नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा निधन

ओस्लो । नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उनको निधनसँगै ५३ वर्षीय छोरा युवराज हाकोन स्वतःनर्वेको नयाँ राजा बनेका दरबारले जनाएको छ ।

शाही दरबारका अनुसार राजा हेराल्डको शुक्रबार बिहान ६ः३५ बजे ओस्लो विश्वविद्यालय अस्पतालमा शान्तिपूर्वक निधन भएको हो । उनि अगस्ट १७ देखि हेमोलिटिक एनीमियाको उपचारमा थिए । स्वास्थ्य अवस्था गम्भीर बनेपछि रानी सोन्जा, युवराज हाकोन, युवराज्ञी मेट्टे–मेरिटसहित परिवारका सदस्य अस्पताल पुगका थिए ।

राजाको निधनपछि शाही दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ । राजाको निधनको खबरपछि सर्वसाधारणले दरबारमा फूल चढाउँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनलाई सरल, आत्मीय र सबैलाई समेट्ने राजाका रूपमा स्मरण गरिएको छ ।

राजा हेराल्ड सन् १९९१ मा सिंहासनमा बसेका थिए । पछिल्ला वर्षमा विभिन्न स्वास्थ्य समस्याका कारण उनले पेसमेकर राखेका थिए र आधिकारिक कार्यक्रमसमेत घटाएका थिए । यद्यपि संसद्समक्ष जीवनभर सेवा गर्ने शपथ लिएको भन्दै उनले पदत्याग गर्न अस्वीकार गर्दै आएका थिए । राजाको स्वास्थ्य अवस्था बिग्रिएपछि प्रधानमन्त्री जोनास गह्र स्टोरले जर्मनीको कार्य भ्रमण रद्द गरेका थिए ।

यसैबिच, शाही परिवार पछिल्लो वर्ष स्वास्थ्य समस्या र विभिन्न विवादका कारण चर्चामा रह्यो । रानी सोन्जा पनि मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए । युवराज हाकोनकी पत्नी मेट्टे–मेरिटको जेफ्री एपस्टिनसँगको सम्बन्ध सम्बन्धी विवरण सार्वजनिक भएपछि विवाद उत्पन्न भएको थियो ।

उनका छोरा मारियस बोर्ग होइबीलाई बलात्कारलगायत ३२ अभियोगमा चार वर्षको जेल सजाय सुनाइएको छ भने उनले फैसलाविरुद्ध अपिल गरेका छन् । राजा हेराल्डको सरल जीवनशैली र समावेशी भूमिकाका कारण उनि नर्वेली जनतामाझ लोकप्रिय रहेका थिए । उनको निधनपछि युवराज हाकोनले राजगद्दी सम्हालेका छन् ।