काठमाडौं । नेपालमा कार्यरत विदेशी नागरिक चिकित्सकहरूले दर्ताका क्रममा पेश गरेका शैक्षिक तथा व्यावसायिक कागजातमध्ये केही प्रमाणपत्र फर्जी रहेको पुष्टि भएपछि नेपाल मेडिकल काउन्सिलले विदेशी चिकित्सकको योग्यता र पेशागत कागजातमाथि विशेष छानबिन अघि बढाएको छ ।
काउन्सिलका अनुसार विदेशी चिकित्सकले पेश गरेको ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ सम्बन्धित देशको नियामक निकायबाट जारी नभएको पाइएपछि उनीहरूको कागजातको आधिकारिकतामाथि प्रश्न उठेको हो । प्रमाणपत्रमा शंका देखिएपछि काउन्सिलले सम्बन्धित देशका मेडिकल नियामक निकायसँग सम्पर्क गरी कागजातको सत्यता परीक्षण गरेको थियो । त्यसक्रममा केही चिकित्सकले पेश गरेका प्रमाणपत्र सम्बन्धित निकायबाट जारी नभएको र फर्जी रहेको पुष्टि भएको काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।
नेपालमा विदेशी नागरिकले चिकित्सकीय अभ्यास गर्न नेपाल मेडिकल काउन्सिलमा दर्ता तथा स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ । नेपालमा काम गर्न आउने विदेशी चिकित्सकले आफ्नो शैक्षिक योग्यता, व्यावसायिक अवस्था तथा सम्बन्धित नियामक निकायबाट प्राप्त प्रमाणपत्रसहित आवश्यक कागजात काउन्सिलमा पेश गर्नुपर्छ । काउन्सिलबाट स्वीकृति पाएपछि उनीहरूले तोकिएको अवधिसम्म नेपालमा चिकित्सकीय सेवा प्रदान गर्न पाउँछन् । नेपालमा आउने विदेशी चिकित्सकमध्ये भारतीय चिकित्सकको संख्या तुलनात्मक रूपमा धेरै रहेको काउन्सिलले जनाएको छ । विभिन्न मेडिकल कलेज, डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अस्पतालले विदेशी चिकित्सकलाई काममा लगाउनुअघि उनीहरूको काउन्सिल दर्ता प्रक्रियाका लागि सिफारिश गर्ने गरेका छन् । यही प्रक्रियामा पेश भएका कागजातमध्ये केहीमा शंका उत्पन्न भएपछि काउन्सिलले विस्तृत छानबिन थालेको हो ।
डा. पाण्डेका अनुसार विदेशी चिकित्सकहरूले दर्ताका लागि पेश गरेका कागजातको परीक्षण गर्ने क्रममा केही प्रमाणपत्रको आधिकारिकतामाथि प्रश्न उठेको थियो । त्यसपछि सम्बन्धित मुलुकका मेडिकल काउन्सिल तथा अन्य नियामक निकायसँग सम्पर्क गरेर कागजातको सत्यता जाँच गरिएको थियो । जाँचका क्रममा ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ सम्बन्धित नियामक निकायबाट जारी नभएको र कतिपय प्रमाणपत्र फर्जी रहेको पुष्टि भएको उनले बताए । गुड स्ट्यान्डिङ सर्टिफिकेट चिकित्सकको सम्बन्धित नियामक निकायमा रहेको व्यावसायिक अवस्था तथा उसमाथि कुनै कारबाही वा प्रतिबन्ध भए–नभएको पुष्टि गर्ने महत्वपूर्ण कागजात हो । विदेशी चिकित्सक नेपालमा अभ्यास गर्न योग्य छन् कि छैनन् भन्ने निर्धारणका क्रममा यस्तो प्रमाणपत्रलाई महत्वपूर्ण आधारका रूपमा लिइन्छ । त्यसैले यस्तो कागजात नै फर्जी भेटिएपछि काउन्सिलले विदेशी चिकित्सकको दर्ता प्रक्रियामाथि थप कडाइ गरेको हो ।
काउन्सिलले फर्जी कागजात पेश गरेको पुष्टि भएका विदेशी चिकित्सक तथा छानबिनको दायरामा रहेका अन्य चिकित्सकको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ । काउन्सिलको निर्णयअनुसार फर्जी कागजात पुष्टि भएका चिकित्सकका साथै कागजात परीक्षण भइरहेका विदेशी चिकित्सकको दर्ता प्रक्रिया पनि छानबिन पूरा नभएसम्म अघि नबढाइने भएको छ । काउन्सिलले विदेशी चिकित्सकलाई नेपालमा काम गर्न सिफारिश गर्ने स्वास्थ्य संस्थाको भूमिकामाथि समेत प्रश्न उठाएको छ । चिकित्सकको कागजातको आधिकारिकता यकिन नगरी दर्ताका लागि सिफारिश गर्ने मेडिकल तथा डेन्टल कलेज, अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग काउन्सिलले लिखित स्पष्टीकरण मागेको छ ।
त्यस्तै, सम्बन्धित विदेशी चिकित्सक, उनीहरूको दर्ताका लागि सिफारिश गर्ने स्वास्थ्य संस्था तथा कागजातमा सनाखत गर्ने नेपाली चिकित्सकसँग पनि स्पष्टीकरण मागिएको छ । उनीहरूलाई आवश्यक बयानका लागि काउन्सिलमा उपस्थित गराउने निर्णयसमेत भएको निमित्त रजिस्ट्रार पाण्डेले बताए । काउन्सिलले फर्जी प्रमाणपत्र कसरी पेश भयो, त्यसको सिफारिशमा सम्बन्धित स्वास्थ्य संस्थाको भूमिका के थियो र कागजात प्रमाणीकरण गर्ने क्रममा कमजोरी भएको हो कि होइन भन्ने विषयसमेत अध्ययन गर्ने भएको छ । विदेशी चिकित्सकको दर्ता प्रक्रियामा संलग्न सबै पक्षको जिम्मेवारी र प्रक्रियागत कमजोरी पहिचान गर्ने गरी छानबिन अघि बढाइएको काउन्सिलको भनाइ छ ।
प्रमाणपत्रमा आशंका देखिएपछि काउन्सिलले डा. छवी पन्थीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले विदेशी नागरिक चिकित्सकले पेश गरेका शैक्षिक तथा व्यावसायिक कागजात, उनीहरूको दर्ता अवस्था र नेपालमा चिकित्सकीय अभ्यासका क्रममा पेश गरेको विवरण अध्ययन गर्नेछ । यससँगै नेपालमा कार्यरत विदेशी नागरिक चिकित्सकहरूको समग्र अवस्था अध्ययन गर्न पनि काउन्सिलले विशेष समिति गठन गरेको छ । उक्त समितिले विदेशी चिकित्सकहरूको दर्ता अवस्था, उनीहरूले काम गरिरहेको स्वास्थ्य संस्था, कार्यस्थिति तथा व्यावसायिक गतिविधिबारे आवश्यक अनुसन्धान गर्नेछ ।
काउन्सिलका अनुसार नेपालका विभिन्न मेडिकल कलेज, डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अस्पतालमा कार्यरत विदेशी चिकित्सकको शैक्षिक योग्यता र पेशागत कागजातको पूर्ण प्रमाणिकता सुनिश्चित गर्न खोजिएको हो । यसका लागि आवश्यक परे सम्बन्धित देशका नियामक निकायसँग प्रत्यक्ष समन्वय गरी प्रमाणपत्रको आधिकारिकता परीक्षण गरिनेछ । विदेशी चिकित्सकको संख्या बढ्दै जाँदा उनीहरूको योग्यता र व्यावसायिक प्रमाणपत्रको प्रमाणीकरणलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको काउन्सिलको भनाइ छ । चिकित्सकको योग्यता र व्यावसायिक अवस्थाबारे विश्वसनीय प्रमाणबिना नेपालमा अभ्यास गर्न अनुमति दिँदा बिरामीको उपचार तथा स्वास्थ्य सुरक्षामै गम्भीर जोखिम आउन सक्ने भएकाले दर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन लागिएको हो ।
काउन्सिलले विदेशी चिकित्सकको दर्ता प्रक्रियामा स्वास्थ्य संस्थाहरूले पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने स्पष्ट पारेको छ । चिकित्सकको प्रमाणपत्र र अन्य कागजातको आधिकारिकता यकिन नगरी सिफारिश गर्ने प्रवृत्तिले समस्या निम्त्याउन सक्ने भन्दै काउन्सिलले सम्बन्धित संस्थालाई समेत जवाफदेही बनाउने संकेत गरेको छ । अब गठन गरिएको छानबिन समितिले फर्जी प्रमाणपत्र पेश गर्ने चिकित्सकको संख्या, उनीहरूले पेश गरेका कागजातको प्रकृति, सम्बन्धित स्वास्थ्य संस्थाको भूमिका तथा दर्ता प्रक्रियामा संलग्न अन्य पक्षबारे थप तथ्य बाहिर ल्याउने अपेक्षा गरिएको छ । छानबिनबाट प्रमाणपत्र फर्जी रहेको पुष्टि भएका चिकित्सक तथा प्रक्रियामा संलग्न अन्य पक्षमाथि प्रचलित कानुन र काउन्सिलको नियमअनुसार कारबाही अघि बढाइने काउन्सिलले जनाएको छ ।
नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिक चिकित्सकको दर्ता प्रक्रियालाई केवल कागजात संकलनमा सीमित नराखी सम्बन्धित मुलुकका नियामक निकायबाट प्रत्यक्ष प्रमाणीकरण गर्ने प्रणालीलाई प्रभावकारी बनाउने तयारीसमेत गरेको छ । यसबाट नेपालमा चिकित्सकीय अभ्यास गर्ने विदेशी चिकित्सकको वास्तविक योग्यता, व्यावसायिक अवस्था र प्रमाणपत्रको विश्वसनीयता सुनिश्चित गर्ने काउन्सिलको लक्ष्य छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































