काठमाडौं । विराटनगरस्थित जिल्ला कारागार मोरङभित्र प्रहरीले ‘सर्र्च अपरेशन’ चलाउने प्रयास गरे पनि सफल भने हुन सकेन ।
सोमबार बिहानदेखि नै मोरङको कारागारभित्र लागूऔषधसमेत पुग्ने गरेको सूचनाको आधारमा ‘सर्च अपरेशन’ चलाउने प्रयास गरेको थियो । तर, प्रहरीले सर्च अपरेशन सुरु गर्नासाथ भित्रका कैदी बन्दीहरुले नाराजुसुल गर्न थालेपछि सर्च अभियान नै रोकिएको छ । प्रहरीले सर्च गर्दा सम्भावित घटना नहोस् भनेर सशस्त्र प्रहरी बलको समेत सहयोग लिएको थियो ।
कारागार बाहिर ठूलो मात्रामा सशस्त्र प्रहरी बलको टोली राखेर प्रहरीको टोली भित्र प्रवेश गरेका थिए । तर, प्रहरीको टोलीमाथि भित्रबाट नै आक्रमण र कैदी बन्दीहरुले भित्र नै आत्मदाह गर्ने भन्दै मट्टीतेल नै छर्किन थालेपछि सर्च अभियान रोक्नुपरेको जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख (सीडिओ) युवराज कट्टेलले जानकारी दिए । उनले भने,‘‘हिजो हामीहरु विपस्यनाको योजना बनाउन भित्र प्रवेश गर्न खोज्दा नै कैदीहरुले रोक्नु भयो । हामी शंकास्पद गतिविधि हुन सक्ने अनुमान गरेर आज सर्च अभियान चलाएका थियौँ । तर, भित्रको अवस्था हामी जाँदा झन् उग्र हुने देखिएपछि रोकेका छौँ ।’’
कारागारभित्रका कैदीहरुले भित्र नाराबाजी जारी राखेपछि प्रहरी भित्र प्रवेश गर्न सकेन । आइतबारदेखि नै मोरङ कारागारको ‘बी ब्लक’ का कैदी बन्दीले भित्र विरोध गर्न थालेका थिए । कैदी बन्दीहरुले भने ‘ब्लक बी’ का चौकिदार चन्चल शर्मासहितलाई हटाएर नयाँ चौकिदार नियुक्त गर्ने योजना बनाएको भन्दै कारागार प्रशासनविरुद्ध नाराबाजी गरेको जनाएका छन् । बी ब्लकका चौकिदार चन्चलसहितका केही कैदीहरु मोरङबाट अन्य जिल्लाको कारागार पठाउने सूचना पाएपछि भित्रका कैदी बन्दीले नाराजुलुस गर्न थालेको जनाइएको छ ।
कारागार स्रोतका अनुसार ‘ए ब्लक’ का चौकिदार राकेश यादवसहितका समूहले ‘बी ब्लक’ मा समेत आफ्नो चौकिदार नियुक्ति गर्न चलखेल गरेका थिए । कारागारभित्रका दुई ब्लकका चौकिदारको आन्तरिक लडाइँका कारण कारागारका कैदीहरु विभाजित भएका छन् । चौकिदारकै विवादका कारण मोरङ कारागारभित्र कैदी बन्दीहरु पटक–पटक झडप हुँदै आएको छ ।
नयाँ आर्थिक वर्षसँगै हरेक कारागारको चौकिदार परिवर्तन हुने भएपछि अधिकांश कारागार भित्र अस्वस्थ प्रतिस्पर्धा र आर्थिक चलखेलसमेत हुने गरेको स्रोत बताउँछ । लामो समय जेल जीवन भोगिरहेका र असल चालचलन भएका कैदीहरुलाई सीडीओकै नेतृत्वको समितिले रहेक वर्ष चौकिदारका लागि कारागार व्यवस्था विभागलाई सिफारिस पत्र पठाउने र विभागले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
सीडीओ कट्टेलले भने चौकिदारबारे यसपटक कुनै प्रक्रिया नबढेको र आफूहरुलाई समेत अनुमगनका क्रममा आइतबार जान रोक लगाएपछि अवस्था बिग्रेको बताए । चौकिदार नियुक्त गर्दा भने जघन्य अपराधका दोषी कैदीहरुलाई चौकिदार नियुक्त गर्न नमिल्ने कानुनी व्यवस्था छ । तर,हरेकजसो कारागारले भने जघन्य कसुरका कैदीहरुलाई नै आन्तरिक प्रशासन हेर्नेगरी चौकिदार नियुक्त गर्दै आएका छन् । मोरङ कारागारका ‘ए ब्लक’ का चौकीदार राकेश यादवसमेत कर्तव्य ज्यान मुद्दाका दोषी हुन् ।
२०७७ सालमा कर्तव्य मुद्दामा पक्राउ परेका यादवलाई २०८० मंसिरमा दोषी ठहर गर्दै जन्मकैदको सजाय तोकिएको थियो । यादव दुई वर्षदेखि कारागारको ‘ए ब्लक’ को चौकिदार छन् । चौकिदारको अवधि एक वर्ष हुने भए पनि दुई वर्षसम्म उनलाई नै जिम्मा तोकिएको छ । योपटक बी ब्लकमासमेत आफूले चाहेको व्यक्तिलाई चौकिदार बनाउन रोकशले चलखेल गरेको मोरङ प्रहरी स्रोतको भनाइ छ ।
मोरङ प्रहरीका एक अधिकारीले भने,‘‘कारागारको सबै व्यवस्थापनको भूमिका कारागार प्रशासनले नै हेर्ने हो । हाम्रो भूमिका खाली सुरक्षा दिने हो । चौकिदार राकेशले ‘बी ब्लक’ मा आफ्नो मान्छे राख्न भित्र कैदीहरुलाई उक्साएको भन्ने पनि छ । हामी चौकिदारहरुलाई पनि सोधपुछ गर्दैछौँ ।’’ गएको वर्षको साउनमा कास्की कारागारमा पनि यही प्रकृतिको झडप भएको थियो । कैदी बन्दीहरुले कारागार भित्र नाराबाजी गरेका थिए । कारागार व्यवस्थापन विभागले चौकिदार नियुक्तिको विषय हो ।
कास्की कारागारले विभागलाई चौकिदारको लागि अजय गुुरुङ, प्रकाश गुरुङ र प्रशान्त थापाको नाम पठाएको थियो । विभागले चाहिँ अजयको नाम चौकिदारमा सिफारिस गर्यो । अजयभन्दा अगाडि प्रकाश भइसकेका थिए । प्रकाश कानुन विपरीत दोस्रो पटकसमेत चौकिदार बस्न खोजेपछि प्रदर्शन भएको थियो ।
विभिन्न कारागारका कैदीहरु चौकिदार बन्न चलखेल गर्न थालेको सूचनापछि सरकारले भने हाललाई चौकिदार नियुक्त प्रक्रिया नै रोकेको छ । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा सरकारले चौकिदार, नाइके र भाइ नाइकेको नियुक्ति प्रक्रिया स्थगित गरेको गृह मन्त्री सुधन गुरुङले बताएका थिए । जेलभित्र हुने आर्थिक लेनदेन र नियुक्तिमा हुने अपारदर्शिता प्रणालीलाई व्यवस्थित गर्न प्रक्रिया रोकिएको गृहमन्त्री गुरुङले स्पष्ट पारेका थिए ।
चौकिदार, नाइके, भाइ नाइकेहरुले कैदी बन्दीहरुसित रकम असुली गर्ने गरेको आरोप लाग्दै आएको छ । चौकिदारदेखि नाइके, भाइ नाइके बस्दा चालचलनमा सुधार भएको ठहरिने र कैद सजायमासमेत सहुलियत पाउने भएपछि चौकिदार बस्न कारागारभित्र ठूलो चलखेल हुने गरेको हो । कारागार नियमावली २०८३ अनुसार आन्तरिक व्यवस्थापनका लागि हरेक ब्लकमा एक जना चौकिदार, २५ जनामा एक जना नाइके र १० जनामा एकजना सहनाइके नियुक्त गर्नुपर्ने व्यवस्था छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































