चितवन । अण्डाको माग बढेसँगै नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य वृद्धि गरेको छ।
संघले आजदेखि लागू हुने गरी विभिन्न आकारका अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो ।
संघका अनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) रु. ५६०, ठूलो अण्डा रु. ५४५ र मिडियम अण्डा रु. ५०० कायम गरिएको छ। सानो अण्डाको मूल्य भने प्रतिपेटी (सात क्रेट) रु. ३ हजार निर्धारण गरिएको संघले जनाएको छ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको संक्रमण घट्नुका साथै पछिल्लो समय ठूलो सङ्ख्यामा कुखुरा मरेका कारण अण्डाको उत्पादन घटेको छ। उत्पादन घटेपछि बजारमा माग बढ्दा अण्डाको मूल्य बढाउनुपर्ने अवस्था आएको उनको भनाइ छ।
फार्महरूले उपलब्ध गराएको मूल्यका आधारमा समर्थन मूल्य निर्धारण गरिएको पोखरेलले बताए। मूल्य बढे पनि किसानले अझै उत्पादन लागतअनुसारको मूल्य पाउन नसकेको उनको भनाइ छ।
किसानका अनुसार एउटा अण्डा उत्पादन गर्न औसत रु. १९.१२ लागत लाग्ने गरेको छ। उक्त लागतका आधारमा हिसाब गर्दा एक क्रेट अण्डाको लागत करिब रु. ५७३.६० पुग्ने भए पनि अहिलेको समर्थन मूल्य त्यसको आसपास पनि पुग्न नसकेको व्यवसायीको भनाइ छ।
बर्डफ्लुका कारण पछिल्ला वर्षमा कुखुरापालक किसानले ठूलो क्षति व्यहोर्नुपरेको छ। रोगका कारण कुखुरा मर्नु, उत्पादन घट्नु र उत्पादन लागत बढ्नुका साथै अण्डाको उचित मूल्य नपाउँदा किसानहरू व्यवसायबाट पलायन हुन थालेको पोखरेलले बताए । उनका अनुसार उत्पादन घट्दै जानु, विभिन्न रोगको जोखिम बढ्नु र लागत बढ्नुका कारण किसान बैंकको ऋणमा निर्भर भएर व्यवसाय सञ्चालन गर्न बाध्य छन्। केही समयअघि बर्डफ्लुका कारण कुखुरा मरेका किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उनले बताए ।
अण्डाको मूल्यमा सुधार आए पनि उत्पादन लागतअनुसारको मूल्य नपाउँदा किसानको समस्या समाधान हुन नसकेको व्यवसायीको भनाइ छ। बजारमा माग र आपूर्तिको सन्तुलन कायम गर्दै किसानले लागतअनुसारको मूल्य पाउने वातावरण बनाउनुपर्ने उनीहरूको जोड छ ।




































