रसुवा नाकाबाट सम्पर्कविहीन रत्ननगरका ललित सारु मगरको खोजीमा परिवारको अपिल

 चितवन । रत्ननगर नगरपालिका–१४ निवासी करिब ५९ वर्षीय ललित सारु मगर भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन् ।

बाढीपछि आफन्तसँग सम्पर्क टुटेपछि परिवारजन उनको अवस्थाबारे खबरको पर्खाइमा छन् । रसुवा नाकामा रहेका बेला परिवारसँग अन्तिमपटक सम्पर्क भएपछि उनको अवस्था अज्ञात रहेको परिवारले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार ललितसँग भाद्र १० गते बिहान करिब ८ः३० बजे रसुवा नाकाबाट अन्तिमपटक फोन सम्पर्क भएको थियो । त्यसपछि परिवारले पटक–पटक सम्पर्क गर्ने प्रयास गरे पनि उनको मोबाइलमा सम्पर्क हुन नसकेको र हालसम्म कुनै जानकारी प्राप्त गर्न नसकेको जनाएको छ ।

अचानक सम्पर्कविहीन भएपछि परिवारमा चिन्ता बढेको छ । उनी कहाँ छन्, कुन अवस्थामा छन् भन्नेबारे कुनै जानकारी नआएपछि परिवारले खोजीका लागि सम्बन्धित निकाय तथा सर्वसाधारणसँग सहयोगको आग्रह गरेको छ ।

परिवारका अनुसार ललितलाई रसुवा तथा आसपासका क्षेत्रमा देख्ने वा उनीसँग भेटघाट भएको जानकारी भएका व्यक्तिले तत्काल परिवार वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गरिएको छ । विशेषगरी रसुवा नाका, आसपासका बस्ती तथा आवतजावत हुने क्षेत्रमा उनलाई देखेमा उनको अवस्थाबारे जानकारी गराइदिन परिवारले अपिल गरेको छ ।

परिवारले ललितको खोजीमा सहयोग पुग्ने कुनै पनि सूचना महत्वपूर्ण हुने भन्दै सम्भावित जानकारी भएका व्यक्तिलाई ढिला नगरी सम्बन्धित सुरक्षा निकायमा जानकारी गराउन आग्रह गरेको छ ।

उहाँलाई देख्नुहुने, फेला पार्नुहुने वा उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त गर्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ । परिवारका अनुसार सामान्यभन्दा लामो समयसम्म सम्पर्कविहीन भएपछि उनको खोजीलाई तीव्र बनाउन सबैको सहयोग आवश्यक भएको छ ।