काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदबीच देखिएको असन्तुष्टि, सरकारको कार्यशैलीप्रति उठेका प्रश्न तथा संसदीय गतिविधिमा देखिएको कमजोरीलाई गम्भीर रूपमा लिन निर्देशन दिएका छन् ।
सरकार गठन भएपछि पहिलोपटक पार्टीका मन्त्री र सांसदलाई एकै ठाउँमा राखेर गरिएको छलफलमा लामिछानेले सरकार, पार्टी र संसदीय दलबीचको समन्वय बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् । सांसदहरूको औपचारिक बैठक बोलाउने जिम्मेवारी संसदीय दलका नेताको हुने भए पनि प्रधानमन्त्री तथा रास्वपाका संसदीय दलका नेता वालेन्द्र शाहले लामो समयदेखि दलको बैठक नराखेको अवस्थामा सभापति लामिछानेले नै मन्त्री तथा सांसदसँग छलफल अघि बढाएका हुन् । दलका नेता अनुपस्थित रहेकाले बुधबारको कार्यक्रमलाई औपचारिक रूपमा संसदीय दलको बैठक नभनी ‘छलफल’ भनिएको थियो । छलफलको अध्यक्षता भने लामिछानेले नै गरेका थिए ।
रास्वपाले संसदीय दलको नेता चयन गरेको निर्णय गर्न चैत १३ गते बैठक बसेपछि शाहले दलको औपचारिक बैठक नबोलाएको नेताहरूको भनाइ छ । त्यसयता दलको गतिविधि तथा बैठक सञ्चालनका लागि उनको अनुमति लिने गरिएको बताइएको छ । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले दलका नेता अनुपस्थित रहेकाले बुधबारको कार्यक्रमलाई बैठक नभनी छलफल भनिएको जानकारी दिए । बुधबार बिहान पौने १२ बजे सुरु भएको छलफल पौने ३ बजेसम्म चलेको थियो । करिब तीन घण्टा चलेको छलफलमा सांसदहरूले सरकारको कामकारबाही, मन्त्रीहरूको कार्यसम्पादन, नियुक्ति तथा सरकार र पार्टीबीचको समन्वयका विषयमा प्रश्न उठाएका थिए । विशेषगरी गृह, उद्योग र कृषि मन्त्रालयको कामप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरेका थिए । मन्त्रीहरूले भने आफ्नै पार्टीका सांसदहरूबाट सरकारको कामकारबाहीमाथि विपक्षी दलका सांसदभन्दा चर्को आलोचना हुने गरेको गुनासो गरेका थिए । पार्टीभित्रैबाट सरकारमाथि प्रश्न उठिरहँदा त्यसले सरकारको प्रभावकारिता र जनतामाझ पार्टीको सन्देशमा असर पार्ने भन्दै मन्त्रीहरूले असन्तुष्टि व्यक्त गरेका थिए ।
सांसद र मन्त्री दुवै पक्षको कुरा सुनेपछि लामिछानेले तत्काल मन्त्री परिवर्तन गर्नेभन्दा कार्यशैली सुधार गर्ने संकेत दिएका थिए । उनले ‘कार्यशैली परिवर्तन हुन्छ, मन्त्री फेरिँदैन’ भन्दै सरकार सञ्चालनमा देखिएका कमजोरी सुधार गर्नुपर्ने धारणा राखेका थिए । लामिछानेले पार्टीभित्र, सरकारमा र संसदीय अभ्यासमा विभिन्न समस्या देखिएको स्वीकार गर्दै त्यसको सामूहिक रूपमा सामना गर्नुपर्ने बताए । उनका अनुसार रास्वपा लामो समयसम्म नेपाली राजनीतिमा रहने उद्देश्यसहित अघि बढेको पार्टी भएकाले अहिले प्राप्त पदलाई अस्थायी अवसरका रूपमा मात्रै हेर्नु हुँदैन । जिम्मेवारी पाएका सबै व्यक्ति गम्भीर र उत्तरदायी हुनुपर्ने उनको भनाइ थियो ।
‘राजनीति पाँच वर्ष मात्रै गर्ने हो भने फूलमाला लगाएर बिदाइ गरिदिन्छु,’ लामिछानेले भने, ‘लगानीबिना बाटोमा पद भेटेजस्तो लाग्छ भने केही भन्न सकिन्न ।’ उनले पार्टीका सांसद तथा मन्त्रीलाई पदको जिम्मेवारीलाई गम्भीर रूपमा लिन आग्रह गरे । जनताले ठूलो अपेक्षासहित रास्वपालाई सरकारमा पठाएको भन्दै त्यसअनुसारको परिणाम देखाउनुपर्ने उनको भनाइ थियो । छलफलमा सांसदहरूले मन्त्रीहरूको कार्यसम्पादनबारे प्रश्न उठाएपछि लामिछानेले आफ्ना गुनासा लिखित रूपमा प्रस्तुत गर्नसमेत आग्रह गरेका छन् । उनले सभापतिलाई बोधार्थ दिएर सम्बन्धित मन्त्रीलाई प्रश्न पठाउन सांसदहरूलाई भनेका थिए । त्यस्ता प्रश्न तथा गुनासो आफूले पनि अध्ययन गर्ने उनको भनाइ थियो ।
लामिछानेले पछिल्लो समय रास्वपाप्रति आम मानिसको आकर्षण बढिरहेको दाबी गरेका थिए । उनका अनुसार विगतमा पार्टीप्रति आलोचनात्मक रहेका मानिसहरू समेत अहिले रास्वपाको पक्षमा देखिन थालेका छन् । ‘रास्वपालाई घृणा गर्नेहरू आज रवि लामिछानेले भन्दा ठूलो घण्टी बोक्न थालेका छन्,’ उनले भनेका थिए । उनले वर्तमान सरकारलाई झण्डै दुईतिहाइ जनमतसहित बनेको इतिहासकै बलियो सरकारका रूपमा चित्रण गरे । तर सरकार बलियो हुँदैमा मात्रै पर्याप्त नहुने र त्यसअनुसार कामको परिणाम देखाउनुपर्ने उनको भनाइ थियो । सरकार शक्तिशाली रहे पनि विपक्षीहरू पनि इतिहासमै एकजुट भएको उनको विश्लेषण थियो ।
‘सरकार जति शक्तिशाली छ, त्यसैगरी इतिहासमै प्रतिपक्ष एक भएका छन्,’ लामिछानेले भनेका थिए । छलफलमा केही सांसदले प्रधानमन्त्रीसँग भेट गर्न नपाएको र पार्टीले दिएको निर्देशनसमेत प्रभावकारी रूपमा कार्यान्वयन नभएको गुनासो गरेका थिए । पार्टीका सांसद, संसदीय दल र सरकारबीच पर्याप्त समन्वय हुन नसकेको विषय उठेपछि लामिछानेले यस्तो अवस्था बढ्न दिन नहुने बताएका थिए ।
उनले सांसद, दल र सरकारबीचको सम्बन्ध थप प्रगाढ बनाउनुपर्नेमा जोड दिए । जनताले देशमा ठूलो परिवर्तन गर्ने अपेक्षासहित रास्वपालाई मत दिएको भन्दै अहिले सांसद र मन्त्री दुवैमाथि प्रश्न उठ्नु स्वाभाविक रहेको उनको भनाइ थियो । ‘सांसदहरूलाई जनताको प्रश्न छ, सांसदहरूको प्रश्न मन्त्रीलाई छ,’ लामिछानेले भनेका थिए ।
पछिल्लो समय रास्वपाले विभिन्न सरकारी निकायमा गरेका नियुक्ति तथा मनोनयन पनि आलोचनामा परिरहेका छन् । नियुक्ति प्रक्रियामा विधि र प्रक्रिया मिचिएको, संविधानको भावना तथा समानुपातिक र समावेशी प्रतिनिधित्वलाई पर्याप्त ध्यान नदिइएको जस्ता प्रश्न उठिरहेका बेला लामिछानेले मन्त्रीहरूलाई यस विषयमा सचेत गराएका थिए । उनले नियुक्ति गर्दा योग्यता र समावेशितालाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए । ‘मेरिटोक्रेसी र इन्क्लुजनलाई सँगसँगै अघि बढाउनुस्,’ लामिछानेले मन्त्रीहरूलाई निर्देशन दिएको एक सांसदले बताए ।
मन्त्रीहरूको कामकारबाही मात्र होइन, आफ्नै सांसदहरूको संसदीय गतिविधिप्रति पनि लामिछानेले असन्तुष्टि जनाएका थिए । संसद् बैठकमा नियमित उपस्थित नहुने, उपस्थित भए पनि पार्टीको सरकारविरुद्ध विपक्षी दलका सांसदभन्दा बढी आक्रामक रूपमा प्रस्तुत हुने प्रवृत्तिप्रति उनले असन्तुष्टि व्यक्त गरेका थिए । उनले सांसदहरूलाई संसद्मा नियमित उपस्थित हुन र संसदीय नियम तथा मर्यादा पालना गर्न निर्देशन दिए । आफ्नै सांसदहरूले नियम बनाउने प्रक्रियामा सहभागी भएर त्यसपछि त्यसको पालना नगर्ने अवस्था स्वीकार्य नहुने उनको भनाइ थियो ।
‘सदनमा नियमित हुनैपर्छ, संसद् नियमावली आफैँ बनाउने, पास गर्ने अनि पालना नगर्ने भन्ने हुँदैन,’ उनले भनेका थिए । पार्टीभित्र अनुशासन कायम गर्न लामिछानेले सांसद तथा मन्त्रीका गतिविधिलाई थप व्यवस्थित र पारदर्शी बनाउनुपर्नेमा पनि जोड दिएका छन् । उनले सांसदहरूलाई गुगल फाराममार्फत आफ्ना गतिविधिबारे पार्टीलाई जानकारी गराउने व्यवस्था गरिएको बताएका थिए । सांसद र मन्त्रीले आफ्नो सार्वजनिक व्यवहार तथा गतिविधिमा संसदीय मर्यादा कायम गर्नुपर्ने भन्दै उनले व्यक्तिगत गतिविधिलाई समेत पारदर्शी बनाउन आग्रह गरे । संसद्मा बोल्ने विषय, भ्रमण, भेटघाटलगायत गतिविधिबारे पार्टीलाई जानकारी गराउनुपर्ने उनको निर्देशन थियो ।
‘अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनुस् । सांसद र मन्त्री दुवैले आफ्नो व्यवहार र गतिविधिमा संसदीय मर्यादा कायम गर्नुपर्छ,’ उनले भनेका थिए, ‘आफ्ना गतिविधि पारदर्शी बनाउनुपर्छ । संसद्मा बोल्ने विषय, भ्रमण, भेटघाटलगायत गतिविधिबारे पार्टीलाई जानकारी गराउनुपर्छ ।’ रास्वपा २०७९ असार ७ गते स्थापना भएको पार्टी हो । छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्ति बनेको रास्वपाले गत असार ७ देखि १२ गतेसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । तर पार्टी अझै पूर्ण रूपमा संस्थागत भइनसकेको स्वयं लामिछानेले स्वीकार गरेका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले विभिन्न क्षेत्र र पृष्ठभूमिबाट आएका व्यक्तिलाई उम्मेदवार बनाएको थियो । सामाजिक सञ्जालमा चर्चित व्यक्ति, अभियन्ता तथा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपालगायत विभिन्न राजनीतिक दलबाट आएका व्यक्तिहरूलाई समेत पार्टीले टिकट दिएको थियो । यसरी फरक राजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिहरू एकै ठाउँमा रहेकाले पार्टीभित्र साझा राजनीतिक संस्कार र संस्थागत संरचना विकास गर्न समय लाग्ने लामिछानेको बुझाइ छ ।
‘राजनीतिक दल बन्न निश्चित समय लाग्छ । हामी भएकै संरचनामा टिकौँ,’ उनले भनेका थिए । उनले पार्टीभित्रको फरक मतलाई अनुशासन र संवादमार्फत व्यवस्थापन गर्नुपर्ने बताए । सरकारमा रहेका मन्त्री र संसद्मा रहेका सांसदबीच नियमित संवाद र समन्वय नहुँदा समस्या बढ्ने भन्दै उनले आपसी सम्बन्ध सुधार्न आग्रह गरे । रास्वपाले प्रयोग गर्दै आएको आरएसपी पल्स एपलाई पनि थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो । सांसद तथा मन्त्रीहरूले आफ्ना काम र गतिविधिको विवरण नियमित रूपमा एपमा राख्नुपर्ने उनले निर्देशन दिएका थिए । पार्टीको आन्तरिक सूचना प्रणालीलाई व्यवस्थित बनाउँदै सांसद र मन्त्रीका गतिविधिलाई संस्थागत रूपमा अभिलेखीकरण गर्नुपर्ने उनको जोड थियो ।
‘आरएसपी पल्स एपमा गतिविधि अपडेट गर्नुपर्छ । सांसद र मन्त्रीहरूले आफ्ना काम तथा गतिविधिको विवरण नियमित रूपमा एपमा राख्नुपर्छ,’ लामिछानेले भनेका थिए । उनले सांसद तथा मन्त्रीलाई व्यक्तिगत अहंकार त्यागेर आपसी समन्वय र संवादका आधारमा काम गर्न आग्रह गरे । सरकार प्रभावकारी हुनका लागि मन्त्री र सांसदबीच सहकार्य आवश्यक रहेको भन्दै एकअर्कासँग स्पष्ट संवाद गर्न उनले निर्देशन दिए । लामिछानेले संसदीय भूमिकामा सांसद र मन्त्री दुवै मर्यादित, जिम्मेवार र अध्ययनशील हुनुपर्ने बताए । पछिल्लो समय जनताले सरकारबाट तत्काल परिणाम खोज्ने अवस्था बनेको भन्दै प्रचारभन्दा परिणाममुखी काममा ध्यान दिनुपर्ने उनको भनाइ थियो । ‘संसद्मा कसरी प्रस्तुत हुने र आफ्नो भूमिकाअनुसार कसरी व्यवहार गर्ने भन्नेमा ध्यान दिनुपर्छ । जनताले परिणाम खोजेका छन् । प्रचारभन्दा परिणाममुखी काममा ध्यान दिनुस्,’ उनले भनेका थिए । सांसदहरूले आफूलाई प्राप्त अधिकार, सीमितता र जिम्मेवारीबारे अध्ययन गर्नुपर्नेमा पनि उनले जोड दिए । सदनमा कसरी प्रस्तुत हुने, सरकारसँग कसरी समन्वय गर्ने र जनतासँग कसरी जवाफदेही हुने भन्ने विषयमा सांसदहरूले निरन्तर सिकाइ र अध्ययनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
यसैबीच रास्वपा संघीय संसदीय दलको विधानलाई समयानुकूल संशोधन गर्न आवश्यक रहेको निष्कर्ष पनि छलफलमा निकालिएको छ । त्यसका लागि मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय भएको छ । कार्यदलमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल र गणेश कार्की सदस्य रहेका छन् । कार्यदलले संसदीय दलको विधानमा आवश्यक संशोधनका विषय पहिचान गरी प्रस्ताव तयार गर्नेछ । पार्टी र सरकारको बदलिँदो संरचना तथा संसदीय अभ्यासलाई ध्यानमा राखेर विधानलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ । बुधबारको छलफलले रास्वपाभित्र सरकार सञ्चालन, पार्टी संगठन र संसदीय भूमिकाबीच देखिएको दूरीलाई सतहमा ल्याएको छ । सरकारका मन्त्रीप्रति आफ्नै सांसदको असन्तुष्टि र सांसदको भूमिकाप्रति मन्त्रीहरूको गुनासो दुवै सार्वजनिक रूपमा व्यक्त भएपछि लामिछानेले तत्काल मन्त्री परिवर्तनभन्दा कार्यशैली सुधारलाई प्राथमिकता दिएका छन् ।
सरकारमा सहभागी रास्वपाका मन्त्री तथा संसद्मा रहेका सांसदबीच समन्वयको अभाव हटाउने, पार्टी अनुशासन बलियो बनाउने, नियुक्ति प्रक्रियामा योग्यता र समावेशितालाई सन्तुलनमा राख्ने तथा संसद्मा पार्टीको एकरूप प्रस्तुति कायम गर्ने विषय अब रास्वपाको मुख्य चुनौतीका रूपमा देखिएको छ । छोटो समयमै ठूलो राजनीतिक शक्ति बनेको रास्वपाले सरकार सञ्चालनको जिम्मेवारी पाएपछि जनताका अपेक्षा पनि बढेका छन् । यही अवस्थामा पार्टीभित्रैबाट सरकारको कामकारबाहीमाथि प्रश्न उठ्न थालेपछि लामिछानेले मन्त्री र सांसद दुवैलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका हुन् । पार्टी अझै संस्थागत विकासको चरणमै रहेको स्वीकार गर्दै उनले अनुशासन, संवाद, अध्ययन र समन्वयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने सन्देश दिएका छन् ।
अब सरकारको कार्यशैलीमा कति सुधार आउँछ, मन्त्रीहरूको कार्यसम्पादनप्रति सांसदहरूको असन्तुष्टि कसरी सम्बोधन हुन्छ र पार्टी तथा सरकारबीचको समन्वय कसरी बलियो बनाइन्छ भन्ने विषयले रास्वपाको आगामी राजनीतिक यात्रालाई प्रभाव पार्ने देखिन्छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































