काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा आगामी असोज ८ गते सम्बोधन गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कले नेपाली पक्षको अनुरोधपछि आफ्नो पूर्वनिर्धारित वक्ता तालिका संशोधन गर्दै प्रधानमन्त्री शाहलाई सेप्टेम्बर २४ अर्थात् असोज ८ गते सम्बोधनका लागि समय दिएको हो ।
नेपालबाट प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघमा पठाइएपछि महासभाको वक्ताहरूको सूची पुनरावलोकन गरिएको थियो । संशोधित तालिकाअनुसार असोज ८ गते दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म विभिन्न १८ देशका राष्ट्र तथा सरकार प्रमुखले महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । उक्त सूचीमा नेपालका ‘हेड अफ गभर्मेन्ट’लाई १७औँ वक्ताका रूपमा राखिएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालयले उपलब्ध गराएको सम्बोधनको समय शुक्रबार न्युयोर्कस्थित नेपाली स्थायी नियोग हुँदै परराष्ट्र मन्त्रालयमा आइपुगेको थियो । परराष्ट्र मन्त्रालयले त्यससम्बन्धी जानकारी प्रधानमन्त्रीको सचिवालयमा पठाइसकेको छ । अब प्रधानमन्त्रीको अमेरिका भ्रमण तथा महासभामा सहभागिताको सम्पूर्ण तयारी यही समयलाई आधार बनाएर अघि बढाइने भएको छ ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार न्युयोर्कस्थित नेपाली नियोगबाट सेप्टेम्बर २४ का लागि प्रधानमन्त्रीको सम्बोधन समय निश्चित भएको जानकारी प्राप्त भएपछि त्यसलाई प्रधानमन्त्री कार्यालयमा पठाइएको हो । प्रधानमन्त्रीको भ्रमणको अवधि, न्युयोर्कमा रहने समय तथा अन्य कार्यक्रम पनि अब सोही सम्बोधन तालिकाका आधारमा निर्धारण हुनेछन् । यस वर्ष संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा आयोजना हुँदैछ । हालसम्म सार्वजनिक गरिएको कार्यक्रमअनुसार सेप्टेम्बर २२ देखि २६ र सेप्टेम्बर २८ मा विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकारप्रमुख तथा विदेशमन्त्रीहरूले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । अहिलेसम्म १ सय १८ देशका प्रतिनिधिले उच्चस्तरीय छलफलमा सम्बोधन गर्ने सूचीमा नाम समावेश गरिएको छ ।
नेपालका प्रधानमन्त्री स्वयंले महासभालाई सम्बोधन गर्ने निर्णय यसपटकको भोटेकोसी विपद्सँग पनि जोडिएको छ । गत भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि नेपालले जलवायु परिवर्तन, प्राकृतिक विपद् र त्यसबाट प्रभावित मुलुकले भोग्नुपरेका क्षतिका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्ने आवश्यकता महसुस गरेको हो । सरकारका अधिकारीहरूका अनुसार प्रधानमन्त्री शाहले महासभामा आफ्नो सम्बोधनका क्रममा नेपालले जलवायु परिवर्तनका कारण बढ्दै गएको प्राकृतिक विपद्को सामना गर्नुपरेको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी छ । विशेषगरी हिमाली तथा पर्वतीय क्षेत्रमा तापक्रम वृद्धिका कारण देखिन थालेका जोखिम, हिमताल तथा हिमनदीमा भइरहेको परिवर्तन, अत्यधिक वर्षा, बाढी, पहिरो र त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिका विषय अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरिएको छ ।
भोटेकोसीमा आएको विपद्ले नेपालजस्ता हिमाली तथा जलवायु परिवर्तनको प्रभाव उच्च रूपमा भोगिरहेका मुलुकका लागि अन्तर्राष्ट्रिय जलवायु न्यायको प्रश्नलाई थप गम्भीर बनाएको सरकारको बुझाइ छ । नेपालले जलवायु परिवर्तनमा आफ्नो योगदान न्यून भए पनि त्यसको असर भने असमान रूपमा भोगिरहेको विषय प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायसामु राख्ने तयारी गरिएको छ ।प्रधानमन्त्रीको सम्बोधनमा जलवायु परिवर्तनका कारण हुने क्षतिको क्षतिपूर्ति, जलवायुजन्य विपद्बाट प्रभावित मुलुकका लागि अन्तर्राष्ट्रिय सहयोग र जलवायु न्यायका विषय समेटिने सम्भावना छ । भोटेकोसी बाढीलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपालले सामना गरिरहेको जोखिम र त्यसबाट सिर्जित आर्थिक तथा मानवीय क्षतिबारे विश्व समुदायलाई जानकारी गराउने तयारी रहेको अधिकारीहरू बताउँछन् ।
महासभामा प्रधानमन्त्री शाह स्वयं जाने निर्णय हुनुअघि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने तयारी थियो । मन्त्रिपरिषद्को भदौ ३ गते बसेको बैठकले महासभामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री खनालले गर्ने निर्णय गरेको थियो । तर भदौ १० गते रसुवाको भोटेकोसीमा आएको महाविपत्तिपछि सरकारको प्राथमिकता फेरिएको हो । विपद्पछिको अवस्था, उद्धार तथा राहत व्यवस्थापन र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै भदौ १८ गते प्रधानमन्त्री शाह आफैँ संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर सम्बोधन गर्ने निर्णयमा पुगेका हुन् । प्रधानमन्त्री स्वयंले महासभालाई सम्बोधन गर्ने भएपछि यसपटक परराष्ट्रमन्त्री खनाल प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलको सदस्यका रूपमा न्युयोर्क जानेछन् ।
सरकारले प्रधानमन्त्री शाहको अमेरिका भ्रमणलाई भने सकेसम्म छोटो बनाउने तयारी गरेको छ । देशभित्रै विपद्पछिको उद्धार, राहत तथा पुनःस्थापनाको काम जारी रहेकाले प्रधानमन्त्री लामो समय विदेशमा नरहने गरी भ्रमणको कार्यतालिका बनाउने तयारी भइरहेको अधिकारीहरूको भनाइ छ ।
प्रधानमन्त्रीको भ्रमण छोटो हुने भएकाले न्युयोर्कमा हुने सम्भावित द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताको संख्या पनि सीमित हुने देखिएको छ । प्रधानमन्त्रीको सम्बोधनबाहेक अन्य कार्यक्रम कति राख्ने भन्ने विषय उनको उपलब्ध समय र नेपालमा विपद्पछिको अवस्थालाई हेरेर टुंगो लगाइनेछ । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार नेपाल अहिले विपद्पछिको उद्धार र राहत व्यवस्थापनको महत्वपूर्ण चरणमा रहेकाले प्रधानमन्त्रीको भ्रमण महासभामा सम्बोधन गरेर सकेसम्म छिटो स्वदेश फर्किने गरी व्यवस्थापन हुनसक्छ । प्रधानमन्त्रीको समय निश्चित भएपछि मात्रै अन्य साइडलाइन भेटवार्ता तय गर्ने तयारी छ ।
यस भ्रमणलाई प्रधानमन्त्री शाहको पाँच महिनाको कार्यकालमा हुने पहिलो विदेश भ्रमणका रूपमा पनि हेरिएको छ । प्रधानमन्त्री बनेपछि उनले अहिलेसम्म कुनै मुलुकका राष्ट्रप्रमुख वा सरकारप्रमुखसँग प्रत्यक्ष भेटवार्ता गरेका छैनन् । त्यसैले संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता प्रधानमन्त्री शाहका लागि नेपालको अन्तर्राष्ट्रिय कूटनीतिक सम्पर्क विस्तार गर्ने पहिलो महत्वपूर्ण अवसर बन्नेछ ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले सम्भव भएसम्म विभिन्न मुलुकका सरकार तथा राष्ट्रप्रमुखसँग भेटवार्ता गर्ने सम्भावना भए पनि त्यसको अन्तिम टुंगो लागिसकेको छैन । विशेषगरी नेपालका दुई ठूला छिमेकी भारत र चीन तथा अमेरिकाको नेतृत्वसँग भेटवार्ता गर्ने प्रयास हुनसक्ने कूटनीतिक स्रोतहरूको भनाइ छ । तर यसपटकको महासभामा भारत र चीनका तर्फबाट उच्च राजनीतिक नेतृत्वको सहभागिता नेपालका लागि अपेक्षाकृत सहज नहुन सक्छ । संयुक्त राष्ट्रसंघको हालसम्मको कार्यक्रम सूचीमा भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदीको सट्टा विदेशमन्त्री एस जयशंकरले महासभालाई सम्बोधन गर्ने उल्लेख छ । सेप्टेम्बर २६ मा जयशंकरले भारतका तर्फबाट महासभामा सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यसैगरी चीनका तर्फबाट उपराष्ट्रपति हान चङले सेप्टेम्बर २६ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको सोही समयमा अमेरिकाको औपचारिक भ्रमण तय भए पनि संयुक्त राष्ट्रसंघको महासभामा उनको सहभागिता भने तय भएको छैन । चिनियाँ राष्ट्रपति सी सेप्टेम्बर २३ देखि २५ सम्म अमेरिकाको औपचारिक भ्रमणमा रहने कार्यक्रम छ । सेप्टेम्बर २४ मा वासिङ्टन डीसीस्थित ह्वाइटहाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको भेटवार्ता तय भएको छ । यही कारण न्युयोर्कमा प्रधानमन्त्री शाह र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता हुने सम्भावना न्यून देखिएको छ ।
भारतका प्रधानमन्त्री मोदीको समेत महासभामा सहभागिता अहिलेसम्म निश्चित नभएकाले प्रधानमन्त्री शाह र मोदीबीच न्युयोर्कमा प्रत्यक्ष भेट हुने सम्भावना पनि कम देखिएको छ । यद्यपि कूटनीतिक कार्यक्रमहरू अन्तिम समयमा परिवर्तन हुनसक्ने भएकाले सरकार भने सम्भावित भेटवार्ताका लागि खुला रहनेछ । प्रधानमन्त्री शाहको भ्रमणका क्रममा सबै द्विपक्षीय भेटवार्ताको नेतृत्व भने परराष्ट्रमन्त्री खनालले गर्ने सम्भावना बढी छ । प्रधानमन्त्रीको समय सीमित हुने र देशभित्र विपद्पछिको काममा समेत ध्यान दिनुपर्ने भएकाले लामो भेटवार्ता तथा छुट्टाछुट्टै कार्यक्रमको जिम्मेवारी परराष्ट्रमन्त्री र मन्त्रालयका अधिकारीहरूले सम्हाल्ने तयारी छ ।
परराष्ट्रका अधिकारीहरूका अनुसार प्रधानमन्त्री शाह महासभालाई सम्बोधन गरेर स्वदेश फर्किएपछि अन्य द्विपक्षीय तथा साइडलाइन बैठकहरू परराष्ट्रमन्त्री खनालको नेतृत्वमा अघि बढ्न सक्छन् । यसबाट प्रधानमन्त्रीको न्युयोर्क बसाइ छोटो राख्दै नेपालको कूटनीतिक सम्पर्कलाई भने निरन्तरता दिने सरकारको तयारी देखिन्छ । प्रधानमन्त्री शाहको भ्रमण टोलीसमेत लगभग निश्चित भएको छ । प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार भ्रमण टोलीमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्य रहनेछन् ।
त्यसैगरी परराष्ट्र मन्त्रालयका तर्फबाट परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघ हेर्ने महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल तथा शिष्टाचार महापाल कुमारराज खरेल प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी हुनेछन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग प्रमुख लोकबहादुर थापा पनि प्रतिनिधिमण्डलका सदस्यका रूपमा महासभामा सहभागी हुनेछन् । नेपालका लागि यसपटकको महासभा केवल नियमित कूटनीतिक सहभागिताको अवसर मात्र नभई भोटेकोसी विपद् र जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । सरकारले प्रधानमन्त्रीको सम्बोधनलाई यही सन्दर्भमा केन्द्रित गर्ने तयारी गरेको छ ।
नेपालले विगतदेखि नै जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै आएको छ । हिमनदी पग्लने क्रम, हिमताल विस्फोटको जोखिम, असामान्य वर्षा, बाढी र पहिरोजस्ता घटनामा वृद्धि भइरहेको भन्दै नेपालले जलवायुजन्य क्षतिको सामना गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउँदै आएको छ । भोटेकोसीको पछिल्लो विपद्ले भने यो बहसलाई अझै प्रत्यक्ष र मानवीय बनाएको छ । ठूलो जनधनको क्षति, पूर्वाधारमा परेको असर तथा उद्धार र पुनःस्थापनामा आवश्यक पर्ने ठूलो स्रोतका कारण नेपालले अन्तर्राष्ट्रिय सहयोग र जलवायु न्यायको विषयलाई उच्च प्राथमिकताका साथ उठाउन खोजेको हो ।
प्रधानमन्त्री शाहले महासभामा नेपालले जलवायु परिवर्तनमा नगण्य योगदान गरे पनि त्यसको असर प्रत्यक्ष रूपमा भोगिरहेको विषय राख्ने तयारी छ । विकसित मुलुकहरूको औद्योगिक गतिविधि र कार्बन उत्सर्जनका कारण उत्पन्न जलवायु संकटको भार हिमाली तथा विकासोन्मुख मुलुकले बढी वहन गर्नुपरेको नेपालको धारणा अन्तर्राष्ट्रिय मञ्चमा दोहोरिनेछ । त्यसैगरी विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोग, जलवायु वित्तमा पहुँच र जोखिममा रहेका मुलुकका लागि प्रभावकारी संयन्त्र निर्माणको विषय पनि प्रधानमन्त्रीको सम्बोधनमा उठ्न सक्नेछ ।
प्रधानमन्त्री शाहका लागि महासभाको सम्बोधन अन्तर्राष्ट्रिय समुदायसामु आफ्नो सरकारको प्राथमिकता प्रस्तुत गर्ने अवसर पनि हुनेछ । प्रधानमन्त्री बनेयता पहिलो विदेश भ्रमणमै संयुक्त राष्ट्रसंघजस्तो विश्वव्यापी मञ्चमा सम्बोधन गर्ने अवसर प्राप्त भएकाले उनको सम्बोधनलाई विशेष चासोका साथ हेरिएको छ । तर प्रधानमन्त्रीको भ्रमणको प्राथमिकता भने कूटनीतिक कार्यक्रमभन्दा देशभित्रको विपद् व्यवस्थापनमै केन्द्रित रहने संकेत सरकारले गरेको छ । भोटेकोसी विपद्पछि उद्धार, राहत, बेपत्ता व्यक्तिको खोजी तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण चुनौतीपूर्ण बनेको अवस्थामा प्रधानमन्त्री लामो समय विदेशमा बस्ने पक्षमा नरहेको सरकारी अधिकारीहरूको भनाइ छ ।
त्यसैले न्युयोर्कमा प्रधानमन्त्रीको कार्यक्रमलाई महासभा सम्बोधन र आवश्यक उच्चस्तरीय भेटवार्तामा सीमित गर्ने तयारी छ । महासभाको औपचारिक कार्यक्रममा सहभागी भइसकेपछि प्रधानमन्त्री शाह नेपाल फर्कने र बाँकी कूटनीतिक भेटवार्ताको जिम्मेवारी परराष्ट्रमन्त्री तथा मन्त्रालयका अधिकारीहरूले सम्हाल्ने सम्भावना बलियो छ । महासभामा नेपालका तर्फबाट प्रस्तुत हुने विषयले भने आगामी दिनमा नेपालको जलवायु कूटनीतिलाई समेत प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ । भोटेकोसीजस्ता विपद्लाई जलवायु परिवर्तनसँग जोडेर अन्तर्राष्ट्रिय समुदायसामु क्षति, जोखिम र न्यायको प्रश्न उठाउन सके नेपालले आफ्नो जलवायु कूटनीतिक एजेन्डालाई थप बलियो बनाउन सक्ने अधिकारीहरूको बुझाइ छ ।
यसरी प्रधानमन्त्री शाहको आगामी न्युयोर्क भ्रमण एकातिर उनको पहिलो विदेश भ्रमण र अन्तर्राष्ट्रिय मञ्चमा पहिलो उच्चस्तरीय प्रस्तुति बन्नेछ भने अर्कोतर्फ भोटेकोसी विपद्पछि नेपालले अन्तर्राष्ट्रिय समुदायसामु आफ्ना समस्या र अपेक्षा राख्ने महत्वपूर्ण अवसरसमेत बन्नेछ । संयुक्त राष्ट्रसंघको संशोधित कार्यक्रमअनुसार प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गरेपछि उनको अमेरिका भ्रमणको औपचारिक कार्यक्रम क्रमशः अघि बढ्नेछ । प्रधानमन्त्रीको सम्बोधनको विषयवस्तु, भेटवार्ता र स्वदेश फर्किने मिति भने आगामी दिनमा थप स्पष्ट हुने सरकारी अधिकारीहरूले बताएका छन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।





































