काठमाडौं । कपिल रिजाल निर्देशित नेपाली फिल्म गौंथलीले घरेलु बक्सअफिसमा २० करोड रुपैयाँभन्दा बढी ग्रस कमाउँदै सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा तेस्रो स्थान हासिल गरेको छ। फिल्मले सोमबार दिउँसो ४ बजेसम्म २० करोड १० लाख रुपैयाँ ग्रस कमाएको हो।
उक्त अवधिसम्म फिल्मलाई ७ लाख २९ हजार दर्शकले हेरेका छन्। सोमबार नै ‘गौंथली’ले समीर भट्ट स्टारर फिल्म १२ गाउँको बक्सअफिस कमाइलाई उछिनेको हो। ‘१२ गाउँ’ले घरेलु बक्सअफिसमा १९ करोड ९२ लाख रुपैयाँ ग्रस कमाएको थियो।
यससँगै ‘गौंथली’ सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा तेस्रो स्थानमा पुगेको छ। अब ‘गौंथली’भन्दा अगाडि ‘कबड्डी ४’ र ‘पूर्णबहादुरको सारंगी’ मात्र रहेका छन्। फिल्मको प्रदर्शन अझै जारी रहेकाले यसको कमाइ थप बढ्ने अपेक्षा गरिएको छ।
साउन १ गतेदेखि प्रदर्शनमा आएको ‘गौंथली’ले सुरुवाती चरणमै दर्शकको राम्रो साथ पाएको थियो। सुरुमा करिब २०० शो पाएको फिल्मले दर्शकको माग बढेसँगै अहिले २०० भन्दा बढी शो पाइरहेको छ। अधिकांश शोमा दर्शकको चाप उच्च रहेको निर्माण पक्षले जनाएको छ।
यसअघि चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टअनुसार आइतबार राति १० बजेसम्म फिल्मले १९ करोड ७१ लाख ६ हजार ५ रुपैयाँ ग्रस कमाएको थियो। त्यस अवधिसम्म ७ लाख १५ हजार १९८ दर्शकले फिल्म हेरेका थिए। त्यसको भोलिपल्टै फिल्मले २० करोडको आँकडा पार गरेको हो।
‘गौंथली’ यस वर्ष प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये सर्वाधिक कमाउने फिल्मसमेत बनेको छ। फिल्मले घरेलु दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाका कारण व्यापार अझै बढ्ने निर्माण पक्षको विश्वास छ। कलाकारसहितको टोली काठमाडौं उपत्यकासहित मोफसलका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेको छ।
डा. भोला रिजालको कथामा आधारित फिल्मलाई उनका छोरा डा. कपिल रिजालले निर्देशन गरेका हुन्। फिल्मको पटकथा तथा संवाद कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।
घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ। फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरेका छन्।




































