इरानी मिसाइल र ड्रोनहरू ३ सेप्टेम्बरमा कुवेतमा खसे, जबकी त्यसको २ दिनअघि अमेरिकी विमानहरूले होर्मुज तट र पश्चिमी इरानका करिब १०० स्थानहरूमा हमला गरेका थिए, जसअन्तर्गत सिरिकको एक विवाह समारोहमा भएको हमलामा ५ जनाको मृत्यु भएको थियो ।
त्यसयता मुठभेड जारी छ, जहाँ अमेरिकी सेनाले इरानी तेल ट्यांकरहरूमा प्रहार गरिरहेको छ भने इरानले होर्मुज र वरपरका क्षेत्रमा जहाजहरूलाई निशाना बनाइरहेको छ । ब्रेन्ट क्रुड आयल प्रतिब्यारेल करिब ९७ डलरमा कारोबार भइरहेको छ । १२ सेप्टेम्बरमा इरानी राष्ट्रपति मसौद पेजेस्कियान ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्ली ओर्लिँदैछन् । त्यसैगरी चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका साथै ब्रिक्सका ११ मध्ये कम्तीमा ८ देशका राष्ट्र तथा सरकार प्रमुखहरू पनि त्यहाँ पुग्दैछन् । ६ महिनादेखि इरानी हमलाको सामना गरिरहेको संयुक्त अरब इमिरेट्स (यूएई) पनि सोही हलमा उपस्थित हुनेछ ।
पश्चिमा विश्लेषकहरूले ब्रिक्स शिखर सम्मेलनलाई केवल एउटा ‘फोटो खिचाउने अवसर’को रूपमा टिप्पणी गरिसकेका छन्, जहाँ धेरै विविधता भएको समूह कुनै पनि कुरामा सहमत हुन सक्दैन भन्ने उनीहरूको तर्क छ । तर यस्तो विश्लेषणले विगत ६ महिनाको एउटा तीतो सत्यलाई बेवास्ता गर्छ । इरान युद्धमा अहिलेसम्म भएका हरेक युद्धविराम ब्रिक्सका सदस्य र उनीहरूका साझेदारहरूले नै तयार पारेका हुन् । वासिङ्टनमा एउटा पनि युद्धविराम बनेको छैन ।
यस घटनाक्रमको शृंखलालाई हेरौँ । ३१ मार्चमा बेइजिङ र इस्लामाबादले तत्काल युद्धविराम र होर्मुज पुनः खोल्न आह्वान गर्दै ५ बुँदे पहल जारी गरे । १ हप्तापछि इरान २ हप्ताको युद्धविरामका लागि सहमत भयो । त्यसपछि ११ अप्रिलमा इस्लामाबादमा प्रत्यक्ष अमेरिकी र इरानी प्रतिनिधिमण्डलहरू छलफलमा बसे, जुन युद्धको सबैभन्दा उच्चस्तरीय सम्पर्क थियो । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले चलाएको वार्तामा उनका सेना प्रमुख असिम मुनिर २ पटक तेहरान पुगेका थिए । त्यसको नतिजा स्वरूप ‘इस्लामाबाद सम्झौतापत्र’ तयार भयो, जसलाई १७ जुनमा भर्साइलमा ट्रम्पले र तेहरानमा पेजेस्कियानले हस्ताक्षर गरे, जसमा कतार, ओमान, टर्की, साउदी अरेबिया र इजिप्टले विभिन्न भूमिका निर्वाह गरेका थिए ।
चौध बुँदा । ६०० दिनको महसुलमुक्त आवतजावत । ३० दिनभित्र साउदी/नौसैनिक नाकाबन्दी हटाउने प्रतिबद्धता । पुनरुत्थान र आर्थिक विकासका लागि कम्तीमा ३०० अर्ब डलरको योजना । दुवै पक्षले धारा १ र ५ लाई फरक–फरक तरिकाले व्याख्या गरेपछि र कुनै पनि मध्यस्थकर्ताले साझा पाठ लागू गराउन नसकेपछि १७ अगस्टमा सम्झौता समाप्त भयो । त्यो दस्तावेज असफल भयो । तर त्यसलाई निर्माण गर्ने संयन्त्र भने असफल भएको छैन । यो युद्धले सिर्जना गरेको यो नै एक मात्र संयन्त्र हो र यसका धेरैजसो पात्रहरू १२ सेप्टेम्बरमा दिल्लीको एउटै भवनभित्र हुनेछन् ।
त्यस इतिहासमा चीनको भूमिकालाई सामान्य रूपमा लिएर बेवास्ता गर्न मिल्दैन । बेइजिङले इरानको निर्यातित काँचो तेलको ८० प्रतिशतभन्दा बढी खरिद गर्छ । उसले इरानले आक्रमण गरिरहेका खाडी मुलुकहरूबाट पनि ठूलो मात्रामा तेल खरिद गर्छ, र मार्चमा उसको खाडी आयात गत वर्षको तुलनामा २५ प्रतिशतले घटेको थियो । यस युद्धका दुवै पक्षबाट घाटा व्यहोरिरहेको अन्य कुनै पनि ठूलो शक्ति छैन । यही कारणले गर्दा उसले अघि सारेका प्रस्तावहरू तेहरानमा बुझ्न सकिने र अबु धाबीमा स्वीकार्य हुन सकेका हुन्।
यसको अर्थ बेइजिङ पूर्ण रूपमा निष्कलंक छ भन्ने होइन ।
चिनियाँ कम्पनीहरूले इरानलाई दोहोरो उपयोगका कम्पोनेन्टहरू, राडार र नेभिगेसन उपकरणहरू र एक व्यापारिक टोही उपग्रह आपूर्ति गरेका छन्; वासिङ्टन भन्छ कि यो सूची अझ लामो छ र बेइजिङले ती गम्भीर वस्तुहरूको आपूर्तिलाई अस्वीकार गर्छ । चीनले इरानी मिसाइलबाट मारिएका कुवेती र बहराइनी नागरिकहरू तथा घाइते भएका कतारी नागरिकहरूका बारेमा पनि लगभग केही बोलेको छैन, जुन खाडीमा उसको प्रतिष्ठाका लागि ठूलो मूल्य हो र खाडी देशहरूले यसलाई ध्यान दिएका छन् । तर्क चीनले राम्रो व्यवहार गर्यो भन्ने होइन । तर्क के हो भने दुवै पक्षमा व्यापारिक हित जोडिएको र सत्ता परिवर्तनमा कुनै चासो नभएको मध्यस्थकर्ता केही पनि गर्न नसक्ने मध्यस्थकर्ताभन्दा बढी उपयोगी हुन्छ । हस्ताक्षर गरिएको युद्धविराम ल्याउने अवसरवादले केही पनि दिन नसक्ने निष्ठालाई पछाडि पारिदिन्छ र वासिङ्टनले अब स्वेच्छाले केही पनि दिन सकिरहेको छैन ।
संयुक्त राज्य अमेरिकाले आफ्ना लगभग ८० प्रतिशत थाड इन्टरसेप्टरहरू र लगभग सबै एट्याकम्स र प्रिसिजन स्ट्राइक मिसाइलहरू सिध्याइसकेको छ र ट्रम्प भन्छन् कि उनी कुनै पनि सम्झौताभन्दा हर्मुजमा लगभग पूर्ण नियन्त्रण मन पराउँछन् । ६ महिनापछि कुनै अन्तिमविन्दु बिनाको क्षयीकरण हो र यसलाई झेलिरहेका देशहरू अमेरिकी होइनन् । युद्धको पहिलो दिनदेखि नै कुवेतले आफ्नो विमानस्थल, रिफाइनरी र आफ्ना बेसहरूमा आक्रमण झेलिरहेको छ । ओमानले मध्यमार्गी समुद्री मार्गहरू तयार गर्यो । कतार आफैँ प्रहारमा परेपछि पनि च्यानल खुला राख्यो । यी चिनियाँ वा रुसी तर्कको वरिपरि मिलाइने दर्शक मात्र होइनन् र ती देशहरूलाई त्यसरी व्यवहार गर्ने कुनै पनि दिल्लीको पाठ मे महिनाको सम्झौता जस्तै समाप्त हुनेछ ।
शिखर सम्मेलनको आर्थिक पाटो अन्य माध्यमबाट लडिएको उही युद्ध हो । इरानमा मुद्रास्फीति करिब ७० प्रतिशत छ र आईएमएफले यस वर्ष ५ प्रतिशतभन्दा बढीको संकुचनको अपेक्षा गरेको छ । केही क्षति बमहरूले गरे । डलर भुक्तानी पूर्वाधारबाट अलग गरिनुले अझ बढी क्षति पुर्यायो, जसरी यसअघि रुस, भेनेजुएला र अफगानिस्तानलाई गरिएको थियो । त्यो बहिष्कारको अहिले सार्वजनिक रूपमा पुनर्मूल्यांकन भइरहेको छ । चीनको सीमापार भुक्तानी प्रणाली (सीआईपीएस) ले एकै दिनमा १.२२ ट्रिलियन युआन (करिब १७८.५ अर्ब डलर) को रेकर्ड दर्ता गर्यो र मार्चको औसत दैनिक कारोबार फेब्रुअरीको तुलनामा ५० प्रतिशत बढी थियो । ग्रेटर चीनका लागि स्ट्यान्डर्ड चार्टर्डका मुख्य अर्थशास्त्रीले मुख्यतया तेल भुक्तानीका माध्यमबाट यो युद्धलाई सम्भावित उत्प्रेरकको रूपमा व्याख्या गरे ।
अध्यक्षको रूपमा भारतले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) मा काम गर्नुका साथै यूपीआई र पिक्स लगायत सदस्यहरूको द्रूत–भुक्तानी प्रणालीहरूबिच सम्बन्ध बढाउन जोड दिइरहेको छ । भारतको केन्द्रीय बैंक सञ्चालन गर्ने सञ्जय मल्होत्राले यसलाई टकरावभन्दा पनि लागत कटौतीको रूपमा वर्णन गर्छन्, जुन सटीक र चतुर दुवै छ । परिमाणका बारेमा स्पष्ट होऔँ । स्विफ्टमार्फत हुने विश्वव्यापी भुक्तानीमा युआनको हिस्सा अझै पनि ३ प्रतिशतभन्दा कम छ, जबकि डलरको हिस्सा ५१ प्रतिशत छ, र स्विफ्टको ११ हजार सहभागी संस्थाहरूको तुलनामा सीआईपीएसका १ हजार ७९१ सहभागी संस्थाहरू मात्र छन् । यो दशकमा कसैले कसैलाई विस्थापित गर्दैन । के परिवर्तन भएको छ भने मागको चक्र परिवर्तन भएको छ ।
जाकार्तादेखि प्रिटोरियासम्मका सरकारहरूले प्रत्यक्ष परमाणु वार्ता भइरहेकै बेला एउटा देशमाथि बमबारी भएको र इच्छुक क्रेताहरूलाई तेल बेच्न सक्ने माध्यमबाटै अलग गरिएको देखेका छन् । उनीहरू वैकल्पिक व्यवस्था आकर्षक छ कि छैन भन्नेमा बहस गरिरहेका छैनन् । उनीहरू यसको मूल्य निर्धारण गरिरहेका छन् । भारतको आफ्नै वर्षले यो कुरा स्पष्ट पार्छ । फेब्रुअरीमा ५० प्रतिशत ट्यारिफ पर्खालको सामना गर्दै, नयाँ दिल्ली रुसी काँचो तेल खरिद रोक्न सहमत भयो र वासिङ्टनले दर १८ प्रतिशतमा झारिदियो । द्विपक्षीय दबाबले काम गर्यो, जसरी यसले एक पटकमा एउटा देश विरुद्ध सधैँ काम गर्छ । साझा पूर्वाधार नै त्यो गणितको एक मात्र जवाफ हो र लचिलोपन निर्माण गर्ने नाराअन्तर्गत अध्यक्षता गरिरहेका नरेन्द्र मोदीले देखाउन आवश्यक छ कि यो ब्लकले यस्तो केही दिन्छ जुन ट्यारिफले खोस्न सक्दैन ।
जब मे महिनामा परराष्ट्रमन्त्रीहरू भेटेका थिए, उनीहरू कुनै संयुक्त विज्ञप्ति बिना नै छुट्टिए, किनभने अब्बास अराघची ब्लकले अमेरिकी र इजरायली आक्रामकताको नाम तोकेर भत्र्सना गरोस् भन्ने चाहन्थे र इमिरेट्सले त्यसमा हस्ताक्षर गर्दैनथ्यो । १ सेप्टेम्बरमा बिस्केकमा भएको शांघाई सहयोग संगठन (एससीओ) लाई भने यस्तो कुनै समस्या भएन, जहाँ इरानमाथिको आक्रमणको निन्दा गर्ने घोषणापत्र सर्वसम्मतिले पारित भयो । बिस्केक सजिलो थियो किनभने त्यहाँ कोठामा कोही पनि अर्को पक्षमा थिएनन् । दिल्ली गाह्रो छ किनभने यो केही मूल्यवान छ ।
त्यसैले मापदण्डलाई उपयुक्त ठाउँमा राखौँ । इरानले यूएई र ओमानसँगै हस्ताक्षर गरेको जलयातायात सम्बन्धी समझदारीले लारार्क टापुमा अर्को महिना हुने आक्रमणभन्दा युद्ध–जोखिम प्रिमियमका लागि बढी काम गर्नेछ । मृत सम्झनापत्रबाट झिकेर क्रयशक्ति समताका आधारमा विश्वव्यापी उत्पादनको ४० प्रतिशत प्रतिनिधित्व गर्ने समूहले बोकेको पुनरुत्थानको रकमलाई मस्को एक्लैको प्रस्तावभन्दा अस्वीकार गर्न गाह्रो हुन्छ । भुक्तानी लिंकेजमा मिति तोकिएको समयतालिकाले ग्लोबल साउथलाई विकल्प छलफलमा मात्र नभई निर्माणको क्रममा छ भन्ने सन्देश दिनेछ । वासिङ्टनले आफ्ना शर्तहरू राखेको छ : हर्मुज आफ्नै शर्तहरूमा अनिश्चितकालका लागि । दिल्ली त्यो ठाउँ हो, जहाँ बाँकी सबैले जवाफ दिने पालो पाउँछन् । (अलजजिराबाट भावानुवाद)





































