काठमाडौं । भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएकी चण्डिका श्रेष्ठलाई आठ दिनपछि जीवितै उद्धार गरिएको छ ।
बाढीमा बेपत्ता भएपछि परिवारले उनको खोजी गर्दा पनि कुनै संकेत फेला नपरेपछि कुशको शव बनाएर दाहसंस्कारसमेत गरिसकेको थियो । तर, परिवारले मृत्यु भइसकेको ठानेर काजकिरिया सुरु गरेको तीन दिन नबित्दै चण्डिका जीवितै भेटिएपछि अहिले परिवारमा खुसी छाएको छ । शनिबार बिहान बेत्रावती क्षेत्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले चण्डिकालाई जीवितै उद्धार गरेको हो । उद्धारपछि उनलाई उपचारका लागि नेपाली सेनाको अस्पताल छाउनीमा लगिएको छ । अस्पतालमा उनको उपचार सुरु भइसकेको छ ।
चण्डिकाका आफन्तका अनुसार बाढी आएको दिनदेखि नै उनको खोजी सुरु गरिएको थियो । परिवारका सदस्य र आफन्तले सम्भावित स्थानमा लगातार खोजी गरे पनि आठ दिनसम्म उनको कुनै अत्तोपत्तो लागेन । लामो समयसम्म खोज्दा पनि कुनै संकेत नपाएपछि परिवारले अब चण्डिका जीवित नरहेको निष्कर्ष निकाल्दै हिन्दू संस्कारअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरेको थियो । चण्डिकाका सम्धी रमेशमान श्रेष्ठले छाउनी अस्पताल अगाडि कुराकानी गर्दै आठ दिनसम्म खोज्दा पनि नभेटिएपछि परिवारको सल्लाहमा कुशको शव बनाएर गुहेश्वरीमा दाहसंस्कार गरिएको बताए ।
“आठौं दिनसम्म पनि नपाएपछि काजकिरिया सुरु गरिएको थियो,” श्रेष्ठले भने, “धेरै दिन खोजियो, अब पाइँदैन भनेर फर्किनुभयो । घरका मान्छे बसेर सल्लाह गरेपछि कुशको शव बनाएर गुहेश्वरीमा दाहसंस्कार गरियो । त्यसपछि काजकिरिया सुरु गरिएको थियो ।” श्रेष्ठका अनुसार चण्डिकाका छोराबुहारीसमेत काजकिरियामा बसेका थिए । सानो भर्याङस्थित घरमा उनको काजकिरिया चलिरहेको थियो । परिवार शोकमा डुबेको अवस्थामा शनिबार अचानक चण्डिका जीवितै भेटिएको खबर आएपछि उनीहरूका लागि यो विश्वास गर्नै कठिन हुने घटना बनेको छ ।
आफन्तका अनुसार चण्डिका जीवितै भेटिनु परिवारका लागि ठूलो राहत र खुसीको विषय बनेको छ । बाढीपछि लामो समयसम्म बेपत्ता भएका व्यक्तिहरूको खोजी भइरहेको अवस्थामा चण्डिकाको जीवितै उद्धारले परिवार र आफन्तमा आशा पनि जगाएको छ । अहिले चण्डिकाको स्वास्थ्य अवस्था चिकित्सकको निगरानीमा रहेको छ । बाढीमा परेर आठ दिनसम्म बेपत्ता भएपछि जीवितै उद्धार भएकी चण्डिकाको घटनाले विपद्का बेला अन्तिम निष्कर्षमा पुग्नुअघि खोजी र उद्धारलाई निरन्तरता दिनुपर्ने सन्देशसमेत दिएको छ । प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































