साना दलले बनाए अग्रगामी मोर्चा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राज्यका शक्तिहरू एकै ठाउँमा केन्द्रित हुँदा मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौँमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालन पद्धतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।

अध्यक्ष यादवले संवैधानिक निकाय र मन्त्रालयहरू स्वतन्त्र रूपमा काम गर्न नसकी निष्प्रभावी भएको दाबी गरे । विगतका जनआन्दोलन, मधेस जनविद्रोह तथा आदिवासी जनजाति र थारुलगायतका आन्दोलनबाट प्राप्त सङ्घीयता, समावेशिता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताजस्ता उपलब्धिहरूमाथि राज्यकै तर्फबाट प्रहार भइरहेको उनको आरोप छ। ती उपलब्धिहरूको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि नै मोर्चा निर्माण गरिएको उनले प्रस्ट पारे ।

संविधान निर्माण प्रक्रियामाथि प्रश्न उठाउँदै पूर्वउपप्रधानमन्त्री यादवले विगतमा संविधानसभाबाट संविधान जारी नभई केही दलहरूले ‘संविधानको किताब’ मात्र पारित गराएको टिप्पणी गरे । हाल मुलुक संविधानभन्दा बाहिरबाट चलिरहेको जिकिर गर्दै उनले संविधान संशोधनमार्फत विभेद र असमानता अन्त्य गर्नुपर्नेमा जोड दिए । मुलुकमा सुशासनको अभाव, बढ्दो भ्रष्टाचार, कमजोर शान्तिसुरक्षा र जर्जर आर्थिक अवस्थाप्रति सङ्केत गर्दै उनले वैदेशिक ऋणको भारले अर्थतन्त्र थप सङ्कटमा परेको बताए ।

उनले भने, ‘निर्णय प्रक्रिया र शक्तिको केन्द्रीकरण एकै ठाउँमा हुनु सर्वसत्तावादको परिचायक हो । यस्तो प्रवृत्तिले अन्ततः अधिनायकवादलाई जन्म दिन्छ र लोकतान्त्रिक मूल्यमान्यतालाई समाप्त पार्छ । हामीले मेची–महाकाली सङ्घर्षमार्फत विभेदकारी प्रावधानहरू नराख्न र संविधानलाई समावेशी एवं न्यायपूर्ण बनाउन माग गरेका थियौँ। तर राज्यले दमन र हत्या गरेर जबर्जस्ती संविधान घोषणा गर्‍यो ।’ मुलुक राजनीतिक अन्योल र अनिश्चिततातर्फ गइरहेको भन्दै यसलाई रोकेर सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिको दिशामा अग्रगामी निकास दिन साझा प्रयासस्वरूप यो मोर्चा निर्माण भएको उनले प्रस्ट पारे ।

उनले यो मोर्चा कसैको सत्ता पल्टाउनका लागि मात्र नभई मुलुकमा सामाजिक न्याय, सुरक्षा र अग्रगामी परिवर्तन सुनिश्चित गर्नका लागि क्रियाशील रहने स्पष्ट पारे। सरकारमा रहेकाहरू मोर्चाको गठनबाट त्रसित हुनु नपर्ने भन्दै उनले स्पष्ट लक्ष्यका साथ आफूहरू अघि बढेको बताए । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकलाई विद्यमान अन्त्यहीन सङ्कटबाट निकास दिन नयाँ राजनीतिक मोर्चाको आवश्यकता रहेको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था दयनीय बन्दै गएकाले अग्रगामी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए । ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनले व्यवस्था बदले पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको उनले टिप्पणी गरे ।

वर्तमान राजनीतिमा धोका, बेइमानी र अनैतिकता हाबी भएको भन्दै यसलाई तोड्न जरुरी रहेको साहले उल्लेख गरे । नवनिर्मित मोर्चाको उद्देश्य सत्ता प्राप्ति वा पदको भागबन्डा नभई देशलाई समृद्धिको दिशामा लैजानु रहेको उनले प्रस्ट पारे। साहका अनुसार यो मोर्चा हिमाल, पहाड र मधेसको साझा प्लेटफर्मका रूपमा रहनेछ। नेपालमा राजनीतिक स्थायित्व नहुने र गठबन्धनहरू छिट्टै टुट्ने प्रवृत्तिको अन्त्य गर्दै यो मोर्चालाई दीर्घकालीन रूपमा अगाडि बढाउने सङ्कल्प उनले गरे । मुलुकको आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष साहले किसान, व्यापारी र उद्योगीहरू निराश रहेको र युवाशक्ति विदेश पलायन भइरहेको बताए । सरकार र सत्ता फेरिए पनि काम गर्ने संस्कार र प्रवृत्ति नफेरिएको भन्दै वर्तमान सरकारले जनतालाई ढाँटेको आरोपसमेत उनले लगाए ।

उनले भने, ‘देश निरन्तर सङ्कटको यात्रामा छ। ४६ सालको आन्दोलन, जनयुद्ध र मधेस आन्दोलनका माध्यमबाट ठूलो बलिदानी त भयो । तर जनताले अपेक्षा गरेको सुखद दिन अझै आउन सकेको छैन ।’ चुनावअघि सुशासन र सेवा प्रवाहका ठूला कुरा गर्नेहरू अहिले सत्तामा पुगेपछि नागरिकलाई लाइनमा बस्न बाध्य पारिरहेको साहले बताए । ‘हाम्रो यो मोर्चा कुनै मन्त्रालय वा शक्ति बाँडफाँडका लागि बनेको होइन,’ उनले भने, ‘यो त मुलुकलाई फेक शासनबाट मुक्त गरी असल शासनतर्फ लैजान, स्वाधीन नेपाल बनाउन र वास्तविक लोकतन्त्रको रक्षाका लागि निर्माण गरिएको हो ।’

विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा साहले निराश जनतामा उत्साह जगाउन र देशको अस्तित्व रक्षाका लागि सबैलाई एकजुट हुन आह्वानसमेत गरे । यो मोर्चा विभाजनको चक्रबाट मुक्त रहने र नेपाली राजनीतिको विकृति अन्त्य गर्ने ऐतिहासिक अभिभारा पूरा गर्ने विश्वास उनले व्यक्त गरे । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जनताको चाहनाअनुसार अग्रगामी मोर्चा गठन भएको बताएका छन् । अध्यक्ष राउतले देश सङ्कटमा परेका बेला यो कदम चालिएको स्पष्ट पारेका हुन् ।

जब–जब देशमा सङ्कट आएको छ, तब–तब शक्तिहरू एकीकृत भएको स्मरण गराउँदै उनले २००७ सालअघि वा पछि पनि यसरी नै सङ्गठित भएर अगाडि बढेको उल्लेख गरे। विगतमा आफूहरूबाट भएका गल्तीहरू सुधारेर अगाडि बढ्ने प्रतिबद्धतासहित मोर्चा गठन गरिएको उनले बताए । मोर्चाको उद्देश्यबारे प्रष्ट पार्दै राउतले भने, ‘मोर्चा सङ्घर्षका लागि बनेको हो, सत्ताका लागि होइन । अधिकारका लागि यो मोर्चा गठन भएको हो, यसले जनताको अभिभावक भएर काम गर्नेछ ।’

प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले नेपाली राजनीतिमा प्राप्त सङ्घीयता, गणतन्त्र र समावेशिताजस्ता उपलब्धिको रक्षाका लागि ‘अग्रगामी मोर्चा’ले सशक्त भूमिका खेल्ने उद्घोष गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष परियारले वर्तमान सरकार जनभावनाविपरीत र विचारविहीन भएको टिप्पणी गरे । युवाहरूको सपना र आदर्शलाई दक्षिणपन्थी शक्तिहरूले दुरुपयोग गरिरहेको आरोप लगाउँदै ती सपना साकार पार्न नै मोर्चा गठन गरिएको उनले स्पष्ट पारे ।
सरकारलाई ‘जनताको सेवक’का रूपमा परिभाषित गर्दै उनले सरकारलाई ‘अभिभावक’ मान्ने परम्परा अन्त्य हुनुपर्नेमा जोड दिए । मधेस र पहाडको सम्बन्धका बारेमा चर्चा गर्दै परियारले दुई क्षेत्रबीच केवल सद्भाव मात्र नभई ‘समभाव’को आवश्यकता रहेको औँल्याए । गरिब, सुकुम्बासी, मजदुर र उत्पीडित वर्गको पक्षमा मोर्चाले सडक र सदन दुवै ठाउँबाट आवाज उठाउने प्रतिबद्धता उनले व्यक्त गरे ।

कार्यक्रममा उनले नयाँ भनिएका राजनीतिक शक्तिहरूले इतिहासको अवमूल्यन गरिरहेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे । समाज विकासको क्रममा हरेक पुस्ताको योगदान महत्त्वपूर्ण हुने भन्दै उनले उपेन्द्र यादव, जनार्दन शर्मा, प्रभु साह र रेशम चौधरीलगायतका नेताहरूले गरेको सङ्घर्षलाई कसैले नजरअन्दाज गर्न नमिल्ने बताए । अध्यक्ष परियारले भने, ‘२००७ सालदेखिको निरन्तर सङ्घर्ष, मधेस आन्दोलन र जनयुद्धबाट प्राप्त नागरिक सर्वोच्चता, सङ्घीयता र सामाजिक न्यायको पक्षमा यो मोर्चा सधैँ उभिनेछ ।’ सङ्ख्याको बलमा रहेको वर्तमान सरकारले यी उपलब्धिहरूमाथि आक्रमण गर्न खोजेमा मोर्चाले त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी उनले दिए । ‘सरकार नेपाली जनताको सेवक हो, अभिभावक होइन। आवधिक निर्वाचनबाट आएको ५ वर्षे सरकारले राज्यका स्थापित ऐतिहासिक संस्थाहरू र विधिभन्दा बाहिर गएर काम गर्न पाउँदैन,’ उनले भने, ‘जुन दिन जनताको धैर्य टुट्छ र उनीहरू जाग्छन्, त्यो दिन बालुवाटार र सिंहदरबार धेरै टाढा हुनेछैनन् ।’

अध्यक्ष परियारले वर्तमान संविधान पूर्ण नभए पनि यो तुलनात्मक रूपमा उत्पीडित समुदायको पक्षमा रहेको उल्लेख गर्दै यसको रक्षाका लागि जनता सचेत हुनुपर्ने बताए। अग्रगामी मोर्चाले आगामी दिनमा समाजवाद, सुशासन र सामाजिक रूपान्तरणका लागि निरन्तर सङ्घर्ष जारी राख्ने सङ्कल्प गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति सहज बाटोबाट अघि बढ्ने विषय नभएको बताएका छन् । कार्यक्रममा बोल्दै उनले सत्ता र नेतृत्वमा पुग्नका लागि राजनीतिमा अनेक गतिविधि हुने गरेको बताए । राजनीतिलाई ‘डर्टी गेम’को संज्ञा दिँदै उनले सत्ताप्राप्तिका लागि अष्टावक्रझैँ ‘टेढामेढा बाटो’ पार गर्नुपर्ने बताए ।

उनले भने, ‘राजनीतिमा जो कोही पनि सधैँ सहज र सरल बाटोबाट अगाडि बढ्न सक्दैन। राजनीति आफैँमा एउटा डर्टी गेम हो।’ यसमा अष्टावक्रझैँ टेढामेढा बाटाहरू पार गर्दै अनेकौँ चुनौती र कठिनाइको सामना गर्दै सत्ता र नेतृत्वसम्म पुग्नुपर्ने अवस्था आउने उनले बताए । राजनीतिमा टिकिरहन र अगाडि बढ्न सहज बाटो मात्रै पर्याप्त नहुने धारणा उनले राखे । नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले निर्वाचनअघि गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाएका छन् । कार्यक्रममा बोल्दै उनले निर्वाचनअघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका युवालाई स्वदेश फर्काउने, सुशासन कायम गर्ने र देशलाई नयाँ ढङ्गले सञ्चालन गर्ने दाबी गरे पनि व्यवहारमा त्यसको उल्टो अवस्था देखिएको बताए ।

सरकारले नागरिकमाथि करको भार थोपरेको आरोप पनि उनले लगाए। सरकारले सबै कुरामा कर थोपरेर नागरिक सर्वोच्चताको कुरा गर्ने गरेको उनको भनाइ छ। चौधरीले कर तिर्ने नागरिकमाथि करको भार थोपर्नुभन्दा करको दायित्व पूरा नगर्ने पक्षलाई करको दायरामा ल्याउन सुझाव दिए । सरकारप्रति कोही सन्तुष्ट बन्न नसकेको भन्दै गाउँका किसान धान न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनले दाबी गरे। उनका अनुसार चैते धान किसानले प्रतिक्विन्टल २ हजार ५ सय रुपैयाँमा बिक्री गरे पनि बिचौलियाले त्यही धान महँगो मूल्यमा उपभोक्तालाई बिक्री गरिरहेको छ ।

आफूहरू सरकारको विरोधका लागि मात्रै मोर्चाबन्दीमा नलागेको बताउँदै देश निर्माणमा सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको उनको भनाइ छ । उनले भने, ‘राजनीतिमा छलछाम हुन्छ, छलैछल हुन्छ। तीन महिना पहिले चुनावभन्दा अगाडि हामीले धेरै भाषण सुन्यौँ । विदेशमा काम गर्ने युवाहरूलाई भित्र्याउँछौँ भने, अहिले ती साथीहरू बाहिरै जाँदैछन् ।’ देशमा सुशासन हुन्छ, अनलाइनबाट चल्छ भने पनि अहिले देश ग्यासको लाइनबाट चल्ने भएको चौधरीले बताए । ‘महँगी भयो, भ्रष्टाचार भयो भन्थे । आज पढ्ने विद्यालयमा छोरीको फिस तिर्दा ट्याक्स तिर्नुपरेको छ। आमालाई ज्वरो आउँदा अस्पताल लाँदा खाइदिने एउटा सिटामोलबापत ट्याक्स तिर्नुपरेको छ,’ उनले भने, ‘अरे वाह ! कस्तो सरकारको रजगजमा छौँ हामी। सबै कुरामा कर थोपरेर नागरिक सर्वोच्चताको कुरा गर्छौँ ।’

यो छल र कपट भएको भन्दै उनले कर तिर्नेले तिरे कि तिरेनन् भनेर सरकारले हेर्नुपर्ने बताए । ‘म अहिले गाउँतिर बस्छु, किसानको जीवनयापन गरेको छु । चैते धान असारमा बेच्दा किसानहरूले २५०० रुपैयाँ क्विन्टलमा बेचे। त्यही धान महाजनले किनेर पारिबाट बिलबिजक ल्याउँछ, सरकारलाई अलिअलि कर बुझाउँछ र नेपाली नागरिकलाई १७ हजारमा बेच्छ, वाह!’ उनले भने । देशलाई बनाउनका निम्ति आफूहरू पनि सहयोगी हुने भन्दै उनले आफूहरू बाधक नभएको बताए । ‘हामी जिन्दावाद र मुर्दावादको नारा लगाएर सडक घेर्न गएका छैनौँ। हामी धर्ना बस्न गएका छैनौँ । हामीले आजको मोर्चाको यस मञ्चबाट केवल आफ्ना केही कुराहरू फुसफुसाएका मात्रै हौँ,’ उनले भने ।

सरकारलाई आफ्ना कुरा सुनिदिन आग्रह गर्दै उनले कुरा नसुन्दा आवाजहरू विस्तारै ठूलो स्वरमा र पछि चिच्याहटमा परिणत हुने चेतावनी दिए । त्यो चिच्याहटलाई पनि सुनिएन भने जिन्दावाद र मुर्दावादको नारामा परिणत हुने र त्यसपछि मात्र प्राप्ति हुने उनले बताए। सरकारले आफूहरूको आवाजलाई बेवास्ता गर्दै गएमा आन्दोलनको स्वरूप परिवर्तन हुन सक्ने चेतावनी उनले दिए । नागरिकको आवाज बेवास्ता नगर्न सरकारलाई आग्रह गर्दै उनले माग र सुझावलाई समयमै सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले देश इतिहासकै सङ्कटपूर्ण अवस्थामा पुगेकाले साझा अभियानका रूपमा अग्रगामी मोर्चा गठन गरिएको बताए । अग्रगामी मोर्चाको अवधारणापत्र सार्वजनिक गर्दै शर्माले लोकतान्त्रिक समाजलाई आत्मसात् गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न मोर्चा बनाइएको प्रस्ट पारे । विगतका त्रुटिहरूलाई सुधारेर जनताप्रति उत्तरदायी बन्ने प्रतिबद्धता जनाउँदै शर्माले सामाजिक, सांस्कृतिक र आर्थिक विकासका लागि यो मोर्चा गतिशील रहने उल्लेख गरे। समाजमा विद्यमान सबै प्रकारका भेदभाव र छुवाछूत अन्त्य गर्दै सामाजिक न्याय कायम गर्ने लक्ष्य मोर्चाले लिएको उनले बताए ।

मोर्चाले स्थानीय तहलाई प्रदेशमातहत ल्याउनका लागि सङ्घर्ष गर्ने रणनीति बनाएको छ। बहिष्करणमा पारिएका समुदायले अझै पनि समानताको अधिकार प्रयोग गर्न नपाएको औँल्याउँदै शर्माले संविधान संशोधन तथा पुनर्लेखन गर्नुपर्ने आवश्यकता रहेको बताए । युवाहरूको बेरोजगारी समस्या समाधान गर्न सीपमूलक युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने र कल्याणकारी राज्य निर्माणका लागि शिक्षा तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने प्रतिबद्धता मोर्चाले जनाएको छ। त्यसैगरी वास्तविक र नक्कली सुकुम्बासीको पहिचान गरी उनीहरूका समस्या स्थायी रूपमा समाधान गर्न अग्रगामी मोर्चाले पहल गर्ने शर्माले बताए ।

मोर्चाको साङ्गठनिक संरचना जिल्ला र प्रदेश तहसम्म विस्तार गरिने तथा आवश्यकताअनुसार भातृसङ्गठनहरू समेत गठन गरिने अवधारणापत्रमा उल्लेख छ । मोर्चामा सामूहिक निर्णय प्रणाली अपनाइने र सर्वसम्मत निर्णय हुन नसकेमा लोकतान्त्रिक प्रक्रियामार्फत निर्णय लिइने शर्माले जानकारी दिए । नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले संविधानलाई पूर्णता दिनका लागि अग्रगामी मोर्चा गठन गरिएको बताएका छन् । कार्यक्रममा सम्बोधन गर्दै उनले उत्पीडित समुदायको हकअधिकार रक्षाका लागि यो मोर्चा बनेको स्पष्ट पारे । विगतमा भएका गल्ती र कमीकमजोरीहरूलाई सच्याएर अगाडि बढ्ने प्रतिबद्धता अन्सारीले जनाए ।

नयाँ शक्तिहरूतर्फ लक्षित गर्दै उनले भने, ‘पुरानो दलले केही गरेको छैन भनेर जसले भनिरहेका छन्, तिनलाई म भन्न चाहन्छु कि आज जनताको छोरा राष्ट्रपति बन्नुभएको छ, त्यो पुरानै दलका कारणले भएको हो ।’ देशमा आएको राजनीतिक परिवर्तन र उपलब्धिहरू पुरानै दलहरूको सङ्घर्षको परिणाम भएको दाबी उनले गरे ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।