मौलिक तीजको स्वाद बोकेको ‘बारुली कम्मर’ गीत सार्वजनिक

काठमाडौं । हरितालिका तीज पर्वलाई लक्षित गर्दै नेपाली मौलिक संस्कृति, परम्परा र तीजको वास्तविक भावनालाई समेटिएको नयाँ तीज गीत ‘बारुली कम्मर’ सार्वजनिक गरिएको छ ।

साथै इन्टरटेनमेन्ट ५५ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले पछिल्लो समय तीज गीतमा देखिएको आधुनिकताको भीडबीच मौलिकपनलाई पुनः स्थापित गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ ।

निर्माण टोलीका अनुसार पछिल्ला वर्षहरूमा तीजका नाममा पाश्चात्य शैली र मनोरञ्जन प्रधान गीतहरूको संख्या बढ्दै गइरहेका बेला नेपाली समाजको संस्कृति, परम्परा र तीजको वास्तविक मर्मलाई संरक्षण गर्ने उद्देश्यले ‘बारुली कम्मर’ तयार गरिएको हो। गीतमा नेपाली महिलाको आस्था, भक्ति, संस्कार र सामाजिक सम्बन्धलाई मौलिक शैलीमा प्रस्तुत गरिएको छ।

गीतका शब्द तथा लय सर्जक तेजा गैरेले सिर्जना गरेकि हुन् भने स्वरमा तेजा गैरे र सचिता गौतमको सुमधुर गायन रहेको छ । मौलिक शब्द, आकर्षक लय र भावपूर्ण प्रस्तुतिले गीतलाई तीज पर्वको विशेष आकर्षण बनाउने विश्वास निर्माण पक्षको छ ।

निर्माण टोलीका अनुसार हरितालिका तीज केवल मनोरञ्जनको पर्व नभई नेपाली महिलाको आस्था, संस्कृति, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावसँग जोडिएको महत्वपूर्ण पर्व हो । यही भावनालाई जीवन्त राख्ने उद्देश्यले गीतमा परम्परागत नेपाली परिवेश, मौलिक संस्कृति र तीजको वास्तविक स्वादलाई प्राथमिकता दिइएको छ ।

सार्वजनिक भएसँगै गीतले युट्युब तथा सामाजिक सञ्जालमार्फत सकारात्मक प्रतिक्रिया प्राप्त गर्ने अपेक्षा गरिएको छ । निर्माण पक्षले सम्पूर्ण नेपाली गीत–संगीतप्रेमीलाई साथी इन्टरटेनमेन्ट ५५ युट्युब च्यानलमार्फत गीत हेर्न, सुन्न, प्रतिक्रिया दिन तथा साझा गरेर नेपाली मौलिक तीज गीतको संरक्षण र प्रवर्द्धनमा साथ दिन आग्रह गरेको छ ।