नाइमा एक्स्पोले तातेको अटो बजार

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको नाइमा नेपाल मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ ।

एक्स्पो नजिकिँदै गएसँगै आयोजकले प्रदर्शनीस्थलमा स्टल निर्माणलगायतका कामलाई तीव्रता दिएको छ । एक्स्पो साउन २६ देखि साउन ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । एक्स्पोलाई व्यवस्थित र आकर्षक बनाउन अहिले प्रदर्शनीस्थलमा अटोमोबाइल तथा मोबिलिटीसम्बन्धी स्टल निर्माणको काम धमाधम भइरहेको छ । विभिन्न ब्रान्डले छुट्टाछुट्टै स्टल निर्माण गरिरहेका छन् ।

उक्त स्टल मार्फत कम्पनीहरूले आफ्ना उत्पादन तथा नयाँ प्रविधि प्रदर्शन गर्नेछन् । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ५२ वटा स्टलमा ५५ भन्दा बढी ब्रान्डको सहभागिता रहने आयोजकले जनाएको छ । एक्स्पोमा चारपांग्रे तथा दुईपांग्रे सवारीसाधनसँग मोबिलिटी क्षेत्रसँग सम्बन्धित विभिन्न उत्पादन तथा प्रविधि प्रदर्शन गरिनेछ । एक्स्पोमा ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक हुने आयोजकले जानकारी दिएका छन् । नेपालमा पहिलोपटक सार्वजनिक हुने तथा बजारमा प्रवेशको तयारीमा रहेका नयाँ मोडलहरू एक्स्पोमार्फत सार्वजनिक गर्ने तयारीमा अटोमोबाइल कम्पनीहरू रहेका छन् ।

एक्स्पो मार्फत उपभोक्ताले आगामी दिनमा नेपाली अटोमोबाइल बजारमा आउने नयाँ मोडल र प्रविधिबारे उपभोक्तालाई प्रत्यक्ष जानकारी प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन् । एक्स्पोमा सवारीसाधनको प्रदर्शनीसँग मोबिलिटी क्षेत्रमा भइरहेको प्रविधिगत विकासबारे जानकारी दिने ‘लर्निङ सेसन’ समेत आयोजना गरिने छ । विद्युतीय सवारीसाधन, नयाँ अटोमोबाइल प्रविधि, स्मार्ट मोबिलिटी तथा भविष्यको यातायात प्रणालीलगायतका विषयमा जानकारीमूलक तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।

आयोजकका अनुसार एक्स्पोलाई केवल नयाँ सवारीसाधन प्रदर्शन गर्ने थलोका रूपमा मात्र नभई नेपालमा विकसित हुँदै गएको मोबिलिटी इकोसिस्टम, प्रविधि र भविष्यको यातायातबारे जानकारी आदानप्रदान गर्ने प्लेटफर्मका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । एक्स्पोमा विभिन्न अटोमोबाइल ब्रान्ड, विद्युतीय सवारीसाधन, दुईपांग्रे सवारी, व्यावसायिक सवारीसाधन तथा मोबिलिटीसँग सम्बन्धित प्रविधि र सेवाको सहभागिता रहनेछ । ६ दिनसम्म आयोजना हुने एक्स्पोमा १ लाख ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजनको अपेक्षा छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।