रास्वपा उपसभापति बन्दैछन् सुधन गुरुङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक सांगठनिक संरचनालाई पूर्णता दिने प्रयास तीव्र बनेसँगै नयाँ नेतृत्व र शक्ति सन्तुलनको गृहकार्यले नयाँ मोड लिएको छ ।

रास्वपाले गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहेका पार्टी नेता सुधन गुरुङलाई उपसभापति बनाउने तयारी अघि बढाएको छ । यसअघि पार्टीका वरिष्ठ नेता तथा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समूहबाट अन्य नेताहरूको नाम उपसभापति पदका लागि चर्चामा रहे पनि मङ्गलबार एकाएक सुधन गुरुङको नाम अगाडि सारिएको हो ।

पार्टी स्रोतका अनुसार, पार्टीको पदाधिकारी तहमा आवश्यक समावेशिता र क्षेत्रीय/जातीय सन्तुलन नदेखिएको भन्दै स्वयं वरिष्ठ नेता बालेन्द्र शाहले गुरुङको नाम प्रस्ताव गरेपछि पार्टी सभापति रवि लामिछाने पनि यसमा सहमत भएका हुन् । दुई प्रमुख नेताहरूबीचको सहमति र संवाद लगत्तै गृहमन्त्री गुरुङ सभापति लामिछानेलाई भेट्न उनको बूढानीलकण्ठस्थित निवास पुगेका थिए ।

चितवनमा सम्पन्न रास्वपाको महाधिवेशनले नयाँ नेतृत्वको जग बसाले पनि केन्द्रीय समिति र अन्य सांगठनिक निकायहरूले अझै पूर्णता पाउन सकेका छैनन् । यही अपूर्ण रहेको सांगठनिक संरचनालाई अन्तिम रूप दिन र बाँकी पदहरूमा मनोनयन टुंग्याउन पार्टीले बुधबार केन्द्रीय समितिको महत्वपूर्ण बैठक आह्वान गरेको छ । काठमाडौंको चःमतीस्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको उक्त बैठकमा महाधिवेशनको समग्र समीक्षा, देशव्यापी संगठनात्मक व्यवस्थापन, पार्टी सञ्चालनका लागि आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, र सभापतिको भावी राजनीतिक प्रतिवेदन एवं आगामी राजनीतिक अभियानका विषयमा विस्तृत निर्णय गर्ने कार्यसूची तय गरिएको छ ।

तथापि, बुधबारको बैठकको सबैभन्दा मुख्य र पेचिलो एजेन्डा भनेको रिक्त रहेका ११ जना पदाधिकारी र ५१ जना केन्द्रीय सदस्यहरूको मनोनयन नै हो । रास्वपाको विद्यमान विधानअनुसार यी बाँकी पदहरूमा मनोनयन गर्ने सम्पूर्ण अधिकार सभापति रवि लामिछानेमा निहित रहेको छ । सोही अधिकारको प्रयोग गर्दै सभापति लामिछानेले सम्भावित उम्मेदवारहरूको प्रस्तावित सूची तयार पारेर बैठकमा प्रस्तुत गर्ने तयारी गर्नुभएको छ । तर, यो मनोनयनको विषय केवल सामान्य सांगठनिक विस्तार वा प्रशासनिक प्रक्रिया मात्र नरहेर पार्टीभित्रका विभिन्न राजनीतिक समूहहरूबीचको शक्ति सन्तुलन र भागबण्डासँग प्रत्यक्ष रूपमा जोडिएको छ ।

विशेष गरी, प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहको पक्षले पार्टीभित्र आफ्ना समर्थक र नेताहरूको सम्मानजनक उपस्थिति हुनुपर्ने अडान राख्दै आएको छ । बालेन पक्षले ५१ जना मनोनयन हुने केन्द्रीय सदस्यहरूमध्ये कम्तीमा २४ जना आफ्नो समूहबाट समावेश हुनुपर्ने भन्दै सोभन्दा पनि बढी नेताहरूको नाम सभापतिसमक्ष सिफारिस गरेको छ । यसै कारणले गर्दा सिङ्गो मनोनयन प्रक्रिया करिब ६० र ४० प्रतिशतको शक्ति सन्तुलनका आधारमा तय हुन सक्ने राजनीतिक वृत्तमा चर्चा भइरहेको छ । रास्वपा संस्थापन पक्षका एक नेताका अनुसार, बालेन टिमले ५१ केन्द्रीय सदस्यमा २४ भन्दा बढीको नाम बुझाउनुका साथै सचिवालय र केन्द्रीय समिति दुवै संरचनामा स्पष्ट रूपमा ४०–४० प्रतिशतको हिस्सेदारी माग गरेको छ । यसका साथै पार्टीका महत्वपूर्ण विभागहरूमा समेत प्रमुख पदहरू तोकेर आफ्नो पक्षका नेताहरूलाई जिम्मेवारी दिनुपर्ने तीव्र दबाब नेतृत्वमाथि परेको छ ।

चितवन महाधिवेशनबाट सात जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यहरू लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित भइसकेका छन् । विधानको व्यवस्थाअनुसार अब बाँकी रहेका ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्यहरूलाई मनोनयनको माध्यमबाट चयन गरी केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने बाध्यता छ । यस मनोनयन सूचीलाई अन्तिम रूप दिनका लागि सभापति लामिछाने र वरिष्ठ नेता बालेन पक्षबीच निरन्तर गहन छलफल भइरहेको छ ।
स्मरणरहोस्, गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनभन्दा ठीक अघि रास्वपाको सांगठनिक दायरा फराकिलो बनाउने क्रममा बालेन समूह, विवेकशील साझा पार्टी, उज्यालो नेपाल अभियान, जेनजी युवा समूह, थारुहट–थारुवान संयुक्त मोर्चा तथा दलित अधिकारका क्षेत्रमा कार्यरत विभिन्न राजनीतिक एवं सामाजिक समूहहरू रास्वपामा समाहित भएका थिए । त्यसैले, अहिले हुन गइरहेको मनोनयन प्रक्रियामा ती सबै पक्ष र समूहहरूलाई समेट्दै सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्नु पार्टी नेतृत्वका लागि ठूलो नैतिक र सांगठनिक दबाबको विषय बनेको छ ।

पार्टीको पदाधिकारी संरचनातर्फ हेर्दा, सभापति पदमा रवि लामिछाने र एक उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसक्नुभएको छ । त्यसैगरी वरिष्ठ नेता पदमा प्रधानमन्त्री बालेन्द्र शाहको मनोनयन निश्चितप्रायः मानिएको छ । पार्टी विधानको व्यवस्थाअनुसार सभापतिले दुई वा सोभन्दा बढी वरिष्ठ नेताहरू मनोनयन गर्न सक्ने विशेष प्रावधान समेत रहेको छ । अर्को उपसभापति पदमा भने कानुन मन्त्रीको जिम्मेवारीमा रहेकी सोविता गौतम निर्वाचित भइसक्नुभएको छ । यस्तै, महामन्त्री पदमा विपिनकुमार आचार्य निर्वाचित भइसकेका छन् भने पार्टीमा रहेको अर्को महामन्त्री पदका लागि बालेन टिमले भूपदेव शाहलाई अगाडि बढाउने आन्तरिक निष्कर्ष निकालेको छ । यसरी शीर्ष नेतृत्वदेखि केन्द्रीय समितिसम्म सन्तुलन मिलाएर सांगठनिक संरचनालाई पूर्णता दिने प्रयासमा रास्वपा यतिबेला सघन आन्तरिक छलफलमा जुटेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।