पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य पुनः समायोजन गर्दै पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि देशभर लागूभएको निगमले जनाएको छ ।

नयाँ समायोजनअनुसार पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य पाँच रुपैयाँले वृद्धि गरिएको छ । त्यसैगरी, आन्तरिक हवाई इन्धन प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले बढाइएको छ । यद्यपि, खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले स्पष्ट पारेको छ ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले जुलाई ३१, २०२६ मा पठाएको नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो । नयाँ खरिद मूल्यमा पेट्रोल प्रतिलिटर २० रुपैयाँ १९ पैसा, डिजेल ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धन १९ रुपैयाँ ६ पैसाले महँगो परेपछि आन्तरिक बजारमा पनि मूल्य बढाउनुपरेको निगमको भनाइ छ ।

संशोधित मूल्यसूचीअनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल र डिजेलको खुद्रा मूल्य प्रतिलिटर २०० रुपैयाँ पुगेको छ । सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ कायम गरिएको छ भने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा तोकिएको छ । यसअघि पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल–मट्टितेल १९५ रुपैयाँमा बिक्री हुँदै आएको थियो। पछिल्लो समायोजनपछि पनि अन्तर्राष्ट्रिय बजारमा इन्धनको खरिद मूल्य उच्च रहेकाले निगम आर्थिक दबाबमा रहेको जनाएको छ ।

निगमका अनुसार हालको मूल्य समायोजनपछि पनि पेट्रोलियम पदार्थको बिक्रीबाट प्रत्येक पन्ध्र दिनमा करिब एक अर्ब ४९ करोड रुपैयाँ बराबरको घाटा व्यहोर्नुपर्ने अवस्था रहेको छ । यही कारण अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार समय–समयमा स्वचालित रूपमा मूल्य समायोजन गर्नुपर्ने बाध्यता रहेको निगमले उल्लेख गरेको छ । पछिल्लो मूल्यवृद्धिसँगै यातायात, ढुवानी तथा दैनिक उपभोग्य वस्तुको लागतमा समेत असर पर्न सक्ने अनुमान गरिएको छ । निगमले भने अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्तिअनुसार आगामी दिनमा आवश्यकताअनुसार पुनः मूल्य समायोजन गरिने जनाएको छ ।