काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटन गरिदिन आग्रह गरेका छन् ।
ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बिहीबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सपभाति थापाले देउवालाई पूर्वसभापतिका रुपमा महाधिवेशन उद्घाटन गरिदिन आग्रह गरेका हुन् । ‘मेरो आदरणीय नेता पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु, कतिपय साथीहरूले भन्नुभएको छ । अधिवेशनको दिनमा पार्टी पूर्वसभापतिले अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ,’ थापाले भने ।
उनले अब सभापति बन्ने बाटोमा नलाग्न देउवालाई सचेत गराए । कांग्रेसले विधानले पनि त्यो बाटो बन्द गरेको उनको भनाइ थियो । थापाले भने, ‘पार्टीको विधानले पनि त्यही भन्छ । उहाँ अब पार्टीको सभापति बन्ने होइन ।’ असोज १६ गते खुलामञ्चमा महाधिवेशन उद्घाटन गरिने उनले बताए । त्यसअघि असोज ३ र ४ गते वडा अधिवेशन हुने उनले बताए । त्यसबीचमा स्थानीय तहको अधिवेशन गरिने बताउँदै जिल्ला र प्रदेश अधिवेशन पछि गरिने बताए । त्यसका लागि थप छलफल गरिने उनको भनाइ थियो । ‘पार्टीका साथीहरूसँग थप छलफल गर्ने वातावरण बन्छ भन्ने पनि हो,’ थापाले भने, ‘सकेसम्म पार्टीको एकताका लागि हामी उभिनुपर्छ ।’ केन्द्रीय कार्यसमिति बैठकमा देउवा पक्षका केही नेता पनि सहभागी भएका छन् । कांग्रेसको वडा अधिवेशन असोज ३ गते प्रारम्भ हुँदै छ ।
देउवा पक्षका अधिकांश नेता गगनलाई सभापति स्वीकार्दै आगामी महाधिवेशनमा होमिन तयार भएपछि देउवा अहिले एक्लिन थालेका छन् । त्यसैले पनि देउवा अब के गर्छन् भन्ने चासो छ ।१५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीच शक्ति संघर्ष चर्किरहेका बेला असन्तुष्ट पक्षका ३५ भन्दा बढी नेता बिहीबार सानेपा फर्किएका छन् । केही महिनादेखि पार्टी केन्द्रीय कार्यालयबाट दूरी बनाउँदै आएका नेताहरू एकपछि अर्को गर्दै सानेपा पुगेपछि कांग्रेसभित्रको शक्ति समीकरणमा नयाँ बहस सुरु भएको हो । तर, नेताहरूको यो फिर्तीले देउवा पक्षको अडान बदल्छ वा पूर्वसभापति देउवा आफ्नै रणनीतिमा अघि बढ्छन् भन्ने प्रश्न उठेको छ ।
संस्थापन पक्षसँग असन्तुष्टि जनाउँदै चुनदेवीमा सम्पर्क कार्यालय स्थापनादेखि पूर्वसभापति देउवाको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगेका नेताहरू नै बिहीबार केन्द्रीय कार्यालयको बैठकमा सहभागी भए । चुनदेवीमा असन्तुष्ट पक्षको सम्पर्क कार्यालय स्थापना गर्न मुख्य भूमिका खेलेका देउवानिकट मानिने नेता मीन विश्वकर्मादेखि ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेताहरू सानेपा पुगे । सभापति गगनकुमार थापा विशेष महाधिवेशनको पक्षमा उभिइरहेका बेला देउवाको पक्षमा खुलेर उभिएका नेताहरूमध्ये करिब आधा नेता संस्थापन पक्षको बैठकमा सहभागी भएका हुन् ।
यसले कांग्रेसभित्र लामो समयदेखि देखिएको दुई धारबीच संवादको सम्भावना बढेको संकेत गरे पनि देउवा पक्षको राजनीतिक अडान भने तत्काल फेरिएको देखिँदैन । पूर्वसभापति देउवा एउटा वडा मात्रै बाँकी रहे पनि अधिवेशन प्रक्रिया अघि बढाउने पक्षमा रहेको उनीनिकट एक नेताले बताए । “उहाँले महाधिवेशनको मिति घोषणा गरिसक्नुभएको छ,” ती नेताले भने, “अब बाँकी रहेका नेताहरू पनि सानेपा गए भने पनि एक्लै भए पनि महाधिवेशन गर्नुहुन्छ उहाँले ।” सानेपा फर्किएका नेताहरूप्रति भने ती नेताले असन्तुष्टि जनाए । उनीहरू राजनीतिक अवसरको खोजीमा संस्थापन पक्षतिर गएको उनको आरोप छ ।
“सानेपा दौडिएका नेताहरू केही भइहाल्छ कि भनेर लोभले यता बसेका थिए । अब केही नहुने जस्तो देखेपछि अवसर छोप्न दौडिएका हुन्,” उनले भने । देउवानिकट अर्का नेता दीपक कुइँकेलले भने कांग्रेसभित्र सहमतिको समय घर्किँदै गएको प्रतिक्रिया दिए । संस्थापन पक्षले घोषणा गरेको वडा अधिवेशन स्थगित गरेर पूर्वसभापति देउवासँग संवाद गरे मात्रै राजनीतिक सहमतिको बाटो खुल्ने उनको भनाइ छ । “अब एउटै मात्र उपाय छ, त्यो के हो भने संस्थापन पक्षले घोषणा गरेको वडा अधिवेशन स्थगित गरेर पूर्वसभापतिसँग संवाद भयो भने राजनीतिक विषयमा कुराहरू अगाडि बढ्ला,” कुइँकेलले भने ।
उनका अनुसार, वडा अधिवेशन सम्पन्न भएपछि सहमतिको सम्भावना थप जटिल बन्न सक्छ । “वडाको अधिवेशन गरिसकेपछि सहमति जुट्छ जस्तो मलाई लाग्दैन,” उनले भने । व्यक्तिगत रूपमा केही नेता सानेपा फर्किंदैमा देउवा पक्षको राजनीतिक अडानमा असर नपर्ने उनको दाबी छ । “संस्थागत रूपमा सभापति मुख्य हो । सभापतिको कुरा नटुंगिएसम्म अरू केही कुरा हुँदैन,” कुइँकेलले भने, “१४औँ महाधिवेशनको सभापति शेरबहादुर दाइ हो । त्यसकारण उहाँ आफैँ बसेर नटुंगिएसम्म अरू कुरा केही टुंगिँदैन ।” यसैबीच देउवानिकट नेता दीपक खड्काले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीको चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गरेका छन् । सर्वोच्च अदालतको न्यायप्रति पूर्ण विश्वास रहेको भन्दै उनले उचित न्याय पाउनेमा आफू आशावादी रहेको बताएका छन् ।
खड्काले असोज १५ गतेदेखि हुने वडा अधिवेशन, असोज २० गते हुने नगर अधिवेशन, असोज २३ गते हुने प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशन, कात्तिक १५ गते हुने जिल्ला अधिवेशन र मंसिर ४ गते हुने प्रदेश कार्यसमिति अधिवेशनमा सक्रिय सहभागिता जनाउन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । देउवा पक्षले १५औँ महाधिवेशनको कार्यक्रम अगाडि बढाइसकेको छ । असन्तुष्ट पक्षका नेताहरूको सानेपा फिर्तीले कांग्रेसभित्र संवाद र सहमतिको सम्भावनालाई पुनः बहसमा ल्याए पनि महाधिवेशनको कार्यतालिका, नेतृत्व र संस्थागत विवाद भने पेचिलो छ ।अब सानेपा फर्किएका नेताहरूको भूमिकासँगै पूर्वसभापति देउवाले लिने राजनीतिक रणनीतितर्फ कांग्रेसभित्रको ध्यान केन्द्रित भएको छ ।
‘दुई महाधिवेशन भए कांग्रेससँगै एमाले र नेकपा पनि टुक्रिन्छ’
काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी विभाजन रोक्न दुई वटा महाधिवेशन तत्काल रोकिनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत खड्काले सभापति गगनकुमार थापा र पार्टीको संस्थापन इतर समूहलाई छुट्टाछुट्टै महाधिवेशन भए पार्टी विभाजन हुने बताएका हुन् । ’दुई वटा अलगअलग अधिवेशन रोकिएन भने कांग्रेस पार्टीको विभाजन कसैले रोक्न सक्ने छैन । मेरो अन्तरमनले भन्छ– कांग्रेस पार्टीको विभाजनको केही महिनाभित्र नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत विशेषगरी संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका रहेका दलहरू विभाजन हुनेछन्, गरिनेछन्’ उनले भनेका छन् ।उनले सभापति गगनकुमार थापालाई आग्रह गर्दै आत्म समीक्षा गर्न भनेका छन् ।
’तपाईं आज जुन निर्णयमा पुग्नु भयो त्यो निर्णय वैशाख २१ को हामीबीच भएको संवादपछि त्यहि महिनामा निर्णय गर्नु भएको भए, जेठको पहिलो साताभित्र सिंगो कांग्रेस तपाईंको नेतृत्वमा सानेपा पार्टी केन्द्रीय कार्यालयमा सम्पूर्ण एकताबद्ध भएर जुरुक्क उभिन्थ्यो । देशभरि मात्र होइन संसारभरि रहनु भएका नेपाली काँग्रेसका नेता, सदस्य शुभचिन्तक सबैमा कति ठूलो उत्साहा, हौसला र पार्टी निर्माणका लागि कति ठूलो ऊर्जा सृजना हुन्थ्यो होला,’ उनले भनेका छन्, ’गम्भीर रुपमा आत्मसमिक्षा गर्दै एकपटक पुनः घोत्लिनुस । समय बलवान हुन्छ, पुनः कठोर संकल्प गर्नुस् ।’
उनले असोज ३ गतेदेखि सुरु हुने गरी घोषणा गरेको १५औं महाधिवेशनको कार्यतालिका स्थगन गरी केही समयका लागि सार्न पनि सभापति थापालाई आग्रह गरेका छन् । त्यस्तै उनले निवर्तमान सभापति शेरबहादुर देउवा र अग्रज नेताहरूसँग वार्ता तत्काल सुरु गरी एकता बचाउन पनि भनेका छन् । यति नभई अधिवेशन हुने अवस्था भए पार्टी विभाजन रोक्न कसैले नसक्ने खड्काको ठम्याइ छ । आफ्नो अन्तरमनले भनिरहेको भन्दै उनले लेखेका छन्, ’देशमा जातीय, क्षेत्रीय र धार्मिक द्धन्दको अकल्पनीय रणसंग्राम मच्चिने छ, मच्चाइने छ र हाम्रो प्यारो देश भदौ २४ लाई पनि बिर्साउने गरी भिषण रणसंग्रामको दुश्चक्रमा परिणत हुने प्रबल–प्रबल सम्भावनातिर उन्मुख देखिन्छ । त्यसपछि हाम्रो देशको राष्ट्रियता, भौगोलिक अखन्डता, सार्वभौमसत्ता अनि स्वाभिमानको के होला ?’
उनले गगनलाई तत्काल साहसिक कदम चाल्न पनि आग्रह गरेका छन् ।’गगनजी म विश्वासका साथ भन्छु कानुन, अदालको निर्णय, पार्टी विधान कुनै कुराले तपाईंलाई कुनै समस्या र अप्ठ्यारो पर्ने छैन– पर्दैन ढुक्क हुनुस! तपाईंले व्यहोरेका सल्लहा, सुझाव र विगतका घटनाक्रम लाई गहिरो शिक्षाका रुपमा निर्ममसमीक्षा गर्दै तत्काल निर्णायक र साहासिक कदम चाल्नुस् । सम्पूर्ण एकताको सिंगो कांग्रेस सभापति बन्नुस्,’ उनले भनेका छन्, ’यो पूण्य कर्ममा म कुनै पनि महत्वकांक्षाबाट मुक्त भएर जस्तो सुकै त्याग गर्न तयार छु । इमानको सहयोग गर्न तयार छु ।’
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































