काठमाडौं । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा भोटेकोसी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएकी ६ वर्षीया बालिकाको करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ ।
बाढीले बगाएर ल्याएको ढुंगा, माटो र काठभित्र पुरिएकी बालिकालाई सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)को टोलीले शुक्रबार साँझ सकुशल उद्धार गरेको हो । बाढीपछि बेपत्ता भएका मानिसको खोजी तथा उद्धारका लागि परिचालित सशस्त्र प्रहरीको टोलीले टिमुरे क्षेत्रमा निरन्तर खोजी गरिरहेको थियो ।
सोही क्रममा सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट (बीओपी) टिमुरेबाट करिब दुई सय मिटरको दूरीमा बाढीले थुपारेको ढुंगा, माटो र काठभित्र बालिका रहेको पत्ता लागेको थियो । त्यसपछि सुरक्षाकर्मीले सावधानीपूर्वक उद्धार गरेर उनलाई बाहिर निकालेका थिए ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार उद्धार गरिएकी बालिकाको नाम मनिषा मगर हो । बालिकाको अवस्थाबारे थप विवरण संकलन तथा आवश्यक जानकारी लिने काम भइरहेको उनले बताए । बाढीले पुरिएको अवस्थामा लामो समयसम्म रहे पनि बालिका जीवितै भेटिनुलाई खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीले महत्वपूर्ण सफलता मानेका छन् ।
घटनास्थलमा ठूलो मात्रामा ढुंगा, माटो, काठ तथा अन्य भग्नावशेष थुप्रिएकाले खोजी तथा उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको थियो । सुरक्षाकर्मीले जोखिम मोलेर भग्नावशेष हटाउँदै बालिकालाई सुरक्षित स्थानमा निकालेका थिए ।
उद्धारपछि बालिकालाई तत्काल सुरक्षित स्थानमा राखेर प्राथमिक उपचार गरिएको थियो । शुक्रबार साँझ उनलाई टिमुरे बीओपीमै सुरक्षित राखिएको सशस्त्र प्रहरीले जनाएको छ । स्वास्थ्य अवस्था परीक्षण तथा थप उपचारका लागि शनिबार उनलाई काठमाडौं ल्याइएको छ । उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । भदौ १० गते बिहान भोटेकोसी नदीमा आएको भीषण बाढीले रसुवाको रसुवागढी, टिमुरे, ल्हेन्दे खोला आसपाससहित तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति गरेको थियो । बाढीका कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ भने ठूलो संख्यामा मानिस सम्पर्कविहीन तथा बेपत्ता भएका छन् ।
बाढीपछि बेपत्ता भएका मानिसको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली विभिन्न क्षेत्रमा परिचालित छन् । सुरक्षाकर्मीले नदी किनार, बाढीले पुरिएका संरचना, भग्नावशेष तथा जोखिमयुक्त क्षेत्रमा खोजी अभियान सञ्चालन गरिरहेका छन् । टिमुरे क्षेत्रमा पनि बाढीले ठूलो मात्रामा ढुंगा, माटो र काठ थुपारेका कारण खोजी कार्य कठिन बनेको छ । यस्तै, नदीको बहाव, भौगोलिक जोखिम र भग्नावशेषका कारण सुरक्षाकर्मीले अत्यन्त सावधानी अपनाएर उद्धार तथा खोजी गरिरहेका छन् ।
यस्तो अवस्थामा करिब ६० घण्टापछि ६ वर्षीया मनिषा मगरलाई जीवितै उद्धार गर्न सफल हुनुलाई बाढीपछिको खोज तथा उद्धार अभियानमा आशा जगाउने घटनाका रूपमा हेरिएको छ । बालिकाको उद्धारले बाढीपछि बेपत्ता भएका अन्य व्यक्तिको खोजीमा समेत आशा थपिएको छ । सुरक्षाकर्मीले अझै पनि टिमुरे तथा आसपासका क्षेत्रमा खोजी अभियानलाई निरन्तरता दिइरहेका छन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।


































