बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग अर्थमन्त्रीले सोधे : ६ महिनामा सरकारले गर्नै पर्ने निर्णय के–के हो ?

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई अर्थ मन्त्रालयमा बोलाएर सरकारले आगामी ६ महिनामा गर्नुपर्ने ५ महत्वपूर्ण निर्णय के–के हुन् भनेर सोधेका छन् ।

सोमबार बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्रीबीच अर्थ मन्त्रालयमा छलफल भएको हो । वाग्लेले बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग व्यवसाय विस्तारमा अझै विद्यमान मुख्य अवरोधबारे स्पष्ट धारणा दिन आग्रह गरेका छन् । उनले सरकारका हालसम्मका सुधारहरू व्यवहारमा कति प्रभावकारी भएका छन् भन्नेबारे पनि निजी क्षेत्रबाट प्रत्यक्ष प्रतिक्रिया मागेका थिए ।

कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात, कानुनी व्यवस्था तथा सरकारी प्रक्रियामध्ये तत्काल सुधार आवश्यक रहेका क्षेत्र पहिचान गर्न वाग्लेले भनेका थिए । नेपालमा उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न र नयाँ प्रविधि भित्र्याउन अर्थमन्त्रीले बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन्। उनले वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जित नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन् ।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई सरकारले शंकाको दृष्टिले नभई राष्ट्र निर्माणको साझेदारका रूपमा हेरेको बताए । उनले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार भएको उल्लेख गर्दै लगानी विस्तारका लागि सरकार आवश्यक सहजीकरण गर्न तयार रहेको बताए । ‘नेपालमा अझ ठूलो लगानी गर्नुहोस्। भएका उद्योग विस्तार गर्नुहोस् । नयाँ उत्पादनमा प्रवेश गर्नुहोस् । नयाँ प्रविधि भित्र्याउनुहोस्। नयाँ रोजगारी सिर्जना गर्नुहोस्‌’, अर्थमन्त्री वाग्लेले आग्रह गरे । उनले उद्योगी–व्यवसायी, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकको नेतृत्वसँग पछिल्ला दिनमा भएका छलफलबाट नेपालको आर्थिक रूपान्तरण सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट मात्रै सम्भव हुने निष्कर्षमा पुगेको बताए ।

‘नेपालको आर्थिक रूपान्तरण कुनै एक मन्त्रालय, कुनै एक नीति वा कुनै एक संस्थाले मात्र होइन, यसको नेतृत्व सरकार र निजी क्षेत्रले सँगै गर्नुपर्छ’, उनले भने । अर्थमन्त्री वाग्लेले आफू बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग सरकारको धारणा सुनाउनभन्दा पनि नेपालमा ठूलो लगानी गरेका र ठूलो जोखिम उठाएका उद्यमीका अनुभव सुन्न आएको बताएका थिए । व्यवसाय विस्तारमा देखिएका व्यवहारिक समस्या र सरकारी नीतिका कमजोरी पहिचान गरी समाधानको कार्यसूची बनाउन बैठक आयोजना गरिएको उनको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले नेपालमा वैधानिक रूपमा भएको लगानी र त्यसबाट सिर्जित सम्पत्ति तथा नाफाको सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे । लगानीकर्ताले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियम स्थिर रहेको, कर प्रणाली पूर्वानुमेय रहेको र राज्य साझेदारका रूपमा उभिएको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्ने उनले बताए । ‘उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित छ, नियम स्थिर छन्, कर प्रणाली पूर्वानुमेय छ र राज्य आफ्नो साझेदारका रूपमा उभिएको छ भन्ने विश्वास गर्न सक्नुपर्छ’, उनले भने ।

सरकारले निजी क्षेत्रलाई केवल करको स्रोतका रूपमा हेर्न नहुनेमा जोड दिँदै वाग्लेले करदातालाई राष्ट्र निर्माणका साझेदारका रूपमा सम्मान गर्ने नीति अघि बढाइएको बताए । इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई उच्च सामाजिक सम्मान दिलाउन सरकारले काम गरिरहेको उनको भनाइ छ । अर्थमन्त्रीले सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रप्रतिको आफ्नो दृष्टिकोण स्पष्ट पारेको बताए । सरकारको प्राथमिकता कर संकलन बढाउनेमा मात्र सीमित नभई उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउने रहेको उनले बताए ।

उनले उद्योगले कमाएको नाफा पुनः लगानी हुँदा उत्पादन बढ्ने, उत्पादन बढ्दा रोजगारी सिर्जना हुने, रोजगारीबाट आम्दानी बढ्ने र आम्दानी बढेपछि बजार विस्तार हुने चक्रले अन्ततः सरकारको राजस्वसमेत बढाउने तर्क गरे । ‘सरकार र निजी क्षेत्रको सम्बन्ध शून्य–योग (जेरो सम) सम्बन्ध होइन। दुवैको सफलता एकअर्काको सफलतासँग जोडिएको छ’, उनले भने । अर्थमन्त्रीले निजी क्षेत्रलाई थप लगानी गर्न आग्रह गर्दै सरकारले लगानीकर्तालाई आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाए ।

बैठकमा उठेका विषयलाई केवल छलफलमा सीमित नराखी कार्यान्वयनमा लैजाने अर्थमन्त्रीले बताए । सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गरी समस्या समाधानको प्रक्रिया अघि बढाउने र त्यसको अनुगमन अर्थ मन्त्रालयको ‘रेस्पोन्स डेस्क’मार्फत गरिने उनले जानकारी दिए । उनका अनुसार निजी क्षेत्रसँगको संवादलाई एकपटकको कार्यक्रमका रूपमा नभई निरन्तर प्रक्रियाका रूपमा अघि बढाइनेछ। व्यवसायीले उठाएका समस्या समाधान नभएसम्म संवादको श्रृंखला जारी रहने उनले बताए ।

अर्थमन्त्री वाग्लेले नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीलाई नेपालको आर्थिक रूपान्तरणका महत्वपूर्ण साझेदारका रूपमा चित्रण गरेका थिए । बहुराष्ट्रिय कम्पनीहरू केवल सफल व्यवसाय वा कम्पनीका प्रतिनिधि मात्र नभई ठूला करदाता, रोजगारदाता, लगानीकर्ता र राष्ट्र निर्माणका अग्रणी साझेदार भएको अर्थमन्त्रीले बताए । उनले निजी क्षेत्र सफल भए मात्रै राज्यको अर्थतन्त्र बलियो हुने भएकाले उद्योगीको सफलता समाजका लागि गर्वको विषय बन्ने वातावरण निर्माण गर्नुपर्ने बताए । ‘हामी यस्तो वातावरण निर्माण गर्न चाहन्छौँ जहाँ उद्योगी सफल हुँदा समाज गर्व गरोस्, लगानीकर्ता सुरक्षित महसुस गरोस्, करदाता सम्मानित होस् र युवा उद्यम गर्न प्रेरित होस्,’ उनले भने ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।