काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को आयात उल्लेख्य रूपमा बढेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार साउनमा ६८९ वटा विद्युतीय कार, जीप तथा भ्यान नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ३३० प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको साउनमा १६० वटा मात्रै विद्युतीय कार, जीप तथा भ्यान आयात भएका थिए। यस वर्ष भने विद्युतीय सवारीको माग र आयात दुवै बढेको देखिएको छ । साउनमा आयात भएका ६८९ वटा ईभीका लागि १ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ बराबरको रकम बाहिरिएको छ । तीमध्ये चीनबाट ४८९ वटा, भारतबाट १९९ वटा र अमेरिकाबाट एउटा विद्युतीय सवारी नेपाल ल्याइएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
ईभी आयातबाट सरकारले साउनमा १ अर्ब ६ करोड १६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। आयात मूल्यको तुलनामा यो राजस्व करिब ६५.७ प्रतिशत बराबर हो । गत आर्थिक वर्षको साउनमा भने ईभी आयातमा ४१ करोड ४४ लाख रुपैयाँ बाहिरिएको थियो भने सरकारले २८ करोड २९ लाख रुपैयाँ राजस्व उठाएको थियो। त्यतिबेला आयात मूल्यको तुलनामा राजस्वको हिस्सा ६७.५६ प्रतिशत थियो ।
भन्सार नीति परिवर्तनको प्रभाव
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले विद्युतीय सवारीसाधनको भन्सार दर निर्धारण गर्ने व्यवस्थामा परिवर्तन गरेको छ । यसअघि ईभीमा मोटरको पीक पावरका आधारमा भन्सार दस्तुर निर्धारण हुँदै आएकोमा चालु आर्थिक वर्षदेखि मूल्यका आधारमा भन्सार दस्तुर निर्धारण गर्ने व्यवस्था गरिएको हो ।
नयाँ व्यवस्थापछि ईभी आयातमा सरकारको राजस्व संकलनमा समेत प्रभाव परेको देखिएको छ । यद्यपि, गत वर्षको तुलनामा आयातको परिमाण उल्लेख्य रूपमा बढ्दा कुल राजस्व संकलन पनि बढेको छ ।
अटो शो र चाडपर्वले बढायो बजारको चहलपहल
साउनको अन्तिम साता आयोजना भएको नाइमा मोबिलिटी एक्स्पोले पनि विद्युतीय सवारीको बजारमा चहलपहल बढाउन सहयोग गरेको व्यवसायीहरूको भनाइ छ। अटो शोमा विभिन्न ब्रान्डका नयाँ मोडल प्रदर्शन तथा बिक्रीका लागि ल्याइएकाले त्यसको प्रभाव आयातमा देखिएको उनीहरू बताउँछन् ।
त्यसैगरी, भदौ ९ देखि १४ गतेसम्म नाडा अटो शो आयोजना हुँदैछ। अटो शोमा नयाँ मोडलका सवारीसाधन प्रदर्शन गर्ने तयारीमा रहेका व्यवसायीले त्यसअघि नै सवारीसाधन आयात बढाएका हुन् । चाडपर्वसमेत नजिकिँदै गएकाले आगामी दिनमा विद्युतीय सवारीको माग अझ बढ्न सक्ने व्यवसायीहरूको अपेक्षा छ। नयाँ मोडलको आगमन, अटो शो तथा चाडपर्वको समयमा हुने सवारीसाधनको मागले ईभी बजारलाई थप चलायमान बनाउने उनीहरूको विश्वास छ ।




































