काठमाडौँ । रसुवाको टिमुरेस्थित लेन्दे खोलामा आएको भीषण बाढीले भन्सार नाका, बजार क्षेत्र तथा आसपासका संरचनामा ठूलो क्षति पुर्याएको छ ।
अविरल वर्षापछि आएको बाढीले भन्सार क्षेत्रका संरचना, सवारीसाधन, सामग्री तथा नवनिर्मित पुलसमेत बगाएको छ ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बाढीले टिमुरेसहित आसपासको अर्को बजारसमेत प्रभावित भएको छ । बाढीको बहाव अत्यधिक रहेकाले क्षतिको यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको उनले बताए ।
भन्सार क्षेत्रमा ठूलो सङ्ख्यामा सवारीसाधन तथा विभिन्न सामग्री राखिएका थिए । बाढीले तीमध्ये धेरै सामग्री तथा सवारीसाधन बगाएको रसुवाका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाले जानकारी दिए ।
“बाढीले ठूलो क्षति गरेको छ । बजार र भन्सार पूरै बगाएको छ । हामी अहिले जंगलमा बसिरहेका छौँ । अस्ति भर्खर निर्माण गरेको पुलसमेत बगेको छ,” उनले भने ।
बाढीका कारण नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको रसुवागढी क्षेत्रसमेत प्रभावित भएको छ । भन्सार यार्ड, सवारीसाधन तथा अन्य पूर्वाधारमा क्षति पुगेपछि सीमा व्यापारमा समेत असर पर्ने देखिएको छ ।
लेन्दे खोलामा यसअघि पनि बाढी आउने गरेको भए पनि पछिल्लो बाढीको बहाव अत्यधिक रहेकाले ठूलो क्षति भएको स्थानीय प्रशासनले जनाएको छ । बाढीले बजार तथा भन्सार क्षेत्रका संरचनामा क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा थप जोखिमसमेत बढेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भन्दै रसुवासहित धादिङ र नुवाकोटका नदी तथा खोलाको किनारमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । “तटीय क्षेत्रमा अहिले नै सतर्कता अपनाउनुपर्ने देखिन्छ,” अधिकारीले भने ।
प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोलाको बहाव बढेको अवस्थामा सुरक्षित स्थानमा जान र अनावश्यक रूपमा तटीय क्षेत्रमा नजान आग्रह गरेको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलनका लागि सम्बन्धित निकाय परिचालन हुने बताइएको छ ।


































