नेपाल भलिबल लिगको पहिलो अक्सन सम्पन्न, ६ टोलीले ४२ खेलाडी अनुबन्ध गरे

काठमाडौं । केडिया ग्रुपको आयोजनामा पहिलोपटक हुन लागेको नेपाल भलिबल लिग (एनभीएल) को ऐतिहासिक खेलाडी अक्सन आइतबार काठमाडौंमा सम्पन्न भएको छ । नेपाली पुरुष भलिबलको इतिहासमै पहिलो पटक अक्सन प्रणालीमार्फत खेलाडी छनोट गरिएको हो ।

ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा सम्पन्न अक्सनमा क्याटेगोरी ‘ए’ का ५४ र क्याटेगोरी ‘बी’ का ७३ गरी कुल १२७ खेलाडी सहभागी थिए । अक्सनबाट ६ फ्रेन्चाइज टोलीले नियमअनुसार क्याटेगोरी ‘ए’ बाट चार र ‘बी’ बाट तीन गरी सात–सात खेलाडी अनुबन्ध गर्दै कुल ४२ खेलाडी आफ्नो टोलीमा समावेश गरेका छन् ।

क्याटेगोरी ‘ए’ का खेलाडीको न्यूनतम मूल्य १ लाख र अधिकतम १ लाख २० हजार रुपैयाँ तथा क्याटेगोरी ‘बी’ का खेलाडीको न्यूनतम मूल्य ५० हजार र अधिकतम ७० हजार रुपैयाँ निर्धारण गरिएको थियो । अक्सनमा क्याटेगोरी ‘ए’ का १४ र ‘बी’ का तीन खेलाडीले अधिकतम मूल्य प्राप्त गरे । सनोज चौधरी र चिरञ्जीवी खड्कामाथि सबै टोलीले विशेष चासो देखाएका थिए ।

अक्सनमा काठमाडौं रेड्सले सबैभन्दा बढी ६ लाख ५० हजार रुपैयाँ खर्च गर्दै सात खेलाडी अनुबन्ध गर्‍यो भने सगरमाथा स्म्यासर्सले सबैभन्दा कम ५ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ । खप्तड फाल्कोन्सले सरोज बर्देवा र प्रेमप्रसाद गौतमलाई जनही १ लाख २० हजार रुपैयाँमा तथा इन्द्र विक र विपाश थापालाई जनही १ लाख रुपैयाँमा टोलीमा भित्र्यायो । क्याटेगोरी ‘बी’ बाट पारस बोहरा ७० हजार तथा नवराज थापा मगर र नवराज धामीलाई जनही ५० हजार रुपैयाँमा अनुबन्ध गरियो। टोलीको मार्की खेलाडी धिरोजकाजी बस्नेत रहेका छन् ।

कर्णाली शिवराजले नृपध्वज बस्नेत, विनोदबहादुर चन्द, सुरज चुनारा र सनोज चौधरीलाई जनही १ लाख २० हजार रुपैयाँमा अनुबन्ध गर्‍यो । सन्दीप लुहार, बलराम गुरुङ र सुनिल ठकुल्लालाई जनही ५० हजार रुपैयाँमा टोलीमा समावेश गरिएको छ। टोलीको मार्की खेलाडी पहल गहतराज हुन् ।

काठमाडौं रेड्सले सन्तोष विक, सन्तोष राई र चिरञ्जीवी खड्कालाई जनही १ लाख २० हजार रुपैयाँ तथा बलदेव सिंह धामीलाई १ लाख रुपैयाँमा अनुबन्ध गर्‍यो । क्याटेगोरी ‘बी’ बाट जितबहादुर ढुंगाल र पुष्करसिंह धामीलाई ७० हजार तथा दीपेश कुँवरलाई ५० हजार रुपैयाँमा टोलीमा ल्याइएको छ। टोलीका मार्की खेलाडी सुनिल बोहरा रहेका छन् ।

अन्नपूर्ण स्पाइकर्स किंग्सले राजेन्द्र धामी र सुरेन्द्र खत्रीलाई जनही १ लाख २० हजार रुपैयाँमा तथा रवि केसी र विवास अधिकारीलाई जनही १ लाख रुपैयाँमा टोलीमा आबद्ध गर्‍यो । विभाष आले, जितबहादुर सार्की र देवरमन मगरलाई जनही ५० हजार रुपैयाँमा अनुबन्ध गरिएको छ । टोलीको मार्की खेलाडी हिमाल सुनारी हुन् ।

सगरमाथा स्म्यासर्सले सुवास कुँवरलाई १ लाख २० हजार रुपैयाँ तथा भीमबहादुर गाहा, दीपकराज जोशी र रुपेन्द्र नेपालीलाई १ लाख रुपैयाँमा टोलीमा राख्यो । क्याटेगोरी ‘बी’ बाट रमेश बम, सञ्जोग परियार र रेशम छन्त्याल जनही ५० हजार रुपैयाँमा अनुबन्ध भए। टोलीका मार्की खेलाडी हरिहजुर थापा रहेका छन् ।

मधेश वारियर्सले सन्तोष महता र धनबहादुर भट्ट क्षेत्रीलाई जनही १ लाख २० हजार रुपैयाँ तथा रामविनय यादव र राजन थापालाई जनही १ लाख रुपैयाँमा टोलीमा आबद्ध गर्‍यो । बिप्सन शाही ठकुरीलाई ७० हजार तथा सञ्जुविक्रम शाह र रविन रसाइलीलाई जनही ५० हजार रुपैयाँमा अनुबन्ध गरिएको छ । टोलीको मार्की खेलाडी रविन नगरकोटी हुन् ।

अब प्रत्येक टोलीले तीन विदेशी खेलाडी र ट्यालेन्ट हन्टमार्फत एक खेलाडी थप गर्दै आफ्नो अन्तिम टोली तयार गर्नेछन् । नेपाल भलिबल संघको प्राविधिक सहयोग तथा केडिया ग्रुपको आयोजनामा हुने नेपाल भलिबल लिगको पहिलो संस्करण भदौ १२ देखि २० गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सञ्चालन हुनेछ । प्रतियोगितामा खप्तड फाल्कोन्स, कर्णाली शिवराज, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर्स किंग्स, सगरमाथा स्म्यासर्स र मधेश वारियर्सबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

 प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।