प्रधानमन्त्री र भारतीय सेना प्रमुखको भेटको कूटनीतिक अर्थ

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह (बालेन) र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेना प्रमुख जनरल धीरज सेठबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबीचको पारस्परिक सम्बन्ध, सुरक्षा सहकार्य तथा आपसी हितका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेना प्रमुख सेठले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए । प्रधानमन्त्री र भारतीय सेना प्रमुखबीचको भेटलाई नेपाल–भारत सम्बन्धका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ । विशेषगरी प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी भइरहेको चर्चा चलिरहेका बेला भारतीय उच्च सैन्य अधिकारीसँग भएको भेटलाई कूटनीतिक तथा राजनीतिक वृत्तमा चासोका साथ हेरिएको हो ।

भारतले प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि निमन्त्रणा दिइसकेको बताउँदै आएको छ । प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको मिति र कार्यतालिका टुंगो लाग्न बाँकी रहे पनि त्यसको तयारी अघि बढिरहेको बताइन्छ । यही पृष्ठभूमिमा भारतीय स्थल सेना प्रमुखको नेपाल भ्रमण र प्रधानमन्त्रीसँग भएको भेटले दुई देशबीच उच्चस्तरीय सम्पर्कलाई थप महत्व दिएको छ ।

भारतीय स्थल सेना प्रमुख सेठ प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चारदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएका हुन् । नेपाल भ्रमणका क्रममा उनले नेपाली सेनाका उच्च अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटवार्ता गरिरहेका छन् । नेपाल आएका दिनपछि सोमबार सेनाध्यक्ष सेठले प्रधानसेनापति अशोकराज सिग्देलसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । नेपाली सेनाको मुख्यालयमा भएको भेटमा नेपाल–भारत सैन्य सम्बन्ध, पारस्परिक सहयोग तथा दुई सेनाबीचको सहकार्यका विषयमा छलफल भएको थियो । नेपाल र भारतका सेनाबीच लामो समयदेखि विभिन्न तहमा सहकार्य हुँदै आएको छ ।

सेनाध्यक्ष सेठको नेपाल भ्रमणका क्रममा उनलाई नेपालको राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्नसमेत प्रदान गरेका थिए । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरिएको हो । यो सम्मान नेपाल र भारतबीच दशकौंदेखि कायम रहेको सैन्य सम्बन्धको एउटा महत्वपूर्ण प्रतीकका रूपमा लिइन्छ । नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएको छ ।

दुवै देशका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ प्रमुखको सम्मान दिने यो परम्पराले दुई देशबीचको ऐतिहासिक तथा संस्थागत सैन्य सम्बन्धलाई प्रतिबिम्बित गर्छ । भारतीय स्थल सेना प्रमुख सेठको नेपाल भ्रमण पनि यही परम्पराको निरन्तरताका रूपमा भएको हो । नेपाल र भारतबीच खुला सीमा, सामाजिक तथा सांस्कृतिक सम्बन्धसँगै सुरक्षा र सैन्य क्षेत्रमा समेत लामो समयदेखि सहकार्य हुँदै आएको छ । दुई देशका सेनाबीच संयुक्त सैन्य अभ्यास, तालिम, उच्चस्तरीय भ्रमण तथा मानवीय सहयोगका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

प्रधानमन्त्री शाहसँगको भेटमा भारतीय राजदूत श्रीवास्तवको सहभागिताले भने भेटलाई सैन्य विषयमा मात्र सीमित नराखी समग्र नेपाल–भारत सम्बन्धको सन्दर्भसँग जोडेर हेरिएको छ । प्रधानमन्त्री शाह स्वयं रक्षामन्त्रीसमेत भएकाले भारतीय सेनाध्यक्षसँगको भेटमा सुरक्षा तथा रक्षा सहकार्यका विषयले प्राथमिकता पाएको हुनसक्ने अनुमान गरिएको छ । नेपालमा नयाँ राजनीतिक नेतृत्वसँग भारतको सम्बन्ध कसरी अघि बढ्छ भन्ने विषयमा पनि पछिल्लो समय चासो बढेको छ । प्रधानमन्त्री शाह नेतृत्वको सरकारले छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्दै अघि बढ्ने बताउँदै आएको छ । भारतसँग राजनीतिक, आर्थिक, ऊर्जा, पूर्वाधार, व्यापार तथा सुरक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय सरकारका लागि महत्वपूर्ण छन् । प्रधानमन्त्री शाह र भारतीय स्थल सेना प्रमुखबीचको भेटलाई यही व्यापक सम्बन्धको एउटा महत्वपूर्ण कडीका रूपमा हेरिएको छ । भारतसँगको सम्बन्धमा सैन्य तथा सुरक्षा सहकार्य संवेदनशील विषय भएकाले उच्च तहका अधिकारीबीच हुने भेटवार्तालाई दुवै देशले विशेष महत्व दिने गरेका छन् ।

यसअघि नेपाल भ्रमणमा आउने भारतीय उच्च अधिकारीले राष्ट्रपति, प्रधानमन्त्री तथा नेपाली सेनाका उच्च अधिकारीसँग भेटवार्ता गर्ने परम्परा रहँदै आएको छ । त्यसैअनुसार सेनाध्यक्ष सेठले पनि राष्ट्रपति, प्रधानमन्त्री तथा प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् । नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष सेठले नेपाली सेनासँगको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि छलफल गरेका छन् । नेपाल र भारतका सेनाबीचको सम्बन्धलाई दुई देशबीचको समग्र सम्बन्धकै महत्वपूर्ण आधारका रूपमा लिने गरिएको छ । चारदिने भ्रमण पूरा गरी सेनाध्यक्ष सेठ बुधबार भारत फर्किने कार्यक्रम रहेको छ । उनको भ्रमण र प्रधानमन्त्री शाहसँगको भेटपछि आगामी दिनमा नेपाल–भारतबीच राजनीतिक तथा कूटनीतिक तहमा हुने उच्चस्तरीय संवाद र प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणलाई समेत थप चासोका साथ हेरिएको छ ।विशेषगरी प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी भइरहेको भनिएका बेला भारतीय सेनाध्यक्षको काठमाडौं आगमन र सिंहदरबारमा भएको भेटले दुई देशबीच उच्चस्तरीय सम्पर्कको क्रम अघि बढिरहेको संकेत गरेको छ । यद्यपि भेटमा भएका विस्तृत छलफल र सम्भावित समझदारीका विषय भने सार्वजनिक गरिएको छैन ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।