काठमाडौं । नेपाली कांग्रेसको इतिहासलाई नियाल्दा एउटा तथ्य स्पष्ट देखिन्छ—यो पार्टीको विकास, विस्तार र नेतृत्वसँग कोइराला परिवारको सम्बन्ध अत्यन्त गहिरो रह्यो ।
कांग्रेसको स्थापना कालदेखि नै कोइराला परिवार पार्टीको वैचारिक, सांगठनिक र राजनीतिक केन्द्रमा रहँदै आयो । बीपी कोइरालाको नेतृत्व, गिरिजाप्रसाद कोइरालाको लामो राजनीतिक प्रभाव र त्यसपछिका पुस्ताको सक्रियताले कांग्रेसभित्र कोइराला विरासतलाई लगभग अविच्छिन्न बनाएको थियो । तर अहिले परिस्थिति फेरिएको छ। पार्टीभित्र बढ्दो आन्तरिक द्वन्द्व, विशेष महाधिवेशनपछि बनेको नयाँ शक्ति सन्तुलन र संस्थापन तथा संस्थापनइतरबीचको टकरावले कांग्रेस विभाजनको संघारमा पुगेको आकलन भइरहेका बेला कोइराला परिवार स्वयं पार्टीको परम्परागत प्रतीक चारतारे झण्डा र रुख चुनाव चिह्नभन्दा बाहिरिन सक्ने अवस्थासमेत सिर्जना भएको छ ।
नेपाली कांग्रेसको आधिकारिक इतिहासमा संस्थापक नेता तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालालाई विशेष स्थान दिइएको छ । तर कोइराला परिवारको कांग्रेससँगको सम्बन्ध बीपीबाट मात्रै सुरु भएको होइन । कांग्रेस स्थापना हुनुअघि रहेको नेपाली राष्ट्रिय कांग्रेसका सभापति मातृकाप्रसाद कोइराला थिए । २००६ सालमा नेपाली कांग्रेस गठन भएपछि पनि पहिलो सभापतिको जिम्मेवारी उनैले सम्हाले । यद्यपि पार्टी स्थापना भएको केही वर्षमै मातृकाप्रसाद र बीपीबीच वैचारिक तथा राजनीतिक मतभेद चर्कियो । त्यसपछि मातृकाप्रसाद कांग्रेसबाट अलग हुँदै राष्ट्रिय प्रजा पार्टी गठन गर्न पुगे। तर नयाँ दलले अपेक्षित राजनीतिक प्रभाव जमाउन सकेन। कांग्रेसको पहिलो सभापति भएर पनि अन्ततः उनले कांग्रेसको झण्डा र चुनाव चिह्नसँग आफ्नो राजनीतिक यात्रा टुंग्याउन पाएनन् ।
मातृकाप्रसादको बहिर्गमनपछि भने कांग्रेसमा बीपी कोइरालाको प्रभाव झन् बलियो बन्यो। सुवर्ण शमशेरको छोटो अवधिको नेतृत्वबाहेक बीपी नै पार्टीको निर्विवाद नेता बने । २०३९ सालमा उनको निधन नहुँदासम्म कांग्रेसको वैचारिक दिशा र नेतृत्व उनकै वरिपरि केन्द्रित रह्यो । बीपीले आफ्नो जीवनकालमै पार्टीको भावी नेतृत्वको खाका तयार गरेका थिए । २०३४ सालमा कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति र भाइ गिरिजाप्रसाद कोइरालालाई महामन्त्री बनाइएको थियो । औपचारिक रूपमा महामन्त्री भए पनि गिरिजाप्रसाद पार्टीभित्र अत्यन्त प्रभावशाली नेताका रूपमा स्थापित भइसकेका थिए ।
२०५३ सालको महाधिवेशनबाट गिरिजाप्रसाद सभापतिमा निर्वाचित भएपछि कांग्रेसमा कोइराला युग थप सुदृढ भयो । त्यसपछिका वर्षहरूमा सुशील कोइरालासहित परिवारका अन्य सदस्य पनि नेतृत्वको केन्द्रमा रहे । २०७२ सालमा सुशील कोइरालाको निधनसम्म कांग्रेसमा कोइराला परिवारको प्रभाव निर्णायक मानिन्थ्यो । त्यसपछि शेरबहादुर देउवा सभापति बने पनि कोइराला परिवार पूर्ण रूपमा नेतृत्वबाट बाहिरिएको थिएन । महामन्त्रीमा डा. शशांक कोइराला थिए भने केन्द्रीय राजनीतिमा डा. शेखर कोइराला र सुजाता कोइराला सक्रिय थिए । त्यसैले देउवा नेतृत्व आएपछि पनि कांग्रेसभित्र कोइराला विरासत समाप्त भएको मानिएको थिएन ।
तर २०८२ सालको विशेष महाधिवेशनपछि पार्टीभित्रको शक्ति सन्तुलनमा ठूलो परिवर्तन आयो । पुस २९ देखि माघ १ गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएपछि कांग्रेसको नेतृत्व नयाँ पुस्तामा पुगेको मात्र होइन, कोइराला परिवारको लामो प्रभाव पनि कमजोर बन्दै गएको विश्लेषण हुन थालेको छ । यसअघि १४औँ महाधिवेशनमा सभापतिका प्रत्याशी बनेका डा. शेखर कोइरालाले उल्लेखनीय मत ल्याएका थिए। तर त्यसबेला पनि उनी परिवारभित्रकै पूर्ण समर्थन जुटाउन सफल भएका थिएनन् । पछिल्ला महिनाहरूमा उनी पुनः सभापतिको दाबेदारका रूपमा सक्रिय थिए । तर विशेष महाधिवेशनले कांग्रेसको राजनीतिक समीकरण नै उल्टाइदियो ।
विशेष महाधिवेशनपछि पार्टीभित्रको विवाद समाधान हुनुको सट्टा झन् गहिरिँदै गयो । संस्थापन र संस्थापनइतरबीच अविश्वास बढ्दै जाँदा अहिले कांग्रेस विभाजनको सम्भावना खुलेर चर्चामा आउन थालेको छ । यही विवादले कोइराला परिवारलाई पनि ऐतिहासिक मोडमा ल्याइपुर्याएको विश्लेषण भइरहेको छ । यसै सन्दर्भमा शनिबार संस्थापनइतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन गरेको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत समितिको घोषणा गरिएको हो । बीपी कोइरालाका कान्छा छोरा शशांकले पत्रकार सम्मेलनमा डा. शेखर कोइरालासँग निरन्तर संवाद भइरहेको र आफूले अघि बढाएको अभियानमा शेखरको समर्थन रहेको दाबी गरे। उनका अनुसार शेखर कार्यक्रममा सहभागी हुने तयारीमा रहे पनि विराटनगरमा रहेका कारण उपस्थित हुन सकेनन् ।
कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशनको मिति सार्वजनिक गरिसकेको अवस्थामा संस्थापनइतर समूहले समानान्तर राष्ट्रिय भेला आयोजना गर्ने तयारी अघि बढाएको छ । यसले पार्टीभित्रको विवाद अब संगठनात्मक संघर्षमा रूपान्तरण हुने संकेत देखिएको छ ।
यदि संस्थापनइतर समूहले आफ्नै कार्यसमिति गठन गर्दै अलग संरचनामा अघि बढ्ने निर्णय गर्यो भने तत्कालका लागि उनीहरूले कांग्रेसको आधिकारिक झण्डा, चुनाव चिह्न र संगठनात्मक मान्यता गुमाउने अवस्था आउन सक्छ । त्यसको प्रत्यक्ष असर कोइराला परिवारमाथि पनि पर्ने देखिन्छ । कांग्रेसको सात दशकभन्दा लामो इतिहासमा पहिलोपटक कोइराला परिवारका प्रमुख नेताहरू कांग्रेसको आधिकारिक संरचनाबाहिर उभिनुपर्ने सम्भावना यसैले बलियो बनेको छ । पार्टीभित्रको अहिलेको संकटको जरो भने जेन–जी आन्दोलनपछि विकसित भएको राजनीतिक घटनाक्रमसँग जोडिएको छ । आन्दोलनका क्रममा तत्कालीन सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजू राणा आक्रमणमा परेपछि उनीहरूलाई नेपाली सेनाले उद्धार गरेको थियो । त्यसपछि देउवाले सक्रिय राजनीतिबाट क्रमशः विश्राम लिने संकेत गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएका थिए ।
देशको राजनीतिक परिस्थिति तीव्र रूपमा बदलिँदै जाँदा नयाँ निर्वाचनको घोषणा भयो । त्यससँगै कांग्रेसभित्र विशेष महाधिवेशनको माग पनि सशक्त रूपमा उठ्न थाल्यो । देशभर महाधिवेशनको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरियो । विशेष महाधिवेशन आवश्यक रहेको पक्ष र नियमित महाधिवेशनमार्फत अघि बढ्नुपर्ने पक्षबीच लामो समयसम्म विवाद चल्यो। देउवा निकटका नेताहरू नियमित महाधिवेशनकै पक्षमा उभिए भने विशेष महाधिवेशन अभियानलाई गगनकुमार थापा र विश्वप्रकाश शर्माले खुला समर्थन गरे ।
कांग्रेस विधानअनुसार आवश्यक संख्यामा महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित निवेदन परेपछि तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । यही व्यवस्थाको आधारमा विशेष महाधिवेशन सम्पन्न भयो र त्यसबाट नयाँ नेतृत्व चयन गरियो । विशेष महाधिवेशन सम्पन्न भएपछि असन्तुष्ट पक्ष कानुनी उपचारका लागि अदालत पुग्यो । निर्वाचनको मिति नजिकिएकाले निर्वाचन आयोगले विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई मान्यता दिने कि नदिने भन्ने विषयलाई चासोका साथ हेरिएको थियो। अन्ततः आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई वैध मानेपछि सर्वोच्च अदालतले पनि त्यसलाई कानुनी मान्यता दियो ।
त्यसपछि कांग्रेस नयाँ नेतृत्वसहित निर्वाचनमा सहभागी भयो । तर चुनावी परिणाम पार्टीका लागि निराशाजनक रह्यो । कांग्रेसले ऐतिहासिक पराजय भोग्यो भने सभापति गगनकुमार थापा स्वयं पनि निर्वाचन हार्न पुगे ।
निर्वाचनको हारसँगै पार्टीभित्रको विवाद फेरि चर्कियो। संस्थापनइतर समूहले पराजयको जिम्मेवारी विशेष महाधिवेशन पक्षधर नेतृत्वमाथि थोपरेको छ । त्यसैसँगै विशेष महाधिवेशनसम्बन्धी कानुनी विवाद पुनरावलोकनका लागि सर्वोच्च अदालतमा निवेदनसमेत दर्ता गरिएको छ । यता संस्थापन पक्षले असोजमा १५औँ महाधिवेशन गर्ने तयारी अघि बढाइरहेको छ। इतर समूहले भने १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई आयोजक समितिमा समावेश गर्नुपर्ने तथा यसअघि नवीकरण भएका क्रियाशील सदस्यको मान्यता कायम राख्नुपर्ने माग राख्दै आएको छ । संस्थापन पक्षले भने नयाँ क्रियाशील सदस्यता अद्यावधिक गरेर मात्रै महाधिवेशन सम्भव हुने अडान दोहोर्याइरहेको छ। दुवै पक्षबीच सहमतिको सम्भावना कमजोर बन्दै जाँदा समानान्तर गतिविधि तीव्र बनेका छन् । चुनदेवीमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयलाई त्यसैको निरन्तरता मानिएको छ ।
यसरी हेर्दा नेपाली कांग्रेस अहिले इतिहासकै सबैभन्दा जटिल आन्तरिक मोडमा उभिएको छ । सात दशकभन्दा बढी समयसम्म पार्टीको नेतृत्व र पहिचानसँग गाँसिएको कोइराला परिवार अहिले आफ्नै राजनीतिक भविष्यबारे नयाँ निर्णय लिनुपर्ने अवस्थामा पुगेको छ । पार्टीभित्र मेलमिलापको सम्भावना कमजोर बन्दै गए र समानान्तर संगठनले औपचारिक रूप लियो भने कांग्रेसको इतिहाससँग अभिन्न रूपमा जोडिएको कोइराला परिवारले पहिलोपटक कांग्रेसको आधिकारिक चारतारे झण्डा र रुख चुनाव चिह्नबाहिर उभिएर आफ्नो राजनीतिक यात्रा अगाडि बढाउनुपर्ने अवस्था सिर्जना हुन सक्ने देखिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































