अझै असान्त छ कप्तानगञ्ज

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा दुई छुट्टाछुट्टै पक्ष वा समूहबीच सल्केको सानो भनाभन र विवादले उग्र रूप लियो ।

त्यसलाई नियन्त्रणमा लिने क्रममा सुरक्षा निकायबाट गोली चल्दा एक युवाको अकालमा ज्यान गएपछि अशान्त बनेको सुनसरीको समग्र सुरक्षा अवस्था अझै सामान्य हुन सकेको छैन । साउने सोमबारको पावन अवसरमा निकालिने परम्परागत बोलबम यात्राका लागि भन्दै आइतबार राति एउटा धार्मिक टोली चर्को आवाजमा डीजे बजाउँदै पवित्र सप्तकोशी नदीतर्फ प्रस्थान गर्ने अन्तिम तयारीमा जुटिरहेको थियो । तर, ढिलो रातिसम्म बजाइएको त्यो अत्यधिक ठूलो आवाजको डिजे संगीत र पहिलेदेखि नै नहटाइएको झण्डाको विषयलाई लिएर नजिकै रहेको अर्को समूहले तीव्र आपत्ति जनायो । मध्यरातिको समयमा अनावश्यक होहल्ला र ध्वनि प्रदूषण गरिएको भन्दै सुरु भएको सामान्य भनाभन हेर्दाहेर्दै क्षणभरमै दुवै पक्षबीच हातहालहाल, ढुंगामुढा र उग्र झडपमा परिणत हुन पुग्यो ।

दुई पक्षबीचको स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि घट्नास्थलमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले भिडलाई तितरबितर पार्न तथा शान्ति सुरक्षा कायम गर्न भन्दै बल प्रयोग गर्‍यो । सोही क्रममा सुरक्षाकर्मीबाट चलेको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज निवासी २४ वर्षीय स्थानीय युवा ओमप्रकाश मेहताको दुखद मृत्यु भयो। गोली लागेर युवाको ज्यान गएको खबर डढेलोझैँ फैलिएपछि कप्तानगञ्ज मात्र नभई समग्र देवानगञ्ज र आसपासका क्षेत्रहरू गम्भीर तनाव र आक्रोशको भुमरीमा फसे । सुरक्षा निकायले स्थितिलाई सम्हाल्नुको साटो अत्यधिक र अनियन्त्रित बल प्रयोग गरेको भन्दै स्थानीय बासिन्दा तथा पीडित पक्षले प्रहरी प्रशासनको कडा आलोचना र विरोध सुरु गरे ।

यस संवेदनशील घटनाको पूर्वजानकारी र सम्भावित जोखिमको सूचना पहिले नै हुँदाहुँदै पनि स्थानीय प्रशासन तथा सुरक्षा कमाण्डरहरूले देखाएको उदासीनता, गम्भीर लापरवाही र फितलो सुरक्षा व्यवस्थापनलाई प्रमुख कारण मान्दै गृह मन्त्रालयले तत्कालै कडा प्रशासनिक कदम चाल्यो। घटनालगत्तै सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरे, कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे, सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबे, तथा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका एसपी र डीएसपीलाई समेत उनीहरूको जिम्मेवारीबाट तत्काल हटाइयो। रिक्त रहेको प्रमुख जिल्ला अधिकारीको पदमा ईश्वरीप्रसाद अर्याललाई नयाँ सीडीओका रूपमातुरुन्तै खटाइयो ।

तर, प्रशासनिक कारबाहीको यो निर्णयभित्र अनेकौँ प्राविधिक र व्यावहारिक विरोधाभासहरू समेत सतहमा आएका छन् । मन्त्रालयले हतार–हतार सरुवा गरेका सुनसरीका एसपी केशवकुमार थेबे र कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे घटना घटेको समयमा कार्यक्षेत्रमा उपस्थित नरही पूर्वस्वीकृत बिदामा रहेका थिए । यता सशस्त्र प्रहरीका एसपी श्याम कुमार कार्कीलाई त झन् घटना हुनुभन्दा अघि नै गृहमन्त्री सुधन गुरुङको प्रत्यक्ष निर्देशनमा सशस्त्र प्रहरी मुख्यालय (हेडक्वाटर) तानिसकिएको थियो, र उनको ठाउँमा नयाँ कमाण्डर पठाउने प्रबन्ध मिलाइएकै थिएन । यसरी कमाण्ड सम्हाल्ने नेतृत्वको अनुपस्थिति र रिक्तताका बीच मातहतका निकायबाट समन्वयको ठूलो अभाव देखियो ।

प्रशासनिक नेतृत्वमा तत्काल व्यापक हेरफेर गरी नयाँ सीडीओ र सुरक्षा प्रमुखहरू खटाइएपछि पनि क्षेत्रको सुरक्षा वातावरण भने सहज हुन सकेन। स्थिति नियन्त्रणबाहिर जाँदै गरेपछि सोमबार साँझ गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाइयो । उक्त उच्चस्तरीय बैठकले सुनसरीको शान्ति सुरक्षालाई पुनः बहाल गर्न र कुनै पनि सम्भावित हिंसात्मक घटना रोक्नका लागि चारै वटा सुरक्षा निकायलाई संयुक्त रूपमा पूर्ण परिचालन गर्ने निर्णय गर्‍यो । गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यका अनुसार क्षेत्रमा थप मद्दत र जनशक्ति उपलब्ध गराउनका लागि व्यापक सुरक्षाकर्मीहरूको टोलीलाई परिचालन गर्ने व्यवस्था मिलाइएको थियो ।

सोही निर्णय अनुसार सोमबार साँझदेखि नै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त कमाण्ड टोलीलाई प्रभावित क्षेत्रमा परिचालन गरियो। कोशी प्रदेशका नयाँ प्रहरी प्रमुख डीआईजी शेखर खनाल, नवआगन्तुक सीडीओ ईश्वरीप्रसाद अर्याल तथा नयाँ एसपीहरूले कार्यस्थलमा पुगेर कमाण्ड सम्हाल्दै स्थिति सामान्य बनाउने कसरत सुरु गरे । तर, उच्चस्तरीय प्रशासनिक र सुरक्षा उपस्थिति हुँदाहुँदै पनि तनाव साम्य हुन सकेको छैन । सुरक्षाकर्मीहरूको प्रत्यक्ष उपस्थिति रहेका केही मुख्य स्थानहरूमा स्थिति शान्त देखिए पनि उनीहरूको उपस्थिति नभएका भित्री बस्ती र चोकहरूमा अनियन्त्रित समूहहरूबाट तोडफोड, आगजनी र अराजक क्रियाकलापहरू निरन्तर जारी रहेका छन् ।

स्थितिलाई वार्ता र सम्झौताको माध्यमबाट निकास दिनका लागि नयाँ सीडीओ अर्यालले मंगलबार सर्वदलीय बैठकको आह्वान गरेका थिए। उहाँले स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, निर्वाचित जनप्रतिनिधिहरू र समाजका अगुवाहरूलाई छलफलका लागि आमन्त्रण गरेका भए पनि चुलिँदो आक्रोश र सहमति बन्न नसकेका कारण उक्त महत्त्वपूर्ण सर्वदलीय बैठक बस्नै सकेन । वार्ताको ढोका बन्द जस्तै भएपछि नागरिक र प्रशासनबीचको दूरी झन् फराकिलो बनेको छ । अहिले देवानगञ्ज र आसपासका अति संवेदनशील क्षेत्रहरूमा सुरक्षाको मुख्य कमाण्ड नेपाली सेनाले सम्हाल्दै व्यापक गस्ती र निगरानी गरिरहेको छ। कोशी प्रदेशका नयाँ डीआईजी शेखर खनालले सबै सुरक्षा संयन्त्रहरूलाई पूर्ण रूपमा परिचालन गरेर स्थानीयवासीको सुरक्षा सुनिश्चित गर्ने र स्थितिलाई जतिसक्दो चाँडो पूर्ण नियन्त्रणमा लिने प्रयास भइरहेको बताएका छन् ।

यसैबीच, सुनसरीमा दिनप्रतिदिन बिग्रँदो र जटिल बन्दै गएको शान्ति सुरक्षाको अवस्थालाई लिएर गृह मन्त्रालयमा मंगलबार पुनः उच्चस्तरीय समीक्षा एवं छलफल कार्यक्रम आयोजना गरियो। सो छलफलमा गृहमन्त्री सुधन गुरुङ, गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेल लगायतका शीर्ष सुरक्षा अधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो । बैठकमा घटनाको निष्पक्ष छानबिन गर्ने, पीडित पक्षलाई न्याय दिलाउने, र शान्ति सुव्यवस्था कायम गर्नका लागि अपनाउनुपर्ने थप सुरक्षा रणनीतिहरूबारे गहन विचारविमर्श गरिएको छ । साउने सोमवारको धार्मिक उत्साहका बीच सुरु भएको सामान्य विवादले अहिले सिङ्गो सुनसरी जिल्लालाई नै अशान्त र सन्त्रासपूर्ण बनाएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।