काठमाडौं । बजारमा एलपी ग्यासको अभाव देखिएपछि सरकारको कार्यसम्पादनमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन शाहले भने सरकारी उद्योग तथा संस्थान सुधारको दिशामा अघि बढिरहेको दाबी गरेका छन्।
प्रतिनिधिसभामा सरकारको कामकारबाही तथा बजारमा देखिएको ग्यास अभावबारे सांसदहरूले प्रश्न उठाएपछि प्रधानमन्त्री शाहले शुक्रबार बिहान लामो फेसबुक स्टाटसमार्फत सरकारले बन्द तथा घाटामा रहेका राष्ट्रिय उद्योग र संस्थानलाई पुनः सञ्चालन तथा प्रतिस्पर्धी बनाउने प्रयास गरिरहेको बताएका हुन्।
सत्तारूढ दलकै सांसदहरूले समेत बजारमा देखिएको समस्या र सरकारको कार्यसम्पादनबारे प्रश्न उठाइरहेका बेला प्रधानमन्त्री शाहले आफ्नो सरकारले राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त बनाउने कामलाई प्राथमिकता दिएको दाबी गरे।
‘वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योग के फेरि तङ्ग्रेर आफ्नै गोडामा उभिएलान् ?’ भन्ने चिन्ता स्वाभाविक रहेको उल्लेख गर्दै उनले नियत सफा राखेर जिम्मेवारीप्रति इमान्दार हुने हो भने चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खोल्न सकिने बताएका छन्।
प्रधानमन्त्रीका अनुसार सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने विषयमा सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राख्दै आएको छ। त्यसको परिणामस्वरूप केही संस्थानमा आशालाग्दा सुधार देखिन थालेको उनको दाबी छ।प्रधानमन्त्री शाहले लामो समयदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेड पछिल्लो समय नाफातर्फ गएको दाबी गरेका छन्।
उनका अनुसार पछिल्लो चार महिनामा लिमिटेडले २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा वृद्धि भएको र गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा आर्जन गरेको उनको भनाइ छ।
चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य राखिएको उनले बताएका छन्। त्यस्तै, आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य रहेको उल्लेख गर्दै यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारको उत्पादन तयारी अन्तिम चरणमा पुगेको र हाल ११ प्रकारका औषधि उत्पादन भइरहेको जानकारी दिएका छन्।
लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादन सुरु गरिएको प्रधानमन्त्री शाहले बताएका छन्। तान (लुम) मर्मतपछि नेपाली सेनाको जिम्मेवारीमा परीक्षण उत्पादन सुरु भएको र केही मात्रामा कपडा उत्पादनसमेत हुन थालेको उनको भनाइ छ। परीक्षण उत्पादनको परिणामका आधारमा उद्योग नेपाल सरकारले नै सञ्चालन गर्ने योजना रहेको उनले बताएका छन्।
प्रधानमन्त्रीले नेपाल वायुसेवा निगमको आर्थिक अवस्थामा समेत सुधार आएको दाबी गरेका छन्। उनका अनुसार गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको थियो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो। उक्त अवधिमा निगमको सीट उपयोगिता ८६ प्रतिशत पुगेको र अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले वृद्धि भएको प्रधानमन्त्रीको दाबी छ।
यस्तै, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका लागि लिइएको ऋणबापत सोही अवधिमा १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता भुक्तानी गरिएको उनले बताएका छन्। दुग्ध विकास संस्थान (डीडीसी)मा किसानको रोकिएको भुक्तानीलाई प्राथमिकता दिइएको प्रधानमन्त्री शाहले बताएका छन्।
उनका अनुसार किसानलाई भुक्तानी गर्ने चक्र ८ महिनाबाट घटाएर २ देखि ३ महिनामा झारिएको छ। यसअघि ७२ करोड रुपैयाँसम्म पुगेको भुक्तानी दायित्व अहिले ३५ करोड रुपैयाँमा झरेको उनको दाबी छ।
किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको र सुधारका प्रयास सुरु भएपछि डीडीसीको दैनिक बिक्री ३५ प्रतिशतले बढेको उनले बताएका छन्। दैनिक औसत ६० लाख रुपैयाँ रहेको राजस्व संकलन अहिले ९० लाख रुपैयाँ पुगेको उनको भनाइ छ।
कानुनविपरीत विगतदेखि कर्मचारीलाई दिइँदै आएको घ्यू र दूधको सुविधा कटौती गरी वार्षिक करिब ३ करोड रुपैयाँ बचत गरिएको पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन्। डीडीसीले खाडी मुलुकमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको तथा नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्ने तयारी भइरहेको उनले बताएका छन्। सिंहदरबार वैद्यखाना विकास समितिको कारोबारमा पनि उल्लेख्य सुधार आएको प्रधानमन्त्री शाहको दाबी छ।
उनका अनुसार सरकार गठनपछि वैद्यखानाबाट ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरिएको छ। गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब १३ करोड रुपैयाँ पुगेको र यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी भएको उनले बताएका छन्।
हाल वैद्यखानाले १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरिरहेको छ। चालु आर्थिक वर्षमा त्यसलाई बढाएर १५० प्रकार पुर्याउने लक्ष्य राखिएको छ। त्यस्तै, निःशुल्क वितरण हुने ३५ प्रकारका औषधिको उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा वैद्यखाना अघि बढिरहेको प्रधानमन्त्रीले बताएका छन्। चालु आर्थिक वर्षमै पाउडर तथा ट्याब्लेट औषधि उत्पादनमा जीएमपी मापदण्ड हासिल गर्ने तथा जडीबुटी र औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य रहेको उनको भनाइ छ।
प्रधानमन्त्री शाहले सरकारी उद्योग तथा संस्थानमा सुधारका प्रयासबारे विस्तृत विवरण सार्वजनिक गरे पनि पछिल्लो समय बजारमा देखिएको एलपी ग्यासको अभावबारे भने आफ्नो वक्तव्यमा स्पष्ट जवाफ दिएका छैनन्।
खाना पकाउने ग्यासका लागि उपभोक्ताले कठिनाइ भोगिरहेका बेला सांसदहरूले समेत यस विषयमा सरकारसँग जवाफ मागेका थिए। तर प्रधानमन्त्रीले ग्यास अभावको कारण, आपूर्ति सहज बनाउने योजना वा समस्या समाधानको समयसीमाबारे स्पष्ट उल्लेख नगरी सरकारले गरेका सुधारका कामलाई नै आफ्नो जवाफका रूपमा प्रस्तुत गरेका छन्।
यसअघि शुक्रबार मध्यराति पनि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत छोटो स्टाटस लेख्दै ‘ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्’ भन्दै सरकारको कामप्रति धैर्य गर्न आग्रह गरेका थिए।




































