पिकलबल विश्वकपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा

काठमाडौं । पिकलबल संघ नेपालले सन् २०२६ मा हुने पिकलबल विश्वकपका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ।

नेपालमा पिकलबल खेलको विकास, विस्तार र अन्तर्राष्ट्रिय पहिचानका लागि पछिल्ला पाँच वर्षदेखि सक्रिय संघले पहिलोपटक राष्ट्रिय टोलीसहित विश्वकपमा सहभागिता जनाउन लागेको हो।
नेपालमा छोटो समयमै पिकलबल विभिन्न उमेर समूह र समुदायमा लोकप्रिय बन्दै गएको संघले जनाएको छ। पूर्वी नेपालको झापादेखि पश्चिम सुर्खेत र जुम्लासम्म तथा हिमाली क्षेत्रदेखि तराईसम्म यो खेल विस्तार भइरहेको छ। विद्यालय तहदेखि नै पिकलबलको विकास गर्ने उद्देश्यले संघले ‘विद्यालयदेखि ओलम्पिकसम्म’ अभियानअन्तर्गत प्रशिक्षण, खेल गतिविधि तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

लन टेनिस, टेबल टेनिस र ब्याडमिन्टनका विशेषता समेटिएको पिकलबल तुलनात्मक रूपमा कम खर्चमा खेल्न सकिने र सीमित पूर्वाधारमै सञ्चालन गर्न सकिने भएकाले नेपालका लागि उपयुक्त खेलका रूपमा विकास भइरहेको संघको भनाइ छ। नेपाली खेलाडीहरूले भारत, थाइल्यान्ड, सिंगापुर, मलेसिया, स्पेन, बेलायत र अमेरिकालगायतका देशमा भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदकसमेत जितिसकेका छन्।

पिकलबललाई पर्यटनसँग जोडेर विदेशी खेलाडी तथा पर्यटक आकर्षित गर्न सकिने सम्भावना रहेको संघले जनाएको छ। राष्ट्रिय टोलीको सहभागिताका लागि निजी क्षेत्रबाट पनि सहयोग प्राप्त भएको छ। मुख्य प्रायोजकका रूपमा बाम बाम हाइड्रेसन ड्रिंक्स रहेको छ भने विभिन्न व्यवसायिक संस्थाले समेत सहयोग गरेका छन्।

संघका अध्यक्ष सौरभ भण्डारीले विश्वकपमा नेपालको सहभागिता खेलाडी, प्रशिक्षक, अभिभावक, प्रायोजक र समग्र पिकलबल परिवारको निरन्तर प्रयासको परिणाम भएको बताएका छन्। उनले नेपाली टोलीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा रहेको बताए ।

सन् २०२६ को विश्वकपमा ६४ देश सहभागी हुनेछन् । नेपालले खुला र ज्येष्ठ समूहमा प्रतिस्पर्धा गर्नेछ। खुला समूहमा अस्ट्रेलिया, बेल्जियम र केन्यासँग तथा ज्येष्ठ समूहमा दक्षिण अफ्रिका, भारत र जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता अगस्ट २० देखि सेप्टेम्बर ६ सम्म भियतनामको दा नाङमा हुनेछ।