बालेनको छटपटी

काठमाडौं‍ । प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार राति सामाजिक सञ्जालमा स्टाटस लेखे । त्यसलगत्तै शनिबार बिहानै उनले फेरि सरकारका कामकारबाहीबारे अर्को लामो विवरण सार्वजनिक गरे ।

प्रधानमन्त्री शाहले लगातार सामाजिक सञ्जालमार्फत सरकारका उपलब्धि, कामको गति र आफूले गरिरहेका प्रयासबारे स्पष्टीकरण दिन थालेपछि उनको राजनीतिक शैलीमाथि नयाँ बहस सुरु भएको छ । प्रधानमन्त्री शाहले शुक्रबार, विशेषगरी रातिको समयमा सामाजिक सञ्जालमा स्टाटस लेख्ने गरेको आम बुझाइ छ ।

तर शुक्रबार रातिमा मात्रै सीमित नभइ शनिबार बिहानै पनि उनले सरकारका कामकारबाहीबारे विस्तृत विवरण सार्वजनिक गरे। उनले सार्वजनिक संस्थान सुधारदेखि सुशासन र सरकारका विभिन्न निर्णय तथा कामको प्रगतिसम्मका विषय समेटेर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री शाहले उठाएका विषय र प्रस्तुत गरेका तथ्यांकमाथि प्रश्न उठ्न सक्ने ठाउँ भए पनि उनको पछिल्लो गतिविधिको मुख्य राजनीतिक सन्देश भने अर्कै देखिन्छ । शक्तिशाली जनमतसहित सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री शाह अहिले आफ्नै सरकारको कामकारबाहीबारे उठेका प्रश्नको जवाफ दिन रक्षात्मक अवस्थामा पुगेका देखिन्छन् ।

शाहको यो शैली नयाँ भने होइन । काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा पनि सार्वजनिक रूपमा प्रश्न उठेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्ना काम र महानगरका गतिविधिबारे विस्तृत जानकारी दिने गरेका थिए । आलोचना र प्रश्न बढ्दै जाँदा सामाजिक सञ्जालमार्फत आफ्नो कामको गति र उपलब्धि सार्वजनिक गर्ने उनको शैली त्यतिबेलादेखि नै देखिँदै आएको हो । गएको भदौ २३ र २४ गतेको घटनाका क्रममा महत्वपूर्ण सरकारी संरचनामा आगजनी हुँदा काठमाडौं महानगरपालिकाको दमकल समयमा नपुगेको लगायतका विषयमा प्रश्न उठेका थिए । त्यसपछि पनि शाहले महानगरका गतिविधि, आफूले गरेका काम र सेवाप्रवाहबारे सामाजिक सञ्जालमार्फत श्रृंखलाबद्ध रूपमा जानकारी गराएका थिए ।

अहिले परिस्थिति फरक छ । शाह काठमाडौं महानगरका प्रमुख होइनन्, मुलुकको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री हुन्। १८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताका रूपमा उनी सरकारको नेतृत्व गरिरहेका छन् । त्यसैले उनका हरेक अभिव्यक्ति र सरकारका हरेक निर्णयको राजनीतिक तथा संस्थागत अर्थ पनि त्यहीअनुसार फराकिलो हुन्छ । पछिल्लो समय सरकारको कामकारबाहीलाई लिएर प्रश्न उठाउनेहरू विपक्षी दलमा मात्रै सीमित छैनन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकै प्रभावशाली सांसदहरूले समेत सरकारको कामको गति, प्राथमिकता र कार्यसम्पादनबारे प्रश्न उठाउन थालेका छन् । यही पृष्ठभूमिमा शुक्रबार राति प्रधानमन्त्री शाहले गुनासो र भावनात्मक अभिव्यक्तिसहितको स्टाटस लेखे ।

त्यसको भोलिपल्ट बिहान भने उनको प्रस्तुतिको शैली फेरियो । भावनात्मक अभिव्यक्तिपछि उनले सरकारका कामको तथ्य र विवरण प्रस्तुत गर्न थाले। सार्वजनिक संस्थान सुधार, सुशासन, सरकारी सेवा प्रवाहलगायतका विषयमा सरकारले गरेका कामको लामो सूची नै उनले सामाजिक सञ्जालमा सार्वजनिक गरे । यसले एउटा प्रश्न भने खडा गरेको छ– शक्तिशाली जनमतसहित सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेन शाह किन आफ्नो कामको हिसाब सामाजिक सञ्जालबाटै बारम्बार सार्वजनिक रूपमा दिनुपर्ने अवस्थामा पुगे ? शाहका समर्थकहरूले यसलाई पारदर्शिता र जनतासँग प्रत्यक्ष संवादका रूपमा व्याख्या गर्न सक्छन्। तर आलोचकका लागि भने यो सरकारमाथि बढ्दै गएको प्रश्न र दबाबको रक्षात्मक जवाफ हुन सक्छ। राजनीतिकरूपमा शक्तिशाली देखिने प्रधानमन्त्री आफैले सरकारको कामको बचाउ गर्न सामाजिक सञ्जालमा लामो विवरण सार्वजनिक गर्नुपर्ने अवस्था आउनु आफैमा चासोको विषय बनेको छ ।

शाहको राजनीतिक शैलीको एउटा विशेषता भनेकै परम्परागत राजनीतिक संयन्त्रभन्दा सामाजिक सञ्जाललाई बढी प्रभावकारी रूपमा प्रयोग गर्नु हो । काठमाडौं महानगरमा रहँदा पनि उनले यही माध्यमबाट आफ्ना कामको प्रचार र आलोचनाको जवाफ दिने गरेका थिए। प्रधानमन्त्री बनेपछि पनि त्यो शैलीमा खासै परिवर्तन आएको देखिँदैन । फरक यति हो, महानगरमा हुँदा उनको सामाजिक सञ्जालका स्टाटस एउटा स्थानीय सरकारका प्रमुखको जवाफ हुन्थे। अहिले त्यही स्टाटस मुलुकको कार्यकारी प्रमुखको राजनीतिक जवाफ बनेका छन् ।

अहिले प्रश्न प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा कति स्टाटस लेखे भन्ने मात्र होइन । प्रश्न के हो भने शक्तिशाली भनिएको सरकार किन आफ्नो कामको बचाउ गर्न निरन्तर सार्वजनिक रूपमा विवरण र स्पष्टीकरण दिनुपर्ने अवस्थामा पुगेको छ? आगामी दिनमा सरकारको कार्यसम्पादनले नै यसको जवाफ दिनेछ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।