काठमाडौँ । नेकपा एमालेभित्र निर्वाचन परिणामको समीक्षा र पार्टी संगठनको समग्र अवस्थाबारे तयार गरिएको प्रतिवेदनले पार्टीभित्र नयाँ बहस सुरु गराएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व, पार्टीको संगठनात्मक संरचना र आगामी कार्यदिशाबारे गम्भीर प्रश्न उठाउँदै तयार पारिएको प्रतिवेदनले अहिलेको नेतृत्वलाई पुनर्गठन नगरी पार्टीलाई अगाडि बढाउन कठिन हुने निष्कर्ष निकालेको स्रोतहरूले बताएका छन् ।
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि गठन गरिएको कार्यदलले करिब ५६ पृष्ठ लामो प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा पार्टीको वर्तमान नेतृत्वको वैधानिक अवधि सकिएको निष्कर्ष निकालिएको उल्लेख छ । साथै अहिलेको नेतृत्वलाई निरन्तरता दिनुभन्दा विशेष महाधिवेशनमार्फत नयाँ ढंगले पार्टी पुनर्गठन गर्नुपर्ने सुझाव पनि समेटिएको बताइएको छ ।
प्रतिवेदन अध्यक्ष ओलीसम्म पुगेपछि उनी असन्तुष्ट बनेको एमाले स्रोतको दाबी छ । अध्यक्षसँग भेट गर्न पुगेका केही नेताहरूसँग उनले प्रतिवेदनप्रति असहमति व्यक्त गर्दै विशेष महाधिवेशन र नेतृत्व पुनर्गठनको प्रस्ताव स्वीकार्य नभएको संकेत दिएको बताइएको छ । प्रतिवेदनका कतिपय निष्कर्षहरू आफूलाई लक्षित गरेर तयार गरिएको भन्दै उनले असन्तुष्टि जनाएको स्रोतको भनाइ छ ।
एमालेको ११ औँ महाधिवेशनबाट अध्यक्ष ओली तेस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । उक्त महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय समिति समेत चयन गरिएको थियो । तर त्यसपछि विकसित भएका राजनीतिक घटनाक्रमले पार्टीभित्र नेतृत्वको भूमिकामाथि निरन्तर प्रश्न उठाउँदै आएको देखिन्छ ।
भदौ महिनामा भएको जेनजी आन्दोलनपछि पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किएको थियो आन्दोलनले सरकार र पार्टी दुवैप्रति असन्तुष्टि बढाएपछि केही नेताहरूले अध्यक्ष ओलीको राजीनामा माग गरेका थिए । त्यसबेला नेतृत्व परिवर्तनको मागलाई सम्बोधन नगरी समयभन्दा अगावै महाधिवेशन सम्पन्न गरेर ओली पुनः अध्यक्ष बनेका थिए । त्यसपछि भएको प्रतिनिधिसभा निर्वाचनमा एमालेले अपेक्षाअनुसार परिणाम ल्याउन नसकेपछि नेतृत्वको आलोचना झन् तीव्र बन्यो पार्टीभित्रका नेताहरूले चुनावी पराजयको नैतिक जिम्मेवारी अध्यक्षले लिनुपर्ने धारणा राख्दै नेतृत्व परिवर्तनको माग दोहोर्याएका थिए । तर अध्यक्ष ओलीले राजीनामा दिने संकेत नगरेपछि आन्तरिक विवाद थप बढेको थियो ।
पार्टी सचिवालयभित्र समेत मतभेद तीव्र बनेको बताइन्छ सचिवालयका बहुसंख्यक पदाधिकारीले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाएपछि अध्यक्ष ओली दबाबमा परेका थिए । त्यसपछि उनले जेठ १० गते बसेको सचिवालय बैठकबाट वरिष्ठ उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी कार्यदल गठन गरेका थिए ।
उक्त कार्यदलमा पार्टीका शीर्ष नेताहरूलाई समेटिएको थियो उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल र भानुभक्त ढकालसहित प्रदेश इन्चार्जहरूलाई पनि कार्यदलमा जिम्मेवारी दिइएको थियो । कार्यदलले देशभरका प्रदेश, जनसंगठन, सम्पर्क मञ्च, विभाग, आयोग, सल्लाहकार परिषद् तथा प्रवासमा रहेका संगठनहरूसँग समेत सुझाव संकलन गरेको थियो ।
जेठको अन्तिम सातादेखि सुरु गरिएको सुझाव संकलन अभियान असार २३ गते सम्पन्न भएको थियो । त्यसक्रममा विभिन्न तहबाट प्राप्त सुझावलाई आधार बनाएर छुट्टाछुट्टै प्रतिवेदन तयार गरिएको थियो । ती सबै सामग्रीलाई समेटेर अन्तिम प्रतिवेदन लेख्ने जिम्मेवारी महासचिव शंकर पोखरेललाई दिइएको थियो ।
कार्यदलका संयोजक रामबहादुर थापाले महासचिव पोखरेललाई अन्तिम प्रतिवेदन तयार गर्न जिम्मेवारी दिएको बताइन्छ । त्यसपछि पोखरेलले तयार पारेको प्रतिवेदनको हार्डकपी अध्यक्ष ओली र संयोजक थापालाई बुझाएको स्रोतको भनाइ छ । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले पनि कार्यदलले प्रतिवेदन तयार गरिसकेको जानकारी दिएका छन् । उनका अनुसार प्रतिवेदनमाथि कार्यदलभित्र थप छलफल गरेर त्यसलाई औपचारिक प्रक्रियामार्फत अगाडि बढाइनेछ ।
प्रतिवेदनमा पार्टीको वर्तमान नेतृत्वको कार्यशैलीमाथि गम्भीर टिप्पणी गरिएको बताइएको छ । अध्यक्ष ओलीको नेतृत्वमा शक्ति अत्यधिक केन्द्रित हुँदा संगठन कमजोर बनेको, सामूहिक नेतृत्वको अभ्यास कमजोर भएको र विचारधारात्मक स्पष्टता पनि खस्किएको निष्कर्ष प्रतिवेदनमा समेटिएको स्रोतको दाबी छ ।
प्रतिवेदनले पार्टीको पुनर्जीवनका लागि नेतृत्व, संगठन र विचारधारामा एकसाथ सुधार आवश्यक रहेको औंल्याएको बताइएको छ । त्यसका लागि विशेष महाधिवेशन बोलाएर नयाँ नेतृत्व चयन गर्नुपर्ने र संगठनलाई नयाँ ढंगले पुनर्संरचना गर्नुपर्ने सुझाव राखिएको स्रोतहरूको भनाइ छ । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित निर्णयहरूको समेत प्रतिवेदनमा समीक्षा गरिएको बताइएको छ । निर्वाचन रणनीतिमा कमजोरी भएको, पार्टीका उम्मेदवारहरूले समेत अध्यक्षको नेतृत्वप्रति अपेक्षित उत्साह नदेखाएको र प्रचारप्रसारका क्रममा नेतृत्वलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न नसकिएको विषय उल्लेख गरिएको स्रोतले जनाएको छ ।
पार्टीभित्र विचारधारात्मक कमजोरी बढ्दै गएको र संगठनात्मक आधार क्रमशः कमजोर बन्दै गएको निष्कर्ष पनि प्रतिवेदनमा समेटिएको बताइन्छ विशेष गरी नेकपा माओवादी केन्द्रसँग भएको एकतापछि संगठनात्मक संरचना कमजोर बनेको र त्यसपछि शक्ति एक व्यक्तिमा केन्द्रित हुँदा समस्या झन् गहिरिएको विश्लेषण प्रतिवेदनमा गरिएको स्रोतको दाबी छ । कार्यदलका केही सदस्यले भने प्रतिवेदन तयार गर्ने प्रक्रियाप्रति नै असन्तुष्टि जनाएका छन् । उनीहरूका अनुसार प्रतिवेदन तयार भएपछि कार्यदलको बैठक बोलाएर सामूहिक छलफल गर्नुपर्ने थियो । आवश्यक संशोधन र सुझाव समेटेर मात्रै सचिवालयमा बुझाउने सहमति भए पनि त्यो प्रक्रिया पालना नगरिएको उनीहरूको भनाइ छ ।
एक सदस्यका अनुसार महासचिवले प्रतिवेदन तयार गरेपछि कार्यदलमा छलफल नगरी सिधै अध्यक्ष र संयोजकलाई प्रतिवेदन बुझाएका कारण सदस्यहरू असन्तुष्ट बनेका छन् । यसले कार्यदलको सामूहिक निर्णय प्रक्रियामाथि नै प्रश्न उठाएको उनीहरूको तर्क छ । कार्यदलका सदस्य तथा पार्टी सचिव छविलाल विश्वकर्माले पनि प्रतिवेदन मस्यौदा तयार गर्ने जिम्मेवारी महासचिवलाई दिइएको पुष्टि गरेका छन् । तर त्यसपछि कसरी प्रतिवेदन बुझाइयो भन्ने विषयमा आफूलाई जानकारी नभएको उनले बताएका छन् ।
अर्की सदस्य तथा पार्टी सचिव पद्मा अर्यालले पनि कार्यदलको बैठक नै नबसेको अवस्थामा प्रतिवेदन बुझाइएको विषयबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएकी छन् उनका अनुसार विभिन्न तहबाट पार्टी सुधार, नेतृत्वको व्यवहार सच्याउनुपर्ने र संगठनलाई प्रभावकारी बनाउनुपर्ने खालका धेरै सुझाव आएका छन् ती सुझाव सकारात्मक रहेको उनको भनाइ छ ।
यता अध्यक्ष ओलीको सचिवालयले भने प्रतिवेदन औपचारिक रूपमा अध्यक्षलाई बुझाइएको जानकारी आफूहरूसँग नरहेको जनाएको छ । सचिवालयका अनुसार प्रतिवेदन कार्यदल संयोजकमार्फत अघि बढ्नुपर्ने भएकाले त्यसको औपचारिक प्रक्रिया अझै स्पष्ट भइसकेको छैन । यसबीच प्रतिवेदनले एमालेभित्र नेतृत्व परिवर्तन, विशेष महाधिवेशन र संगठनात्मक पुनर्संरचनाबारे नयाँ बहस सुरु गराएको छ प्रतिवेदनमाथि कार्यदल, सचिवालय र केन्द्रीय समितिमा हुने आगामी छलफलले पार्टीको भावी दिशा तय गर्ने भएकाले त्यसतर्फ सबैको ध्यान केन्द्रित भएको देखिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































