गुम्न सक्छ नेपालको एकदिवसीय मान्यता

काठमाडौं । नेपाली क्रिकेट टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता फेरि जोखिममा परेको छ ।

सन् २०१८ मा एकदिवसीय मान्यता पाएदेखि नै नेपालले निकै मुस्किलका साथ यसलाई जोगाइरहेको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत हालै सम्पन्न नेदरल्यान्ड्स र नामिबियासँगको क्रिकोणात्मक एकदिवसीय शृंखलाका चारै खेल गुमाएपछि नेपाल दबाबमा परेको हो । यसअघि २०१९–२३ सम्मको लिग–२ मा पनि नेपालले अन्त्यतिर उत्कृष्ट प्रदर्शन गर्दै ओडीआई हैसियत जोगाएको थियो । त्यतिबेला नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेर शीर्ष तीनमा रहँदै सिधै एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गरेको थियो ।

यो शृंखलामा भने नेपाल नाजुक अवस्थामा पुगेको छ । नेपाली टोलीले शीर्ष चारमा रहँदै सिधै विश्वकपको ग्लोबल क्वालिफायर नखेल्ने निश्चित भइसकेको छ । अब बाँकी एक शृंखलामा पनि राम्रो प्रदर्शन गर्न नसके नेपाललाई ओडीआई मान्यता जोगाउन निकै मेहनत गर्नुपर्ने हुन्छ । नेपालले अब ओमान र क्यानडासँगको शृंखला खेल्न बाँकी छ । यो शृंखलाले नेपालको एकदिवसीय मान्यताको निर्धारण गर्नेछ । लिग–२ को आफ्नो अन्तिम शृंखलामा उत्कृष्ट प्रदर्शन गर्न नसके नेपालले एकदिवसीय मान्यता जोगाउन प्लेअफमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

विदेशी भूमिमा नेपालको प्रदर्शन सधैँ कमजोर रहने गरेको छ । नेदरल्यान्ड्स जानुअघि नेपालले दुई घरेलु शृंखलाका आठमध्ये ६ खेल आफ्नो पक्षमा पारेको थियो । उच्च मनोबलका साथ नेदरल्यान्ड्स पुगेको नेपालले निकै फितलो प्रदर्शन गर्‍यो । टोलीले कुनै पनि खेलमा विपक्षीलाई दबाबमा राख्न सकेन ।

लिग–२ मा हालसम्म खेलेका ३२ मध्ये नेपालले ११ खेल मात्र जितेको छ । तीमध्ये सात जित घरेलु मैदान र चार जित विदेशी भूमिमा निस्किएका छन् । नेपालले घरेलु मैदानमा १२ खेलेकामध्ये सात खेलमा जित निकाल्दा विदेशमा खेलेमा २० मध्ये मात्र चार खेलमा जित निकाल्न सकेको छ । यसबाट पनि थाहा हुन्छ, नेपाल विदेशी भूमिमा कति कमजोर छ भनेर । नेदरल्यान्ड्स शृंखलामा नेपाल ब्याटिङ र फिल्डिङ दुवैमा चुक्न पुग्यो । नेपालका कप्तान रोहितकुमार पौडेल यसलाई स्वीकार्छन् ।

“नेदरल्यान्ड्स शृंखलाका चारै खेलमा हाम्रो ब्याटिङ र फिल्डिङ निकै कमजोर देखियो । ब्याटरको निर्णय राम्रो हुन सकेन । यसले टोलीलाई दबाबमा पार्‍यो । फिल्डिङ र बलिङ पनि सोचेअनुसारको थिएन । केही क्याच छोड्न पुग्यौँ, जसले खेलको रूप नै परिवर्तन गरिदियो । हामीले स–साना मोमेन्टहरूलाई क्याच गर्न नसक्दा खेल गुमाउन पुग्यौँ,” रोहितले नेदरल्यान्ड्सबाट फर्किएपछि भने ।

नेदरल्यन्ड्स शृंखलाका लगातार चार हारले नेपालको शीर्ष चारमा पुग्ने सम्भावना लगभग समाप्त भइसकेको छ । झिनो गणितीय सम्भावना चाहिँ बाँकी छ । त्यसको लागि चौथो स्थानमा रहेको ओमानले अब खेल्न बाँकी आठवटै खेल हार्नुपर्छ भने सातौँ स्थानमा रहेको क्यानडाले पनि खेल्न बाँकी आठ खेलमा कम्तीमा पाँच खेल हार्नुपर्नेछ । अनि नेपालले खेल्न बाँकी चारवटै खेल जित्नुपर्नेछ । यस्तो गणितीय सम्भावना, जुन पूरा हुन प्राक्टिकलमा असम्भव जस्तै हो ।

३२ खेलमा २४ अंक जोडेर छैटौँ स्थानमा रहेको नेपालभन्दा तल क्यानडा २८ खेलमा समान २४ अंकका साथमा छ । क्यानडाले पनि नेपाललाई उछिनेर अगाडि बढ्ने सम्भावना छ । यसो भएमा नेपाल सातौँ स्थानमा झर्नेछ । लिग–२ मा पाँचौँ र छैटौँ स्थानमा रहने टोलीको एकदिवसीय मान्यता स्वतः जोगिने छ भने सातौँ र आठौँ स्थानमा रहने टोलीको मान्यता जोखिममा पर्नेछ ।

लिग–२ का शीर्ष चार टोलीले सिधै एकदिवसीय विश्वकपको ग्लोबल छनोट खेल्न पाउनेछन् भने बाँकी चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नुपर्नेछ । प्लेअफमा लिग–२ का पुछारमा चारसहित च्यालेन्ज लिगबाट आएका चार टोली प्रतिस्पर्धा गर्नेछन् । उक्त प्लेअफमा शीर्ष चारमा पर्ने टोली एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा प्रवेश गर्नेछन् । यस्तै, च्यालेन्ज लिगबाट आएका टोलीभन्दा माथि फिनिस गर्न सके मात्र लिग–२ का सातौँ र आठौँ स्थानमा रहने टोलीले आफ्नो एकदिवसीय मान्यता जोगाउन सक्छन् । त्यसैले अब नेपाल लिग–२ को शीर्ष ६ मा रहेर एकदिवसीय मान्यता जोगाउनेमा बढी केन्द्रित हुनुपर्नेछ ।

कप्तान रोहित चार हारपछि अंकतालिकामा ठूलो असर पारेको र अबको लक्ष्य एकदिवसीय मान्यता जोगाउने रहेको बताउँछन् । “नेदरल्यान्ड्स शृंखला सोचेअनुसारको हुन सकेन । त्यहाँ कम्तीमा पनि दुई खेल जित्न सकेको भए हामीलाई कम दबाब हुने थियो । अन्तिम शृंखला बाँकी छ, यो शृंखलामा उत्कृष्ट प्रदर्शन गरेर एकदिवसीय मान्यता जोगाउन सक्यौँ भने, त्यो नै नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि हुनेछ,” रोहितले भने । नेपालले अक्टोबरमा ओमान र क्यानडासँग लिग–२ को आफ्नो अन्तिम त्रिकोणात्मक शृंखला खेल्दै छ ।

नेदरल्यान्ड्स भ्रमणले नेपालको कमजोरी स्पष्ट देखाइदिएको छ । विशेषगरी विदेशी भूमिमा नेपालको कमजोर प्रदर्शन निरन्तरता पाउँदा यसपटक पनि कमजोर ब्याटिङ नै त्यसको प्रमुख कारण बन्यो । अब नेपालले लिग–२ को अन्तिम शृंखला पनि विदेशी भूमिमै खेल्नु पर्नेछ । यो शृंखलामा नेपालले विदेशी कन्डिसनमा अझ राम्रो तयारी, सर्ट बलविरुद्धको अभ्यास, सकारात्मक ब्याटिङ मानसिकता, फिल्डिङलाई पुरानै स्तरमा फर्काउनेजस्ता कुरामा विशेष ध्यान दिनुपर्नेछ । रोहित पनि आगामी शृंखलाअघि कमजोरी सुधार गर्नुपर्नेमा जोड दिन्छन् । “विदेशको कन्डिसनले पनि केही गाह्रो बनाएको छ । तर, सधैँ कन्डिसनलाई मात्र दोष दिएर हुँदैछ । अन्तर्राष्ट्रिय खेलाडी भएपछि जस्तोसुकै कन्डिसनमा पनि खेल्न तयार पनि हुनुपर्छ । आउने शृंखलाका लागि त्यसमा काम गर्नुपर्नेछ । सर्ट बल कसरी खेल्ने, मानसिक रूपमा कसरी बलियो हुने विदेशी भूमिमा कसरी अझै राम्रोसँग घुलमिल हुनेजस्ता विषयमा ध्यान दिनुपर्छ,”उनले थपे ।

नेपालले एकदिवसीय मान्यता गुमाए सबैभन्दा ठूलो असर आर्थिक पाटोमा पर्ने देखिन्छ । सन् २०२६ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सातदेखि आठ लाख अमेरिकी डलर प्राप्त गर्नेछ । यसैगरी टोलीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएबापत छुट्टै बोनस रकम पनि पाउने गरेका छन् । यदि नेपालले एकदिवसीय मान्यता जोगाउन नसकेको क

आईसीसीको बजेट घट्दाको प्रत्यक्ष असर राष्ट्रिय टोलीको अभ्यास, अन्तर्राष्ट्रिय सहभागिता, ग्रासरुट प्रोगामजस्ता क्षेत्रमा देखिन्छ । समग्रमा भन्नु पर्दा एकदिवसीय मान्यता जोगाउन नसकेको खण्डमा नेपाली क्रिकेट धराशायी हुनसक्छ । किनकी, क्यानको अधिकांश कार्यक्रम आईसीसीकै बजेटमै निर्भर छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।