सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार जना बेपत्ता

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक आज बिहान भएको सवारी दुर्घटनामा एउटा कार सुनकोशी नदीमा खस्दा त्यसमा सवार चार जना बेपत्ता भएका छन् ।

दुर्घटनापछि घटनास्थलमा प्रहरी र उद्धार टोली परिचालन गरिएको भए पनि समाचार तयार पार्दासम्म कार र यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन ।

प्राप्त जानकारीअनुसार बिहान करिब १०ः३० बजे यात्रुवाहक बसले सडक किनारमा रोकिएको कारलाई ठक्कर दिएको थियो । ठक्करको धक्काले कार अनियन्त्रित हुँदै सडकबाट तल सुनकोशी नदीमा खसेको स्थानीयवासीले बताएका छन् ।

दुर्घटनामा परेको कारमा चालकसहित चार जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । कारका चालक तिलकुमार लामा मध्यपहाडी लोकमार्ग निर्माण आयोजनासँग आबद्ध कन्ट्र्याक्टर रहेको खुलेको छ । अन्य यात्रुको परिचय भने अझै सार्वजनिक गरिएको छैन ।

दुर्घटनास्थल रामेछाप, सिन्धुली र ओखलढुंगा जिल्लाको सिमाना नजिक पर्ने नवलपुरघाट क्षेत्रमा रहेको छ । नदीमा कार खसेपछि तत्काल स्थानीयवासी, प्रहरी र सुरक्षाकर्मी उद्धार कार्यमा जुटेका छन्। नदीको तीव्र बहावका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको जनाइएको छ ।

सिन्धुली प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ भने आवश्यक उपकरणसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । दुर्घटनाको कारण, बस चालकको अवस्था तथा कार नदीमा खस्न पुगेको परिस्थितिबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार कार्य सम्पन्न भएपछि मात्रै बेपत्ता व्यक्तिहरूको अवस्था र दुर्घटनाको वास्तविक कारणबारे थप जानकारी सार्वजनिक गरिने जनाएको छ । हाल घटनास्थलमा स्थानीयवासी र सुरक्षाकर्मीको सक्रिय सहभागितामा खोज तथा उद्धार अभियान जारी छ ।