काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले नेपालमा पछिल्लो समय देखिएका धार्मिक तनाव, सामाजिक असहिष्णुता र विभाजनकारी गतिविधिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई शान्ति, धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय मेलमिलापको पक्षमा उभिन आग्रह गरेको छ।
संघले नेपालको बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक पहिचानलाई अक्षुण्ण राख्दै आपसी सम्मान, सहिष्णुता र सहअस्तित्वको संस्कृतिलाई थप बलियो बनाउन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने जनाएको छ । शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमा एनआरएनए टर्कीले नेपाल विविध धर्म, संस्कृति, भाषा र जातजातिको साझा फूलबारी भएकाले यही विविधता देशको मौलिक पहिचान र राष्ट्रिय शक्ति भएको उल्लेख गरेको छ। विविधताको सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्नु हरेक नेपालीको साझा दायित्व भएको संघको भनाइ छ ।
संघले पछिल्ला दिनमा देशका विभिन्न स्थानमा देखिएका धार्मिक तथा सामाजिक तनावका घटनाप्रति चिन्ता व्यक्त गर्दै नागरिक, धार्मिक अगुवा, राजनीतिक दल, सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई संयमता अपनाउन आग्रह गरेको छ। घृणा फैलाउने अभिव्यक्ति, उत्तेजनात्मक गतिविधि र भ्रामक सूचनाले समाजमा अविश्वास, विभाजन र द्वन्द्व बढाउने भएकाले यस्ता कार्यबाट टाढा रहनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । एनआरएनए टर्कीका अध्यक्ष डा. विनोद पौडेलले नेपालको वास्तविक शक्ति विविधताबीचको एकतामा रहेको उल्लेख गर्दै धर्म, संस्कृति र आस्थाका भिन्नताहरू विभाजनको आधार नभई राष्ट्रिय पहिचान र सामाजिक सौहार्दका आधारस्तम्भ भएको बताए। उनले अहिलेको परिस्थितिमा सबै पक्षले संयमता, जिम्मेवारी र सहकार्यको भावना अपनाउनुपर्ने आवश्यकता औँल्याए ।
उनका अनुसार कुनै पनि विवाद वा असहमतिको समाधान हिंसा, घृणा वा उत्तेजनाबाट सम्भव हुँदैन। शान्तिपूर्ण संवाद, लोकतान्त्रिक अभ्यास र आपसी समझदारीबाट मात्रै दिगो समाधान खोज्न सकिने भएकाले सबै पक्षले वार्ता र सहकार्यको बाटो रोज्नुपर्ने उनले बताए । संघले फरक विचार, धर्म र आस्थाप्रति सम्मान प्रकट गर्दै सहअस्तित्वको भावना विकास गर्न सके मात्रै सामाजिक सद्भाव र राष्ट्रिय एकता अझ सुदृढ बन्ने विश्वास व्यक्त गरेको छ । राष्ट्रिय हितभन्दा माथि कुनै पनि व्यक्तिगत वा समूहगत स्वार्थ हुन नसक्ने उल्लेख गर्दै देशको शान्ति, स्थिरता र सामाजिक सद्भाव कायम राख्नु सबैको साझा जिम्मेवारी भएको पनि विज्ञप्तिमा जनाइएको छ ।
विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरूले नेपाललाई शान्तिपूर्ण, समावेशी र सहिष्णु राष्ट्रका रूपमा हेर्न चाहेको उल्लेख गर्दै एनआरएनए टर्कीले देशभित्र बढ्दो असहिष्णुता र विभाजनकारी गतिविधि विदेशमा रहेका नेपालीका लागि पनि चिन्ताको विषय बनेको जनाएको छ । नेपालले विविधतामा एकताको उदाहरण प्रस्तुत गर्दै सामाजिक सद्भावलाई थप मजबुत बनाउनुपर्ने संघको धारणा छ ।
“द्वन्द्वभन्दा संवाद, विभाजनभन्दा एकता, घृणाभन्दा मानवता र हिंसाभन्दा शान्तिको मार्ग रोजौँ” भन्ने सन्देश दिँदै संघले सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावको पक्षमा एकजुट हुन आह्वान गरेको छ । अध्यक्ष डा. विनोद पौडेल र महासचिव मोहम्मद जावेद अन्सारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकार, राजनीतिक दल, धार्मिक समुदाय, नागरिक समाज, सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा आम नागरिक सबैले आफ्नो जिम्मेवारी बोध गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय मेलमिलापको वातावरण सुदृढ बनाउन सकारात्मक भूमिका खेल्नुपर्नेमा विशेष जोड दिइएको छ ।




































