काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतलाई तत्काल प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् ।
बुधबार जारी विज्ञप्तिमार्फत अध्यक्ष लिङ्देनले टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरणले आफूहरू अत्यन्तै मर्माहत भएको बताएका छन् । उनले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
क्षतिको पूर्ण विवरण आइनसकेको अवस्थामा राज्यका सबै संयन्त्रलाई उच्च सतर्कता र तत्परताका साथ परिचालन गर्नुपर्नेमा लिङ्देनले जोड दिएका छन् । उनले मानवीय जीवनको रक्षा, बेपत्ताको खोजी, उद्धार, घाइतेको उपचार तथा प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने कामलाई पहिलो प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
भोटेकोशी, त्रिशूली तथा तल्लो तटीय क्षेत्रमा जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने उनको भनाइ छ । साथै, प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउन तथा खाद्यान्न, औषधि, खानेपानी र अस्थायी आवासको तत्काल व्यवस्था गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताएका छन् ।
लिङ्देनले विपद्को समयमा सरकारको उपस्थिति कागज वा कार्यालयमा मात्र सीमित नभई पीडित नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी घरदैलोमै देखिनुपर्ने बताएका छन् । “विपद्को घडीमा सरकारको उपस्थिति पीडित नागरिकको घरदैलोमा अनुभूति हुने गरी देखिनुपर्छ,” उनले भनेका छन् ।
बाढीबाट थप मानवीय क्षति हुन नदिन उद्धार तथा राहतका काममा राज्यका सम्पूर्ण संयन्त्र तत्काल परिचालन गर्नुपर्नेमा उनले जोड दिएका छन् । विपद्को यस कठिन समयमा राप्रपा प्रभावित नागरिकको साथमा रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।
अध्यक्ष लिङ्देनले राप्रपाका सबै तहका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायसँग समन्वय गरी उद्धार, राहत तथा मानवीय सहयोगका काममा सक्रिय हुन आह्वान गरेका छन् ।
विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपुरलगायत जिल्लाका पार्टी नेतृत्व तथा सदस्यलाई तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सम्भावित जोखिमबाट जोगाउन तथा आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गर्न उनले आग्रह गरेका छन् ।
उनले प्रभावित क्षेत्रमा आवश्यक सहयोग र सहजीकरणका लागि पार्टीका तर्फबाट सम्भव भएसम्म सबै प्रयास गरिने बताएका छन् । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको दुःखमा राप्रपा साथमा रहेको सन्देश दिँदै लिङ्देनले विपद्को अवस्थामा सबै पक्ष एकजुट भएर राहत तथा उद्धारमा जुट्नुपर्नेमा जोड दिएका छन् ।




































