नेपाली प्रविधि ‘टिङटिङ’ अन्तर्राष्ट्रिय उडान

काठमाडौँ ।  नेपालमा विकास भएको सूचना प्रविधि विश्व बजारमा पुर्‍याउने दिशामा एक महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ ।

स्वदेशमा आफ्नो प्रभावकारी सेवा विस्तार गरिरहेको एआई–आधारित (एआई–पावर्ड) व्यावसायिक सञ्चार प्लाटफर्म टिङटिङले अब अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति बलियो बनाउन थालेको छ । यसै क्रममा टिङटिङले श्रीलंकाको सबैभन्दा ठुलो र अग्रणी दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटासँग रणनीतिक व्यावसायिक सम्झौता गरेको छ। सम्झौतापत्रमा प्रिक्साका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनिष शर्मा र डायलगका इनोभेसन एन्ड प्लाटफर्म्स बिजनेस प्रमुख तथा उपाध्यक्ष विरङ्गा सेनेभिरत्नेले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि प्रिक्साका सीईओ शर्माले डायलगजस्तो बलियो साझेदारसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित भएको बताए। उनले यो साझेदारी व्यवसायमा मात्र सीमित नभई नेपाल र श्रीलंकालाई जोड्ने एक मजबुत प्रविधि इकोसिस्टम निर्माणमा सहयोगी बन्ने विश्वास व्यक्त गरे । कम्पनीले श्रीलंकाका बजारमा आफ्ना अत्याधुनिक उत्पादन उपलब्ध गराउन थालेको छ। कम्पनीको एकीकृत ‘टिङटिङ कम्युनिकेसन सुइट’अन्तर्गत कनेक्ट, ओम्नी, ब्रोडकास्ट र एजेन्ट गरी चार प्रमुख उत्पादन एउटै आर्किटेक्चरमा आधारित रहेर सञ्चालन गरिएका छन् । यसले व्यवसायलाई पहुँच, स्वचालन र स्केलदेखि ग्राहक बुझाइसम्म पुर्‍याउन मद्दत गर्छ। कम्पनीले संस्थाकै पूर्वाधारभित्र जडान हुने र ‘द बक्स’ अन–प्रिमाइस उपकरणमार्फत डेटा संस्थाभित्रै सुरक्षित राखेर सञ्चालन गर्न सकिने ‘टिङटिङ कनेक्ट’ उपलब्ध गराएको छ ।

यस्तै ह्वाट्सएप, भाइबर, मेसेन्जर, वेबच्याट र एसएमएससहित सबै डिजिटल च्यानलका ग्राहक संवादलाई एउटै इनबक्समा एकीकृत गर्ने ‘टिङटिङ ओम्नी’ तथा हजारौँ ग्राहकसम्म एकैपटक स्वचालित भ्वाइस कलमार्फत सूचना र रिमाइन्डर पठाउन सकिने ‘टिङटिङ ब्रोडकास्ट’ प्रणालीसमेत समावेश छन् । साथै स्थानीय भाषामै ग्राहकसँग प्रत्यक्ष कुराकानी गर्ने र आवश्यकताअनुसार मानव एजेन्टलाई संवाद हस्तान्तरण गर्ने क्षमता भएको ‘टिङटिङ एजेन्ट्स’ पनि यस प्लाटफर्मको मुख्य आकर्षण हो । नेपाली भाषाका साथै यी सबै सेवा तथा सुविधा अहिले अंग्रेजी र सिंहली भाषामा समेत उपलब्ध छन्। श्रीलंकाली बजारलाई थप प्रभावकारी बनाउन कम्पनीले भ्वाइस मोडलिङतर्फ तमिल र सिंहली (श्रीलंकन) भाषाको परिष्कृत मोडलिङमा तीव्र गतिमा काम गरिरहेको छ ।

पछिल्लो समय नेपाल सूचना प्रविधि र सफ्टवेयर निर्यातको सम्भावनायुक्त केन्द्रका रूपमा उदाइरहेको सन्दर्भमा यो सम्झौतालाई नेपाली टेक उद्योगकै लागि ठुलो माइलस्टोनका रूपमा हेरिएको छ । ‘नेपालमा निर्मित, विश्वका लागि’ सोचका साथ अघि बढेको टिङटिङको यो कदमले नेपाली स्टार्टअपले विश्वस्तरीय उत्पादन विकास गरेर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने बलियो सन्देश दिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।