काठमाडौं । नेपालको विद्युत् क्षेत्रमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ । वर्षायामसँगै जलविद्युत् आयोजनाहरूको उत्पादन बढेपछि देशको सम्पूर्ण विद्युत् माग अहिले स्वदेशमै उत्पादित ऊर्जाबाट पूरा हुन थालेको छ ।
यससँगै भारतबाट विद्युत् आयात गर्ने अवस्था पूर्ण रूपमा अन्त्य भएको छ भने अतिरिक्त उत्पादन भएको बिजुली पुनः भारततर्फ निर्यात भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल देशको साँझको अधिकतम विद्युत् माग (पिक आवर) ३ हजार २४८ मेगावाट पुगेको छ । दैनिक कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा रहेको भए पनि उक्त माग पूरा गर्न कुनै पनि परिमाणमा भारतबाट विद्युत् आयात गर्नुपरेको छैन । उल्टै नेपालबाट २२ हजार १०२ मेगावाट घण्टा बराबरको अतिरिक्त विद्युत् भारत निर्यात भइरहेको छ ।
प्राधिकरणका तथ्यांकअनुसार नेपालको विद्युत् उत्पादनमा निजी क्षेत्रको योगदान सबैभन्दा महत्वपूर्ण देखिएको छ। हाल निजी ऊर्जा उत्पादक कम्पनीहरूले ४७ हजार ५६३ मेगावाट घण्टा बराबर ऊर्जा राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गरिरहेका छन् । यस्तै, नेपाल विद्युत् प्राधिकरणका आफ्नै आयोजनाबाट ८ हजार ९५९ मेगावाट घण्टा तथा प्राधिकरणका सहायक कम्पनीमार्फत १७ हजार १०८ मेगावाट घण्टा बराबर विद्युत् उत्पादन भइरहेको छ ।
विद्युत् उत्पादनमा आएको यो वृद्धि पछिल्ला वर्षहरूमा जलविद्युत् आयोजनाको विस्तार, निजी क्षेत्रको सक्रिय लगानी तथा प्रसारण लाइन सुदृढीकरणको प्रतिफलका रूपमा हेरिएको छ । ऊर्जा क्षेत्रमा भएको लगानी र संरचनागत सुधारका कारण नेपाल बिस्तारै विद्युत् उत्पादनमा आत्मनिर्भर बन्दै गएको संकेत देखिएको छ ।
यसैबीच, मनसुनका कारण आउने प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले देशभर विद्युत् सेवा निरन्तर सञ्चालनमा विशेष तयारी गरेको जनाएको छ । प्राधिकरणका अनुसार हालसम्म वर्षाका कारण कुनै पनि क्षेत्रमा विद्युत् आपूर्तिमा उल्लेखनीय अवरोध सिर्जना भएको छैन ।
सम्भावित बाढी, पहिरो वा अन्य प्राकृतिक विपद्का कारण विद्युत् सेवा प्रभावित हुन नदिन सातै प्रदेशका कार्यालय तथा काठमाडौंमा प्राविधिक मर्मत टोली चौबीसै घण्टा तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ । आवश्यक सामग्री र जनशक्ति पूर्वतयारीका साथ परिचालन गरिएको हुँदा कुनै समस्या आए तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको छ ।
ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार वर्षायाममा उत्पादन बढे पनि हिउँदमा उत्पादन घट्ने चुनौती अझै कायम छ। त्यसैले जलाशययुक्त आयोजना निर्माण, प्रसारण पूर्वाधार विस्तार र आन्तरिक विद्युत् खपत बढाउने नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
यद्यपि हालको अवस्था नेपालका लागि ऊर्जा क्षेत्रमा सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ। आन्तरिक उत्पादनले देशको विद्युत् माग धान्नुका साथै अतिरिक्त ऊर्जा निर्यात गर्न सक्ने क्षमता विकास हुनु ऊर्जा सुरक्षाका साथै विदेशी मुद्रा आर्जनका दृष्टिले पनि महत्वपूर्ण उपलब्धि मानिएको छ । नेपालले जलविद्युत् उत्पादनमा प्राप्त गरेको यो प्रगति दीर्घकालीन रूपमा ऊर्जा आत्मनिर्भरता र आर्थिक समृद्धिको आधार बन्न सक्ने अपेक्षा गरिएको छ ।



































