काठमाडौं । रसुवा बाढीका कारण ठूलो जनधनको क्षति भयो । अहिलेसम्म कति क्षति भयो भन्ने कुनै आकलन गर्न सकिने अवस्था छैन ।
सरकारले तीव्ररुपमा उद्धारको काम जारी राखेको छ । त्यस्तै राहतलाई पनि प्राथमिकता दिएको छ । अहिलेसम्म करिब ४ सय जनाको शव फेला परिसकेको छ । सयौँको उद्धार भएको छ भने अझै सयौँको संख्यामा सम्पर्कविहीन छन् । विभिन्न जिल्लाबाट आफ्ना नागरिक सम्पर्कमा नआएको सूचनाहरु आउन थालेका छन् ।
सिन्धुपाल्चोकका २२४ सम्पर्कविहीन
भोटेकोसीमा आएको बाढीपछि सिन्धुपाल्चोकका २२४ व्यक्ति सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भोटेकोसी गाउँपालिकाका ६५ बाह्रबिसे नगरपालिकाका ५९, बलेफी गाउँपालिकाका २९, सम्पर्कबिहीन भएको जानकारी दिए । त्यसैगरी, जुगलका १६, चौतारा साँगाचोकगढी नगरपालिकाका १४, मेलम्ची नगरपालिकाका १४, सुनकोशी गाउँपालिकाका १४, त्रिपुरासुन्दरी गाउँपालिकाका पाँच, हेलम्बु गाउँपालिकाका चार र लिसङ्खुपाखर गाउँपालिकाका तीन जना पनि सम्पर्कविहीन भएका छन् । सिन्धुपाल्चोकबाट कैलाशमान सरोवर जाने विदेशीका गाइड, भरिया, व्यापारी, गोसाइँकुण्ड गएका तीर्थयात्री, हाइड्रोपावरमा काम गर्ने जनशक्ति र रसुवा भन्सार कार्यालय आसपास व्यापारिक काम गर्ने नागरिक सम्पर्कविहीन भएका हुन् ।
बाजुराका १३ जना सम्पर्कविहीन
बाजुरा, ११ भदौः रसुवाको भोटेकोसी नदीमा गएको बाढीपछि हालसम्म बाजुराका १३ जना सम्पर्कविहीन भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा स्थायी ठेगाना भई त्यस क्षेत्रमा रहेका उनीहरु सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए ।
उनका अनुसार हिमाली गाउँपालिकाका १९ वर्षीय दीपक रोकाया, ५० वर्षीया विष्णुमती रोकाया, ३५ वर्षीय आराम नेपाली, ३२ वर्षीय मोहनलाल रोकाया, विक्रम भण्डारी, ५५ वर्षीय बिसी पाण्डे र नेपाली सेनामा कार्यरत ४५ वर्षीय दिपेश सार्की सम्पर्कविहीन छन् । यस्तै, स्वामीकार्तिक खापर गाउँपालिकाका ४० वर्षीय मनऋषि सञ्ज्याल, ३८ वर्षीया मनकला सञ्ज्याल, १८ वर्षीया सुस्मिता जोशी, ४६ वर्षीय वीरेन्द्र जैशी, ४४ वर्षीया सत्यादेवी जैशी र जगन्नाथ गाउँपालिकाका २९ वर्षीय मुकेश दमाई हालसम्म सम्पर्कमा नआएको जानकारी प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी पुडासैनीले बताए । विभिन्न कामका लागि त्यस क्षेत्रमा पुग्नुभएका उनहरु अहिलेसम्म पनि सम्पर्कमा नआएपछि आफन्तहरु चिन्तित बनेका छन् भने खोजी कार्यका लागि सबैलाई अनुरोध गरिरहेका छन् ।
अर्घाखाँचीका नौ जना सम्पर्कविहीन
रसुवास्थित भोटेकोसीमा गएको बाढीमा परी अर्घाखाँची जिल्लाबाट त्यस क्षेत्रमा काम गर्ने तथा घुम्ने सिलसिलामा रसुवा पुगेका नौ जना व्यक्ति सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीनको खोजी गरिदिन आफन्तबाट आग्रह गरेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक दिवसबहादुर जिसीले जानकारी दिए । जिल्लाको पाणिनी–३ धावा घर भई टिमुरेमा स्काभेटर चालकमा कार्यरत २९ वर्षीय प्रशान्त रेश्मी, सन्धिखर्क नगरपालिका–८ का २२ वर्षीय सुमित मल्ल ठकुरी, मालारानी गाउँपालिका –५ बाँगीका ४० वर्षीय नारायण पन्थी र भूमिकास्थान नगरपालिका–९ का मनिकला राना र काप्लेकी तारा राना सम्पर्कविहीन छन् ।
यसैगरी, शीतगङ्गा नगरपालिका–४ का इन्जिनियर सुबोध बेल्बासे, पाणिनी गाउँपालिका–७ नारायण थापा, भूमिकास्थान नगरपालिका–१० का लुकबहादुर क्षेत्री र भूमिकास्थान–८ कृष्णबहादुर श्रेष्ठ पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । यसैगरी, लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट काम तथा भ्रमणको सिलसिलामा रसुवा पुगेका ९७ जना अझै सम्पर्कविहीन रहेका लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको विपद् व्यवस्थापन शाखाले जनाएको छ ।
सम्पर्कविहीन त्यहाँस्थित जलविद्युत् आयोजना, निर्माण तथा अन्य कामका लागि रसुवा पुगेका थिए । केही सरकारी सेवामा कार्यरत तथा केही घुम्न रसुवा पुगेका व्यक्ति पनि बेपत्ता भएको जनाइएको छ । यसैबीच, मुख्यमन्त्री चेतनारायण आचार्यले विपद्मा परी सम्पर्कबाहिर रहेका नागरिकको खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । उनले सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन
भोटेकोसीको बाढीमा परी रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भएका छन् । सुनिल स्मृति गाउँपालिकाका १० र रुन्टिगढी गाउँपालिकाका ६ गरी १६ व्यक्ति सम्पर्कबिहीन भएका हुन् । सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले वडा नं ६ का पाँच जना क्रमशः राजेन्द्र महत, बसन्त महरा, सञ्जय महत, कुमार महरा, रविलाल भण्डारी, यसैगरी, वडा नं ५ का चार जना हरिबहादुर घर्तीमगर, आर्यन घर्ती, सोम बहादुर घर्ती, अनराम पुन र वडा नं ३ का बहादुर पुन भएको जानकारी दिए ।
यसैगरी, रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले वडा नं ८ का छ जना व्यक्ति क्रमशः गीता बस्नेत, हस्तबहादुर बस्नेत, गोपाल पुन, गोपाल परियार, विकास परियार र ध्रुवबहादुर बुढामगर रहेका छन् । जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला प्रहरी कार्यालय रोल्पाले सूचना प्रकाशित गर्दै जिल्लाका गाउँबाट भोटेकोसी बाढी प्रभावित क्षेत्रमा काम गर्न गएको र सम्पर्कबिहीन भएका छन् भने उक्त व्यक्तिको विवरण तत्काल जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा टिपाउन वा खबर गर्न जानकारी गराएको छ ।
बाँकेका २२ जना सम्पर्कविहीन
बाढीका कारण बाँकेका १६ सहित २२ जना नागरिक सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन १६ जना बाँकेका स्थायी बासिन्दा हुन् । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै यहाँका सम्पर्कविहीन नागरिकको फोटोसहितको व्यक्तिगत विवरण तयार गरी खोजी कार्यका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए । उनका अनुसार सम्पर्कविहीन भएकामध्ये १६ जना बाँकेका स्थायी बासिन्दा, बाँकेमा अस्थायी रूपमा बसोबास गरिरहेका चार जना नेपाली नागरिक तथा दुई जना भारतीय पर्यटक रहेका छन् ।
प्रशासनले सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेमा बाजुराका वीरेन्द्र जोशी र सत्या जोशी, भारतको मुम्बईका सञ्जय पाटिल र नलिनी पाटिल, बर्दियाका विष्णु भण्डारी र हरिकुमार कुश्मी थारू तथा बाँकेको कोहलपुरका सशस्त्र प्रहरी सहायक निरीक्षक भोजराज जोशी, राप्तीसोनारीका सुरेश विक, सेतुनाथ सेढाई, योगमाया पुनमगर र जानकी घर्ती, नेपालगञ्जका शेरसिंह रोकाया, विष्णुमती रोकाया, दीपक रोकाया, अराम दमाई र उजला दमाई रहेका छन् ।
त्यसैगरी, बारबर्दियाका मनबहादुर थारु, डुडुवाका सुरजकुमार मोर्य, कोहलपुरका मायादेवी थारू, सुनसरी चौधरी, अनिता चौधरी र सीता थारू पनि सम्पर्कविहीनको सूचीमा छन् । प्रजिअ तामाङले रसुवा क्षेत्रमा रोजगारी, अध्ययन वा भ्रमणका सिलसिलामा गएका अन्य व्यक्ति सम्पर्कविहीन भए स्थानीय प्रहरी, जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित वडामा जानकारी गराउन सबैलाई आग्रह गरे ।
प्राप्त सूचनाका आधारमा सम्पर्कविहीनहरूको विवरण सङ्कलन गरी खोजी कार्यका लागि सम्बन्धित निकायसँग समन्वय गरिने उनले बताए । प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार सम्पर्कविहीनको सूचीमा सशस्त्र प्रहरी बल र नेपाली सेनामा कार्यरत केही कर्मचारी पनि छन् । अस्थायी रूपमा बाँकेमा बसोबास गरिरहेकामध्ये बर्दियाका दुई जना टिमुरेस्थित भन्सार कार्यालयमा ‘लोडअनलोड’को काममा संलग्न रहेका प्रारम्भिक जानकारी प्राप्त भएको उनले जानकारी दिए ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एकद्वार प्रणालीमार्फत आर्थिक सहयोग गर्न जिल्लावासीसँग अपिल गरेको छ । नेपाल सरकारले प्रभावितको अस्थायी व्यवस्थापन र दीर्घकालीन पुनःस्थापनाका लागि राहत कोषमा सहयोग गर्न आह्वान गरिसकेको उल्लेख गर्दै प्रजिअ तामाङले सबैलाई उक्त कोषमा आर्थिक सहयोगका लागि अनुरोध गरे ।
उनले सम्पर्कविहीन भएकाहरूको जानकारीसम्बन्धी सूचना जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाइ, स्थानीय तह तथा वडा कार्यालयमार्फत उपलब्ध गराउन सकिने जनाउँदै त्यसका आधारमा खोजी कार्यलाई थप प्रभावकारी बनाइने बताए ।
बागलुङका नौ जना सम्पर्कविहीन
भोटेकोसीमा आएको बाढीपछि त्यहाँका जलविद्युत् आयोजनामा कार्यरत बागलुङका नौ जना सम्पर्कविहीन भएका छन् । रसुवा र नुवाकोट क्षेत्रमा आएको बाढीका कारण बागलुङको तमानखोला गाउँपालिकाका नौ जना नागरिक सम्पर्कविहीन भएका तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।माथिल्लो त्रिशूली जलविद्युत् आयोजना (अपर त्रिशूली हाइड्रोपावर २१६ मेगावाट, ड्यामसाइड हाकुबेँसी) तथा सोही क्षेत्र आसपासमा कार्यरत नौ जना स्थानीय बाढीपछि सम्पर्कविहीन भएका उनले उल्लेख गरे ।
अध्यक्ष बुढाका अनुसार बाढीपछि तमानखोला–१ का ३७ वर्षीय पदमबहादुर घर्तीमगर, सोही स्थानका ३२ वर्षीय इन्द्रकुमार विक, तमानखोला–१ रिक्लाङ्गका २२ वर्षीय विष्णु घर्तीमगर, तमानखोला–२, बोङ्गाखानीका ३७ वर्षीय भीमबहादुर छन्त्याल, सोही स्थानका ५० वर्षीय खड्क छन्त्याल, तमानखोला–३, तमानका २२ वर्षी सञ्जय शेर्पाली, सोही स्थनाका ५० वर्षीय दलप्रसाद बुढा, तमानखोला–४ लाममेलाका ५८ वर्षीय लाता कामी र सोही स्थानका ४७ वर्षीय भीमबहादुर विक सम्पर्कविहीन भएका छन् ।
बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले अहिलेसम्म तमानखोलाबाट नौ जना सम्पर्कविहीन भएका जानकारी आएको बताउँदै अन्य पालिकाबाट पनि विभिन्न काम तथा भ्रमणमा गएका नागरिक हुनसक्ने आशङ्का गरिएको बताए ।
यसैबीच, भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बागलुङको गलकोट नगरपालिकाले रु छ लाख ९० हजार राहतस्वरुप सहयोग पठाउने निर्णय गरेको छ । बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै गलकोट नगरपालिका, जनप्रतिनिधि र कर्मचारीका तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय गरिएको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए । उक्त रकम सरकारको कोषमा जम्मा गरिने छ ।
विपद्को यस कठिन घडीमा स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, सामाजिक सङ्घसंस्था, राजनीतिक दल, निजी क्षेत्र तथा नागरिकबीच सहकार्य र मानवीय सहयोग गर्न अपिलसमेत गरिएको छ ।
महोत्तरीका १० जना सम्पर्कविहीन
बाढीसँगै महोत्तरीका १० जना सम्पर्कविहीन भएका छन् । रसुवाका विभिन्न विद्युत् उत्पादन केन्द्रमा कार्यरत र कामविशेषले त्यता गएकाहरु सम्पर्कविहीन भएका हुन् । महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्पर्कविहीनको अवस्था यकिन गर्न प्रयत्न भइरहेको जानकारी दिए ।
बर्दिबास–३ का सौभाग्य बिष्ट, बर्दिबास–९ की जोया राना मगर, पिपरा–३ का विकास यादव, औरही–३ का सचिनकुमार यादव, गौशाला–९ का विजय थापामगर, लोहारपट्टि–७ का युवराज पाण्डे र गौशाला–८ बेलगाछीका शीतल लुङ्गेली, निजकी पत्नी सरिता लुङ्गेली तथा छोरा साइमन लुङ्गेली सम्पर्कविहीन भएका हुन् । उनीहरु विद्युत् उत्पादन केन्द्रमा कार्यरत रहेका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । बुधबार बिहान ८ः०० बजेपछि छोरासँग सम्पर्क नभएको सौभाग्य बिष्टका पिता ध्रुवकुमार बिष्टले बताए ।
सर्लाहीका नौ जना सम्पर्कविहीन
भोटेकोसी नदीमा आएको बाढीका कारण सर्लाहीका नौ जना सम्पर्कविहीन भएका छन् । लालबन्दी नगरपालिका–९ निवासी माधव काफ्ले, अनुज काफ्ले, लालबन्दी नगरपालिका–५ का कृष्णप्रसाद धमला, द्वारिका दङ्गाल र चिरञ्जीवी खतिवडा सम्पर्कविहीन भएका हुन् । उनहरु केही दिनअघि गोसाइँकुण्ड तीर्थयात्रामा जानुभएको थियो ।
सोही बाढीका कारण हरिवन नगरपालिका–११ कडरिया चोक निवासी सक्षम कार्की र मनिल कायस्थ पनि सम्पर्कविहीन हुनुभएको परिवारजनले बताएका छन् । उनीहरु साथीहरूसँग मिलेर रसुवाको गोसाइँकुण्ड यात्रामा जानुभएको र बुधबार बिहानबाट सम्पर्कविहीन हुनुभएको मनिलका बुबा बालगोपाल कायस्थले जानकारी दिए । भोटेकोसीको बाढीले त्रिशूली ‘३बी’ जलविद्युत् आयोजनामा कम गर्ने सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीका प्राविधिक सुनिलकुमार कुशवाहा र ईश्वरपुर नगरपालिका–७ बयलबासका लक्ष्मण श्रेष्ठ सम्पर्कविहीन छन् ।
उनीहरु कार्यरत आयोजना बाढीले ध्वस्त बनाएपछि उनहरु सम्पर्कविहीन भएका हुन् । उनीहरूको खोजीका लागि परिवारले हारगुहार गरेका छन् । जिल्ला प्रहरी कार्यालयले एक सूचना सार्वजनिक गर्दै बुधबार बिहान भोटेकोसी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रबाट सम्पर्कविहीन हुनुभएको आफन्तको विवरण उपलब्ध गराई दिन आग्रह गरेको छ ।
कैलालीका ४० जना सम्पर्कविहीन
बाढीपछि हालसम्म कैलालीका ४० जना सम्पर्कविहीन रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा काम, व्यवसाय तथा अन्य सिलसिलामा पुगेका कैलालीका ४० जना नागरिकको हालसम्म परिवार तथा आफन्तसँग सम्पर्क हुन नसकेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ । सम्पर्कविहीनहरूका सम्बन्धमा थप विवरण सङ्कलन तथा खोजीका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको तिमिल्सेनाले बताए । उनका अनुसार रसुवामा आएको बाढीपछि जिल्लाबाट विभिन्न कामका लागि गएका व्यक्तिहरूको अवस्था बुझ्ने क्रम जारी छ । सम्पर्कविहीन भएका व्यक्तिहरूको यकिन विवरण सङ्कलन गरी खोजी तथा उद्धारमा सहजीकरण भइरहेको प्रहरीले जनाएको छ ।
रसुवाको भोटेकोसी नदीमा बुधबार बिहान आकस्मिक आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको छ । पछिल्लो विवरणअनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको छ भने अझै सयौँ मानिस सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीन व्यक्तिहरूको सङ्ख्या तथा अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले बताए । उनका अनुसार प्रहरीले कैलालीका बेपत्ता व्यक्तिका परिवार तथा आफन्तबाट प्राप्त सूचनालाई समेत आधार बनाएर विवरण अद्यावधिक गरिरहेको छ ।
पर्सा जिल्लाका १६ जना सम्पर्कविहीन
भोटेकोसी नदीमा आएको बाढीमा परी पर्सा जिल्लाका १६ जना नागरिक सम्पर्कविहीन भएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार रसुवाका विभिन्न स्थानमा कार्यरत तथा बसोबास गर्दै आएका पर्सा जिल्लाका १६ जना नागरिक हालसम्म सम्पर्कमा नआएको जनाएको छ ।
प्रहरीका अनुसार पर्साबाट नारायण पटेल, सुबोध पटेल, अरुण हजरा, श्यामबाबु ठाकुर, उकेश दंगोल, सञ्जय तामाङ, आकाश तामाङ, कमरुल होदा अंसारी, सुभाष पटेल, समिम देवान, अनुतम बहादुर श्रेष्ठ, अभिषेक बस्तोला, घनश्याम बस्तोला, दिनेश परियार र पृथ्वी चौधरीसहित १६ जना सम्पर्कविहीन छन् । त्यस्तै गोरखाका ३१ जना सम्पर्कविहीन छन् । उनीहरुबारे परिवारका सदस्यहरुले केही जानकारी नआएको बताएका छन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।


































