लमजुङ । पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक ३ दिनपछि सञ्चालनमा आएको छ ।
यस सडक अन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रेमा गएको पहिरो नेपाली सेनाले बम विस्फोट गराएर ढुङ्गा तथा पहिरो हटाएसँगै आज बिहानदेखि सडक सञ्चालनमा आएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिए । उनका अनुसार खोत्रेमा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेका थिए । तीमध्ये एउटा ढुङ्गा निकै ठूलो थियो । सडक अवरुद्ध भएपछि उक्त ढुङ्गा हटाउन बिहीबार पनि बम विस्फोट गराइएको थियो । पहिलो पटकको विस्फोटबाट ढुङ्गा पूर्णरूपमा नफुटेपछि आज पुनः विस्फोट गराई ढुङ्गा फुटाएर पहिरो पन्छाइएको उनले बताए ।
सडक खुलेसँगै साना सवारीसाधन सञ्चालनमा आएका छन् । सडक सञ्चालनमा आएपछि मनाङतर्फ आवतजावत गर्ने यात्रुलाई सहज भएको छ । ठूला सवारीसाधन सञ्चालनमा ल्याउन भने अझै केही समय लाग्ने सूचना अधिकारी विष्टले बताए । करिब ६५ किलोमिटर लामो बेँसीसहर–चामे सडक मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य मार्ग हो । मनाङवासीको आवतजावतसँगै दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्रीको ढुवानी र पर्यटकीय आवागमनका लागि यो सडक महत्वपूर्ण मानिन्छ ।



































