गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीलाई न्याय दिन माग गर्दै स्वतन्त्र आमा नेपालले शनिबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागीहरूले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन् । उनीहरूले बलात्कार तथा हत्याजस्ता जघन्य अपराध नियन्त्रणका लागि कडा कानुनी व्यवस्था र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका छन् ।

प्रदर्शनकारीले हातमा विभिन्न मागसहितका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरूले ‘बलात्कारी र हत्यारालाई कडा कानुनी कारबाही गर’, ‘पीडितलाई न्याय देऊ’, ‘बलात्कारीलाई फाँसी दे’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

त्यसैगरी, ‘चाहिँदैन ठूला र चिल्ला सडक, छोरीलाई सुरक्षित हिँड्न सक्ने गल्ली बनाइदेऊ सरकार’ तथा ‘न्याय पाउन के हामीले सरकारको दैलोबाट लास निस्किने दिन कुर्नुपर्ने हो ?’ जस्ता नारामार्फत बालबालिकाको सुरक्षाप्रति राज्य गम्भीर बन्नुपर्ने माग गरिएको थियो ।

बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा साउन ३१ गते घरबाट हराएकी थिइन् । उनको शव भदौ २ गते नजिकैको एक घरभित्र फेला परेको थियो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रदर्शनकारीले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कानुनी सजाय दिलाउनुपर्ने तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन बालबालिकाको सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने माग गरेका छन् ।