूर्वअध्यक्ष नविना लामाले संयोजन गरेको ‘पार्टी पुनगर्ठनमा पूर्व अखिलहरुको भूमिका’ विषयक भेलाको उद्देश्य एमाले नेतृत्व परिवर्तन थियो । ‘यथास्थितिमा एमाले बन्दैन । नेतृत्व हस्तान्तरण र पुस्तान्तरण एमाले पुनगर्ठनको सर्त हो,’ लामा भन्छिन्, ‘पूर्वअखिलहरु भेला भएर त्यही सन्देश दिएका छौ ।’

उनका अनुसार भेलाका वक्ताहरुले एकैस्वरमा वर्तमान नेतृत्वलाई निशर्त विदा लिन आग्रह गरेका छन् । भेलाका प्रमुख वक्ता रहेका ठाकुर गैरेले वाम एकताअघि वर्तमान नेतृत्वको विदाइ लिन आग्रह गरे । ‘नेताहरु मिलेर हात हल्लाउदैमा अब पार्टीमा उर्जा आउँदैन, उहाँहरुले छोडेको घोषणा गर्दा उर्जा आउँछ,’ उनले भने ।

एमाले र नेपाली कम्युनिष्ट पार्टी मिल्दा ५ लाख मानिस उतार्न सकिने प्रचण्डको अभिव्यक्तिप्रति व्यंग गर्दै गैरेले भने, ‘अहिले पाँच सय मानिस उतार्ने स्थिति छ ?’ उनले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणले मात्र पार्टी पुनगर्ठन संभव हुने बताए । ‘अहिलेको कमिटीहरु विघटन गरौं । मूल नेतृत्वले विदा लिएर आफू मुनिको नेतालाई छोडोस्,’ गैरेको प्रस्ताव छ ।
यस्तै प्रस्ताव अर्का केन्द्रीय सदस्य रचना खड्काले पनि राखिन् । ‘यो संकटबाट पार्टीलाई बचाउने हो भने यसका सार्वभौम सदस्यहरु जाग्नुपर्ने भएको छ,’ उनले भनिन् ।

एमाले संकटमा पर्नुपर्ने कारणले चर्चा गर्दा खड्काले युवाहरुको आत्मविश्वासबारे पनि टिप्पणी गरिन् । ‘एमालेका युवाहरुमा आत्मविश्वास गुमेको छ । ५० वर्ष पुगेकाले पनि आफूलाई नेता हुने बेला भएको छैन भन्ने ठान्छन्,’ उनले भनिन् । यो अभियानको उद्देश्यबारे प्रष्ट्याउँदै अखिलका पूर्व नेता मेनुका पछाईँले नयाँ पुस्तालाई पार्टीको नेतृत्व दिइनुपर्ने प्रस्ताव गरिन् । ‘युवाहरुलाई विश्वास नगरेका कारणले एमाले यो स्थितिमा आयो,’ उनले भनिन्, ‘खिसीट्यूरी र आलोचना गर्न उपस्थित भएका छैनौ, सम्मानपूवर्क बसिदिनुस् । तपाईँहरुले योगदान गर्न बाँकी केही छैन, पाउन पनि केही बाँकी छैन ।’

भेलाका अर्का वक्ता उषाकिरण तिम्सेनाले त केपी ओलीको विदाई निर्शत हुनुपर्ने बताइन् । ‘ग्रेसफूल एक्जिटको कुरा होइन, अब निशर्त विदाइ हो,’ उनले भनिन् । अखिलका पूर्व नेता मोती विश्वकर्माले विगतमा झैं यसपटक पनि पार्टीले गरेको गल्ती सच्याउन अखिल अगाडि सर्नुपरेको बताए । ‘पार्टीले गरेको गल्तीहरु अनेरास्ववियुले सच्याएका थुप्रै उदाहरण छन्,’ उनले भने, ‘फेरि बेला आएको छ, गल्ती सच्याउने ।’ एमाले बचाउन पुनगर्ठनको अर्को विकल्प नरहेको उनको तर्क थियो ।
अखिलका पूर्वमहासचिव नरेश रोकायाले वर्तमान नेतृत्वले गरेका कमजोरीहरुको लामो फेहरिस्त प्रस्तुत गरेका थिए । उनको निष्कर्ष पनि अरु वक्ताहरुकै जस्तो छ– निशर्त पुनगर्ठन । ‘हिजो कर्ण थापाहरुले बोल्दै गर्दा हामीले बोल्न सकेनौं, गल्ती गर्यौ । तर आज हामी बोल्नुपर्छ । गल्ती सच्याउनुपर्छ,’ युवा पंक्तिलाई रोकायाले आग्रह गरे ।

पूर्वअखिल अभियानमा जोडिएका तपेन्द्र शाही, पार्टी पुनगर्ठन नभएसम्म अभियान जारी रहने बताउँछन् । ‘हामी दास पनि होइनौँ , लास पनि होइनौँ । नेतृत्वले निशर्त विदा नलिएसम्म हामी निरन्तर लागिरहन्छौ,’ उनले भने । यो भेलामा अखिलका पूर्वअध्यक्ष माधव ढुंगेल, समिक बडाल, सुजन कडरिया लगायतले पनि सम्बोधन गरेका थिए ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।