काठमाडौं । काठमाडौं– एनसेलले नेपालमै डोमेन दर्ता र वेब होस्टिङ सेवा उपलब्ध गराउने गरी ‘एनसेल बिजनेस क्लाउडसुइट’ सञ्चालनमा ल्याएको छ । कम्पनीले व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थालाई लक्षित गर्दै यो सेवा ल्याएको हो ।
कम्पनीका अनुसार क्लाउडसुइटमार्फत ग्राहकले एउटै प्लेटफर्मबाट डोमेन दर्ता, वेबसाइट होस्टिङ तथा अनलाइन उपस्थितिसँग सम्बन्धित विभिन्न सेवा व्यवस्थापन गर्न सक्नेछन् । सेवामा डोमेन नवीकरण, डोमेन ट्रान्सफरमा सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन व्यवस्थापन तथा केन्द्रीय डोमेन प्रशासनलगायत सुविधा समेटिएका छन् ।
एनसेलले वेब होस्टिङका लागि दुईवटा प्याकेज ल्याएको छ। बेसिक प्याकेजको मासिक शुल्क १ हजार रुपैयाँ तोकिएको छ । यसमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल अकाउन्ट, एसएसएल प्रमाणपत्र, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
त्यस्तै, बढ्दो डिजिटल आवश्यकता भएका व्यवसायलाई लक्षित गर्दै प्रो प्याकेजको मासिक शुल्क २ हजार रुपैयाँ तोकिएको छ । यसमा थप स्टोरेज र डेटा ट्रान्सफरका साथै २० वटासम्म व्यावसायिक इमेल अकाउन्ट, १० वटा डेटाबेस र पाँचवटासम्म सबडोमेनको सुविधा उपलब्ध हुनेछ । प्रो प्याकेजमा पनि एसएसएल, स्वचालित ब्याकअप र सुरक्षा सुविधा समावेश छन् । कम्पनीका अनुसार ग्राहकले सेवाको भुक्तानी नेपाली रुपैयाँमै गर्न सक्नेछन्। यसले विदेशी वेब होस्टिङ सेवा खरिद गर्दा आवश्यक पर्ने विदेशी मुद्राको भुक्तानी प्रक्रियाबाट ग्राहकलाई अलग राख्नेछ ।
एनसेलका प्रमुख इन्टरप्राइज बिजनेस अधिकृत डियोन एसेन्सियोले नेपालका व्यवसायलाई डिजिटल क्षेत्रमा प्रवेश गर्न सहज बनाउने उद्देश्यले क्लाउडसुइट ल्याइएको बताए । ‘डोमेन नाम र भरपर्दो वेब होस्टिङ प्रत्येक डिजिटल यात्राको आधार हुन्,’ उनले भने, ‘स्थानीय सहयोग, नेपाली मुद्रामा भुक्तानी र नेपालभित्रै डेटा होस्टिङको सुविधा दिएर व्यवसायलाई डिजिटल क्षेत्रमा अझ सहज र विश्वस्त भएर अघि बढ्न मद्दत गर्ने लक्ष्य छ ।’ एनसेलले क्लाउडसुइटअन्तर्गत वेबसाइट होस्टिङ तथा डेटा नेपालमै राख्न सकिने जनाएको छ ।
नेपालमै डेटा राखिने भएकाले संस्थाहरूलाई आफ्नो वेबसाइट डेटा र डिजिटल सम्पत्तिमाथि थप नियन्त्रण कायम गर्न तथा नियामकीय आवश्यकताहरू पूरा गर्न सहज हुने कम्पनीको दाबी छ । कम्पनीले पहिलो चरणमा डोमेन र वेब होस्टिङलाई प्राथमिकतामा राखेको जनाएको छ । नेपालमा व्यवसाय तथा संस्थाहरूको डिजिटल उपस्थिति विस्तार हुँदै जाँदा वेबसाइटका लागि आवश्यक आधारभूत पूर्वाधारको माग बढिरहेको भन्दै एनसेलले क्लाउडसुइटलाई त्यसैको सम्बोधनका रूपमा अघि सारेको हो ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।





































