बागमतीमा राप्रपाका सांसदको फ्लोर क्रस

काठमाडौँ । मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

मंगलबार साँझ बसेको प्रदेश सभा बैठकमा भएको मतदानमा मगरले ५७ मत प्राप्त गर्दै विश्वासको मत सिद्ध गरेका हुन् । १०४ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५३ मत आवश्यक पर्ने थियो । उनले ५७ मत प्राप्त गरेका हुन् । उनको पक्षमा सत्तारूढ नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले मतदान गरेका छन् । एमालेको २४, नेकपाको २६ र राप्रपाको सात गरी ५७ सांसदको समर्थन प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री मगरले विश्वासको मत लिनुअघि भने सत्ता गठबन्धनभित्रै विवाद देखिएको थियो। सरकारमा मन्त्रालयको भागबण्डा, मन्त्री छनोट र पावर सेयरिङका विषयमा नेकपाका केही सांसद असन्तुष्ट थिए । विवादका कारण उनीहरू बैठकमा सहभागी हुने वा नहुने विषयमा समेत अन्योल देखिएको थियो । प्रदेश सभा बैठक सुरु हुनुअघि सत्तारुढ तीन दलबीच ६ बुँदे सहमति पश्चात बैठक सुरु भएको हो । राप्रपाभित्र पनि संसदीय दलका नेता उद्धव थापाको विषयलाई लिएर विवाद कायम थियो। पार्टी केन्द्रको निर्देशनविपरीत सरकार गठनमा समर्थन गरेको भन्दै राप्रपाले थापामाथि कारबाही गरेको थियो ।

राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन ह्विपसमेत जारी गरेकी थिइन् । तर राप्रपाका सात सांसदले फ्लोर क्रस गरेर विश्वासको मत दिएका हुन् । राप्रपाबाट विश्वासको मतको पक्षमा मतदान गर्नेमा संसदीय दलका नेता उद्धव थापा, सांसदहरू गिरबहादुर तामाङ, राजु श्रेष्ठ, राजेन्द्र प्रजापति, मनिका श्रेष्ठ, नुरज बज्राचार्य र डम्बर तामाङ रहेका छन् । यसअघि सत्तारुढ दलबीच सहमति नजुट्दा सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक साँझ ५ बजेका लागि सारिएको थियो । साँझ पनि बैठक बस्न नसकेपछि पुनः राति ८ बजेका लागि सारिएको थियो । विवाद साम्य नभएपछि प्रदेश सभाको बैठक स्थगित गरिएको थियो ।

मंगलबार पनि निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो गरी बैठक सञ्चालन भएको हो । लामो छलफल र राजनीतिक रस्साकस्सीपछि बसेको बैठकमा विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाइएको हो । ५७ सांसदको समर्थन पाएसँगै मुख्यमन्त्री मगर नेतृत्वको सरकार तत्कालका लागि सुरक्षित भएको छ । विश्वासको मत लिने प्रयोजनमा राखेको प्रदेश सभा बैठकमा प्रतिपक्षी दलहरू भने अनुपस्थित रहे । नेपाली कांग्रेस, नेपाल मजदूर किसान पार्टी र हाम्रो नेपाली पार्टी प्रदेश सभा बैठकमै सहभागी भएनन् ।

बागमती प्रदेश सभामा रहेका ६ दलमध्ये तीन सत्तारुढ दलहरू मात्रैको उपस्थितिमा मुख्यमन्त्री मगरले विश्वासको मत लिएका हुन् ।

 प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।